काठमाडौँ — चन्द्रशमशेरले भोट (तिब्बत) बाट नुन ल्याउन गोरेटो बाटो बनाइदिएका थिए । त्यतिबेलाका बुढापाकाले त्यही गोरेटो हिँडेर भोटबाट नुन ल्याएको यात्रा संस्मरण सुनाउने गर्थे । चन्द्रशमशेरले बनाएको गोरेटोबाट काठमाडौंदेखिका नेपाली साँखु, चौतारा, जलवीरे, तातोपानी हुँदै तिब्बत (भोट)सम्म पुग्थे ।
खासगरी चीनको सीमा जोड्ने अरनिको राजमार्ग बन्नुअघि काठमाडौं आउजाउ गर्ने गोरेटो साँखु–चौतारा पनि एउटा हो । २०२४ सालअघिसम्म सिन्धुपाल्चोक, दोलखा, रामेछापदेखि सोलुखुम्बुसम्मका बासिन्दा लामोसाँघुबाट पाँचखाल रबिओपी भएर पैदल भक्तपुर निस्कन्थे भने काठमाडौंबाट तिब्बतर्फ जानेहरू साँखु, चौतारा हुँदै जलवीरेको बाटो हिँड्थे । साँखु–चौतारा गोरेटोबाटै तिब्बतको ल्हासा (भोटभन्दा टाढा)सम्म पुग्ने गरिन्थ्यो ।
वि.सं. २०२५ सालमा काठमाडौं–बनेपा हुँदै चीन जोड्ने तातोपानीसम्मको कोदारी सडक बनेको थियो । राजमार्ग बनेपछि तातोपानी नाकाबाट प्रवेश गरेर तिब्बतमा सामान दिएर सामान नै ल्याउने (वार्टर सिस्टम) सुरु भएको थियो । अर्थात् सामान साटासाट गरिन्थ्यो ।
साँखुबाट चौतारा हुँदै जलवीरेको बाटो भोट जाने गरेको भूगोल छिचोल्दै अरनिको राजमार्गमा सडक जोड्ने योजना २०४६ को परिवर्तनपछि बनेको थियो । उपत्यकाको उत्तरपूर्वमा रहेको ऐतिहासिक बजार साँखु–सिन्धुपाल्चोकको फटकेश्वर हुँदै चौतारासम्म पुग्ने सडकलाई अरनिको राजमार्गमा जोड्ने योजना बनेको थियो । काठमाडौं र सिन्धुपाल्चोक जिल्ला विकास समितिले उक्त सडक बनाउन पहल सुरु गरेका थिए । पहिलो खण्ड साँखु–फटकेश्वर १९ किमि र दोस्रो खण्ड मेलम्ची–चौतारा करिब २८ किमि सडक बनाउने योजना बनेको थियो ।
पहिलो चरणको सडक निर्माणका लागि सांसदद्वय ध्रुवराम भण्डारी र बाबुराम नकर्मी तथा सिन्धुपाल्चोक र काठमाडौंका जिविस सभापतिहरू क्रमशः चन्द्रलाल श्रेष्ठ र तीर्थबहादुर केसीसहितको उपभोक्ता समितिले सडक निर्माण सुरु गरेको थियो । पहिलो खण्ड निर्माणका लागि त्यतिबेला काठमाडौं क्षेत्र नम्बर १ का सांसद तथा एमाले महासचिव मदनकुमार भण्डारी र काठमाडौं जिविस सभापति नारायण ढकाल रहेको उपभोक्ता समिति पनि गठन गरिएको थियो । उक्त समितिले सडक निर्माणमा राजनीति भएको आरोप लगाएको थियो ।
सडक छापभन्ञ्याङ फटकशीला पुगेपछि सिन्धु र काठमाडौंका स्थानीयबीच सडक कुन दिशामा लैजाने भन्नेमा विवाद भएको हो । उक्त विवाद मिलाउन कांग्रेसले केन्द्रीय प्रतिनिधि नै खटाएको थियो । पार्टीले खटाएका प्रतिनिधि हरिबोल भट्टराइले दिएको प्रतिवेदनका आधारमा सडक फटकेश्वर जोड्न उपयुक्त हुने गरी काम अघि बढाइएको थियो ।
खासमा उक्त सडक बनेमा काठमाडौंसँग हेलम्बु, सिन्धुपाल्चोक सदरमुकाम चौतारा र अरनिको राजमार्ग जोडिने अपेक्षा थियो । राजनीतिक खिचातानी र यसको महत्त्वसमेतलाई उजागर गर्ने गरी तयार गरिएको यससम्बन्धी समाचार कान्तिपुर दैनिकले २०५० जेठ १९ गते प्रकाशन गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] When trying to build a road in Goreto to carry salt...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5-page-0342025124610-1000x0.jpg&w=1001&h=0)