काठमाडौँ — नारायणघाट–मुङलिङ सडक बनेपछि हेटौंडाको व्यापारिक चहलपहलमा कमी आएको थियो । यातायातको लोड थेग्न बाइरोडको बाटो साँघुरो मात्र होइन, जीर्ण पनि हुँदै गएको थियो ।
तराई जोड्ने भरपर्दो छोटो वैकल्पिक मार्गको आवश्यकता महसुस गरिएको थियो । उक्त आवश्यकता पूरा गर्न हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने चर्चा थियो । खासगरी काठमाडौं–तराई जोड्ने वैकल्पिक सडकको आवश्यकता महसुस भएको अवस्थामा सुरुङ उपयुक्त हुनेमा सरकार ‘कन्भिन्स’ थियो । त्यसका लागि सर्वेक्षण पनि सुरु गरिएको थियो ।
तर सुरुङ मार्ग बन्न लामो समय लाग्ने भएकाले हेटौंडा–फर्पिङ–काठमाडौं सडक बनाउन सकेमा छोटो समयमा वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्न सकिने योजना अघि सारिएको थियो । उक्त सडकले मकवानपुरतर्फका साबिक २० गाउँपालिकालाई सुविधा पुग्ने थियो । ग्रामीण सडक भएकाले स्थानीय उत्पादनको बिक्रीमा समेत यसको महत्त्व जोडिएको थियो ।
यही पृष्ठभूमिमा २०४६ को राजनीतिक परिवर्तनपछि बनेको काठमाडौं र मकवानपुर जिल्ला विकास समितिको सक्रियता बढाइएको थियो । उनीहरूले उक्त सडक सपना देखेर निर्माण सुरु गरेको अहिले ३२ वर्ष बितेको छ । तर उक्त सडकमा अहिले पनि ढुक्क भएर हिँड्ने अवस्था भने छैन । वर्षौंसम्म कच्ची सडकमा यात्रुहरू पीडा झेल्दै आएका छन् । काठमाडौं र मकवानपुरका जिविस सभापतिहरूले देखेको सडक सपना पूर्ण रूपमा पूरा भएको छैन ।
हेटौंडाबाट भैंसेसम्म ११ किमि कालोपत्र बनिसकेको थियो । भैंसेबाट भीमफेदी हुँदै कुलेखानी बाँधसम्म २८ किमि सडक चीनको हेनान कम्पनीले ४० करोडको लागतमा बन्ने पक्का भएको थियो । त्यस्तै कुलेखानी बाँधदेखि सुकेरासम्मको ३ किमि सडक निर्माण भइसकेको थियो ।
साबिक मकवानपुर जिविसले सुकेरादेखि फाखेलभञ्ज्याङसम्म स्थानीय बासिन्दाको सहभागितामा सडक बनाउन सुरु गरेको थियो । जिविस काठमाडौंले फाखेलदेखि ९ किमि फर्पिङ जोड्न निर्माण सुरु गरेको थियो । फर्पिङबाट काठमाडौंसम्मको १२ किमि सडक चालु अवस्थामा रहेकाले बीचबीचमा रहेको सडक निर्माणको सपना पूरा गरेर हेटौंडा–फर्पिङ हुँदै काठमाडौंको सहिद गेटसम्म ७५ किमि सडक सञ्चालन गर्न सकिएमा निकै ठूलो उपलब्धि हुने ठानिएको थियो ।
काठमाडौं जोड्न दुवै जिविसले २१ किमि सडक बनाउनुपर्ने देखिएको थियो । त्यसका लागि दुवै जिविस प्रतिबद्ध रहेको देखिन्छन् । उक्त सडक निर्माणका लागि सरकारले बढी ध्यान दिनुपर्ने माग स्थानीयले गरेका थिए । तराई जोड्ने वैकल्पिक सडकको आवश्यकता पूरा हुने, समयको बचत हुने र पेट्रोलियम पदार्थको खपत कम भएर आर्थिक रूपमा मुलुकलाई नै फाइदा हुने स्थानीयको भनाइ रहेको थियो ।
मकवानपुरका तत्कालीन जिविस सभापति बीरबहादुर लामाले आवश्यक स्थानमा सडक चौडा गर्ने र नयाँ निर्माण गर्न पहल गर्ने बताएका थिए । त्यसका लागि सरकारी निकायमा लिखित रूपमा प्रस्तावहरू पनि लगिएको थियो । कच्ची नै भए पनि दुई जिविस नेतृत्वले देखेको छोटो र वैकल्पिक सडक जोड्ने सपना पूरा भएको छ । तर हेटौंडा–काठमाडौं सुरुङ भने बनेन । किनकि, अहिले निजगढ जोड्न लागेको द्रुत मार्ग हेटौंडा–काठमाडौं जोड्ने सडकको वैकल्पिक मार्गको परिवर्तित रूप भनिन्छ ।
हेटौंडा सुरुङको बदला द्रुत मार्ग निर्माण भएको हो । काठमाडौं–फर्पिङ हुँदै हेटौंडा जोड्ने सडकलाई अहिले धेरैले वैकल्पिक र छोटो सडकका रूपमा चित्रण गर्छन् । उक्त सडकको सुरुवात, आवश्यकता र महत्त्वका विषयमा केन्द्रित रहेर हेटौंडाबाट पत्रकार प्रताप विष्टले लेखेको समाचार कान्तिपुर दैनिकले २०५० वैशाख १३ मा प्रकाशन गरेको थियो ।
प्रस्तुति : ऋषिराम पौड्याल
![[Archive] This is how the Hetaunda-Pharping road connecting Kathmandu began](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/hetauda-0142025125816-1000x0.jpg&w=1001&h=0)