काठमाडौँ — ५० को दशकसम्म मुलुकका धेरै जिल्ला सदरमुकामलाई सडकले छोएको थिएन । अहिलेजस्तो गाउँगाउँमा मोटर कुद्ने अवस्थाको त्यतिबेला कल्पना पनि गरिँदैनथ्यो । सञ्चार र यातायात पहाडी जिल्लाका सर्वसाधारणको पहुँचबाहिरै थियो ।
विकट बस्तीहरूमा पर्याप्त विद्यालय नभएर पढ्ने अवसर थिएन । विकासको पूर्वाधारको अभावमा विकट बस्तीका सर्वसाधारणमा चेतनाको स्तर वृद्धि गर्ने शैक्षिक र सामाजिक संघसंस्थाहरू नै नभएपछि स्वास्थ्यसम्बन्धी ज्ञान अत्यन्त न्यून थियो ।
यतिसम्म कि सूर्तिजन्य पदार्थको सेवनले स्वास्थ्य बिगार्छ र रोग लाग्छ भन्ने सामान्य ज्ञान पनि विकट क्षेत्रका बासिन्दालाई खासै थिएन । न त उनीहरूलाई त्यस्तो ज्ञान दिने प्रभावकारी सरकारी संयन्त्र नै थियो ।
त्यतिबेला विकास नपुगेको र चेतनाको हिसाबले पिछडिएको जिल्लाको उदाहरण दिनुपरेमा हुम्ला, जुम्ला, कालिकोट, मनाङ, मुस्ताङलगायतका जिल्लाको नाम लिने गरिन्थ्यो ।
आजभन्दा ३२ वर्षअघि भौतिक र सामाजिक विकासका दृष्टिकोणले मुलुककै पिछडिएको मध्येको जिल्ला हो– हुम्ला । जहाँको कुनै गाउँ यस्तो थियो कि कुल उपभोक्ताको दुई तिहाई १५ वर्ष उमेर नपुग्दै धुम्रपान गर्थे ।
कुल उपभोक्तामध्ये १७ प्रतिशत पुरुष र ५१ प्रतिशत महिलालाई धुम्रपानले हानि गर्छ भन्ने नै थाहा थिएन । कतिपयले त ५ वर्षमै धुम्रपान गर्न सिकेका थिए । हुम्लाको बेहे र बरगाउँमा बाल विकास समाज र यूएससी क्यानडाले त्यतिबेला गरेको एक सर्वेक्षणमा प्रतिव्यक्तिले दैनिक ६ देखि ८ वटा चुरोट–बिडी सेवन गर्थे । ती गाउँका पुरुष ७१ र महिला २९ प्रतिशतले चुरोट खाने गरेका थिए ।
![[Archive] Addiction to smoking before the age of 15!](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/humla-0442025124656-1000x0.jpg&w=1001&h=0)