[अर्काइभ] शीतल निवासलाई हिल्टन होटल बनाउने त्यो प्रस्ताव !

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

[Archive] The proposal to make Sheetal Niwas a Hilton hotel!

काठमाडौँ — तत्कालीन राजा त्रिभुवनका बहिनी–ज्वाइँ तथा श्री ३ चन्द्रशमशेरका छोरा कृष्णशमशेरले १९९० को भूकम्पपछि बेलायती डिजाइनमा शीतल निवास (हालको राष्ट्रपति कार्यालय) बनाएका थिए । शीतल निवासलाई ‘काठमाडौंका महलहरूको रानी’ पनि भनिन्थ्यो । किनकि, बेलायती शैलीमा बनेको त्यस प्रकारका अन्य भवन नेपालमा थिएनन् ।

बेलायती शैलीमा निर्माण गरिएको यो भवन कृष्णशमशेरले आफू निर्वासनमा जाने क्रममा सरकारलाई दिएका थिए । उपन्यासकार डायमण्डशमशेरका भनाइमा आन्तरिक राजनीतिका कारण बिदेसिनुअघि कृष्णशमशेरले विशिष्ट अतिथिहरूको सत्कारका लागि प्रयोग गर्न सुझाव दिएर भवन सरकारलाई हस्तान्तरण गरेका थिए । उदार हृदयका कृष्णशमशेरले भूकम्पले साबिक भवन क्षतविक्षत भएपछि बेलायती डिजाइनमा शीतल निवास भवन बनाएका हुन् । उनले भवन बनाउन बेलायतबाटै डिजाइनर झिकाएका थिए । 

शीतल निवासको भवनलाई त्यतिबेला एसियाकै उत्कृष्ट भवनका रूपमा हेरिन्थ्यो । तर सरकारी स्वामित्वमा आएपछि भवन बिस्तारै थोत्रा गाडी थुपार्ने थलोजस्तो बनेको थियो । कृष्णशमशेरले निर्वासबाट कुनै बेला काठमाडौं आएका बेला भवनको थप मर्मतका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए । भवनलाई मर्मतसमेत नगरी जीर्ण बनेको देखेर उनले सरकारलाई आर्थिक सहयोग गरेका हुन् । 

सरकारले पाएपछि शीतल निवासमा भारतीय दूतावास बसेको थियो । दूतावासको भवन लैनचौरमा बनेपछि दूतावास शीतल निवासबाट सरेको थियो । त्यसपछि त्यहाँ अतिथि सत्कार विभाग बसेको थियो । शीतल निवासलाई अन्य प्रयोजनमा दिने सम्भावना देखेपछि पञ्चायतकालमै परराष्ट्र मन्त्रालय राखेको थियो । पञ्चायतका दुई शक्तिकेन्द्रले शीतल निवासको प्रयोगमा फरक–फरक धारणा आएपछि मन्त्रालय राखिएको थियो । उक्त भवनमा परराष्ट्र मन्त्रालय बसेकामा २०४५ सालमा आफ्नै भवन सिंहदरबार सरेको थियो । 

[Archive] The proposal to make Sheetal Niwas a Hilton hotel!

बेलायती महारानी एलिजावेथ द्वितीया, पाकिस्तानी तत्कालीन राष्ट्रपति अयुव खाँलगायतका नेतालाई विशिष्ट पाहुनाका रूपमा सोही भवनमा आतिथ्यता दिइएको थियो । राजा वीरेन्द्रको विवाह र राज्याभिषेकमा आमन्त्रित पाहुना यहीँ राखिएको थियो । त्यहाँ राखेका पाहुनालाई खाना भने सोल्टी ओभरायमा गरिन्थ्यो । 

 शीतल निवासको जमिनको एक भागमा प्रहरी प्रशिक्षण केन्द्र बसेको थियो भने अर्को भागलाई अतिथि सत्कार स्थल बनाइएको थियो । दुवैतर्फको गरेर २ सय २६ रोपनीमा फैलिएको शीतल निवासलाई आवश्कयता अनुसार मर्मत सम्भार गर्न नसकेका कारण निजी कम्पनीलाई भाडमा दिने चर्चा दशकदेखि चल्दै आएको थियो । यो विषय ५० को दशकमा फेरि ब्यूँतियो । अमेरिकामा मुख्य कार्यालय रहेको र विश्वभर ४ सय ५० भन्दा बढी पाँचतारे होटल भएको हिल्टन होटललाई शीतल निवास दिन उपयुक्त हुने सोच सरकारले नै बनाएपछि चर्चा चुलिएको थियो । 

हिल्टनले काठमाडौंका मुख्य स्थानमा जमिन नपाएपछि सरकारका केही अधिकारीहरूले होटल सञ्चालन गर्न शीतल निवास दिन सकिने बताएपछि लगानीकर्ताहरू उत्साहित भएका थिए । उनीहरूले ६ महिनादेखि जमिन खोजिरहेका थिए । हिल्टनको व्यवस्थापनमा नेपाली र भारतीय व्यवसायीले होटल चलाउन चाहेका थिए । सुरुमा हिल्टनलाई सरकारले थापाथलीस्थत नेपाल खाद्य गोदाम घर दिने भएपछि आपूर्ति मन्त्रालय र खाद्यका प्रशासकहरूले नदिने अडान राखेका थिए । 

हिल्टनले भृकुटीमण्डपको जमिन मागेको थियो, त्यो दिन नमिल्ने भनेपछि सिंहदरबार आसपास रोजेका थिए । त्यहाँ पनि खाली जमिन नपाएपछि शीतल निवास ताकेको त्यतिबेलाका सरकारी अधिकारीहरूले बताएका थिए । सरकारले कीर्तिपुर क्षेत्रमा जमिन दिने बताए पनि हिल्टनले मानेको थिएन । 

केही समयअघि भएको नेपाल लगानी बैठकले वैदेशिक लगानीका लागि विशेष प्रतिबद्धता जनाएपछि संयुक्त लगानीमा उक्त होटल खोल्न दिने बाध्यता रहेको सरकारी अधिकारीहरूले बताउने गरेका थिए । २०४६ को राजनीतिक परिवर्तनपछि मुलुक आर्थिक उदारीकरणमा गएका कारण विदेशी लगानी भित्र्याउँदै जाने सरकारी नीति थियो । 

नेपालमा त्यतिबेला सोल्टी र अन्नपूर्ण होटल मात्र अन्तर्राष्ट्रिय व्यवस्थापनमा सञ्चालन भएको अवस्थामा हिल्टनको उपस्थितिले अर्को राम्रो होटल थपिने अपेक्षा गरिएको थियो । तर शीतल निवास नै होटल सञ्चालनका लागि दिनु उपयुक्त छ कि छैन भन्ने बहस भने चलिनै रहेको थियो । यही सेरोफोरोमा रहेर पत्रकार नारायण वाग्लेले ऐतिहासिक शीतल निवास अब व्यापारीको हातमा शीर्षकमा तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५० असार ८ गते पहिलो पृष्ठमा प्रकाशन गरेको थियो ।

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर अर्काइभ

कान्तिपुर

Link copied successfully