[अर्काइभ] सुनधारालाई पानीको फोहोरले छोपेपछि...

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

[Archive] After covering Sundhara with water waste...

काठमाडौँ — अहिले सुनधाराको धाराबाट पानी आउन छाडेको छ । २०४४ सालमा सुरु गरेको कर्मचारी सञ्चय कोषको व्यापारिक भवन निर्माणका क्रममा सुनधाराबाट आउने पानीको स्रोत धेरै कम भएको अनुमान स्थानीयवासीले ३२ वर्षअघि नै गरेका थिए । त्यतिबेला स्रोत घटे पनि पानी पूरै बन्द भने भएको थिएन ।

तर धाराको वरिपरि फोहोर थुप्रिएका कारण पानीले निकास पाउन सकेको थिएन भने स्थानीयवासीले उपभोग गर्न पाएका थिएनन् । सञ्चय कोषको भवनको जग खन्ने क्रममा पानीको मुहान सुकेको बुझाइ सबैमा थियो ।

स्रोत कम भए पनि स्थानीयले सुनधाराको पानी प्रयोग गरिरहेका थिए । तर त्यतिबेला काठमाडौंको फोहोर व्यवस्थापन निकै चुनौतीपूर्ण थियो । त्यसमा पनि ढल व्यवस्थापनको समस्या जताततै देखिन्थ्यो । 

ढलमा फोहोर पसेका कारण पानी थुनिएर सुनधारामा पानी थाप्न जानै नमिल्ने गरी पोखरी बनेको थियो । धाराहरू फोहोर पानीले डुबाउन लागेको थियो । त्यतिबेला काठमाडौंवासी मध्ये सुनधारा आसपासका मान्छेहरू त्यही धाराको पानी पिउने, नुहाउने र लुगा धुने गर्थे । 

स्थानीयको विरोधका कारण सञ्चय कोषको भवन पूरा हुन सकेको थिएन भने धाराको स्रोत पनि कम हुँदै गएको थियो । सुनधारालाई एउटा सम्पदाका रूपमा जोगाउनुपर्ने भनाइहरू आइरहेका थिए । त्यही सिलसिलामा नेपाल सम्पदा संघले भद्रकालीमा छलफलको आयोजना गरेर सुनधारामा पानी सुकेको कारण पत्ता लगाउन सुझाएको थियो ।

धेरैको बुझाइ भवन निर्माणका कारण पानी सुकेको अनुमान उक्त छलफलमा गरिएको थियो । तत्कालीन काठमाडौं नगरपालिकाका मेयर पीएल सिंहले सुनधारा जोगाउने प्रतिबद्धता जनाएका थिए । सुनधारा यति धेरै फोहोर थियो कि सफा गर्न जानेहरू नै डराउने अवस्था थियो । 

खासगरी बहुदलीय व्यवस्था स्थापनापछि काठमाडौंको फोहोरका विषयमा बेलाबेलामा बन्द र हडतालसमेत हुने गर्थ्यो । काठमाडौं उपत्यकामा फोहोर उठेन भन्ने खबर बनिरहन्थ्यो । सुनधारा पनि त्यसको मारमा परेको थियो ।

ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा सुनधारामा पानी आउन कम भएको, यसको व्यवस्थापनमा देखिएका समस्या र काठमाडौं उपत्यकाको फोहोराको विषय समेटेर संवाददाताले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५० वैशाख २६ गते प्रकाशन गरेको थियो । 

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर अर्काइभ

कान्तिपुर

Link copied successfully