विदेशीलाई गैंडा उपहारको त्यो कथा

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

That story of the gift of a rhinoceros to a foreigner

काठमाडौँ — सन् १९६० मा चितवन उपत्यकामा १ हजारभन्दा बढी गैंडा रहेको तथ्यांक थियो । तर १३ वर्षमा गैंडाको संख्या ह्वात्तै घटेर ८० मा झर्‍यो । सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना गरेर संरक्षण सुरु गरेपछि गैंडाको संख्या बढेर ३ सय ५० पुगेको अनुमान गरिएको थियो । 

प्राकृतिक विज्ञानसम्बन्धी अनुसन्धान गर्ने रिसोर्स नेपालले गरेको एक अध्ययन अनुसार २०३८ सालदेखि १२ वर्षको अवधिमा १ सय २ वटा गैंडा घटेका थिए । यस अवधिमा स्वाभाविक मृत्यु ५५ प्रतिशत, सिकारीबाट मृत्यु २० प्रतिशत र २५ प्रतिशत उपहारस्वरूप बाहिर पठाइएको थियो । 

सुरुमा चीनलाई उपहार दिएर गैंडा बाँड्ने सुरुवात गरिएकामा २०५० सम्म भारत, पाकिस्तान, सिंगापुर, जर्मनी र अमेरिकासम्म नेपाली गैंडा पुगेका छन् । यस अवधिमा अमेरिकालाई मात्रै ६ वटा गैंडा उपहार दिइएको थियो । 

राष्ट्रिय वातावरण संरक्षण परिषद्का सदस्य प्रल्हाद योञ्जनले गैंडाको संख्या घट्नुमा चोरी सिकारी कि उपहार भन्ने प्रश्न उठाएका थिए । यो प्रश्नले उपहारका कारण गैंडाको संख्या घटेको विषय बहसमा आएको थियो । कुल संख्यामा २५ प्रतिशत नै उपहारमा दिनु उचित नभएको आवाज उठेपछि वन तथा वातावरण मन्त्रालयका प्रवक्ता उदयराज शर्माले नेपालमा रोग, चोरी सिकारीलगायतका कारणले संख्या धेरै घटेकाले संरक्षणका लागि विदेशीलाई उपहार स्वरूप दिएको तर्क गरेका थिए । 

That story of the gift of a rhinoceros to a foreigner

त्यतिबेला पाकिस्तानको चिडियाखानामा पनि नेपाली गैंडा राखिएको थियो । साइटिस सन्धिले बन्देज लगाएकाले गैंडा बेच्न नपाइने शर्माले बताएका थिए । त्यसैले उपहार दिइएको दाबी सरकारी पक्षको रहेको थियो । 

 गैंडाको सिङको धूलो बनाएर खाएमा यौन शक्ति बढ्ने, ज्वरो, आऊँलगायतका रोग निको हुने विश्वास रहेकाले यसको चोरी सिकारी बढेको अनुमान गरिएको थियो । अरबीहरू भने गैंडाको सिङबाट बनेको छुरी र खुकुरीको दाप बोक्न पाएमा आफूलाई प्रतिष्ठित ठान्ने गर्छन् । पर्यटकको बढ्दो चापले पनि गैंडाको बासस्थानमा समस्या भएको सरकारी अनुमान थियो । 

पर्यटकहरू हात्ती चढेर घुम्न जाने भएकाले गैंडाको बासस्थानको घाँसै मैदान नाश हुने भएकाले पनि समस्या हुने गरेको छ । त्यतिबेला बर्दिया निकुञ्जमा मात्र ३८ वटा गैंडा सारिएमा ९ वटा सिकारीले मारेका थिए । खासगरी एकातिर चोरी सिकारी र अर्कोतर्फ सरकारले नै उपहारका नाममा विदेशीलाई गैंडा दिने चलनलाई प्रकृति संरक्षणकर्मीहरूले मन पराएका थिएनन् । 

असुरक्षित बासस्थान, चोरी सिकारी, उपहारलगायतका कारणले गैंडाको संख्या घट्दै गएको सन्दर्भमा प्रश्न उठाउँदै पत्रकार नारायण वाग्लेले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५० वैशाख ३ गते प्रकाशन गरेको थियो ।

प्रस्तुति : ऋषिराम पौडेल

कान्तिपुर अर्काइभ

कान्तिपुर

Link copied successfully