काठमाडौँ — २०४६ को परिवर्तनपछि कम्युनिस्ट पार्टीहरूले पनि दलीय प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्छन् भन्ने मान्यताको विकास भएको थियो । नेकपा एमालेलाई प्रजातान्त्रिक पार्टीका रूपमा स्थापित गराउने नेतृत्व गरेका लोकप्रिय नेता थिए– मदनकुमार भण्डारी ।
एमालेको राजनीतिक बाटो ‘जनताको बहुदलीय जनवाद’ भन्ने सैद्धान्तिक अवधारणालाई उनले पार्टीको महाधिवेशनबाटै पारित गराएका थिए । रुस र पूर्वी जर्मनीसहितका विश्वका मुलुकबाट कम्युनिस्ट शासन ढलिरहेको पृष्ठभूमिलाई राम्ररी ख्याल गरेका उनले एमालेलाई प्रजातान्त्रिक पार्टीका रूपमा विकास गराउने सोच बनाएका थिए ।
प्रखर वक्ता र कुशल संगठकका रूपमा स्थापित भएका भण्डारीले २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति तथा अन्तरिम सरकारका बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए । काठमाडौंको संसदीय निर्वाचन क्षेत्र नम्बर १ बाट भट्टराईलाई पराजित गरेपछि उनको लोकप्रियता झन् बढेको थियो ।
निर्वाचन प्रचारको सिलसिलामा राजा वीरेन्द्रलाई ‘राजनीति गर्ने भए श्रीपेच फुकालेर चुनाव लड्न आउनु’ भनेको प्रसंगले भण्डारीलाई एक ‘साहसिक नेता’ का रूपमा परिचित गराएको थियो । किनकि, त्यतिबेला राजालाई औंला ठड्याउनुलाई ठूलै साहस गरेको मानिन्थ्यो । उनले बोल्ने सभाहरूमा विपक्षीहरू पनि सुन्न जाने गरेका थिए । ‘आज मदन भण्डारीले के बोल्ने हुन्’ भन्ने कौतूहल राखिन्थ्यो ।
विसं २०५० जेठ ३ गते बेलुकी ६.१५ मा चितवन नारायणघाटबाट एमाले केन्द्रीय कार्यालयमा टेलिफोन घन्टी बज्यो । महासचिव भण्डारीका सवारी चालक अमर लामाले फोन गरेका थिए । उनले फोनमार्फत भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको गाडी त्रिशूलीमा खसेको सुनाए । भण्डारी र आश्रित पनि नदीमा बगेको भन्दै घटनाको संक्षिप्त विवरण सुनाए । तर उनले दुई नेताको विस्तृत अवस्था आफूलाई थाहा नभएको पनि बताएका थिए ।
चालक लामाले मुङलिङबाट नारायणघाटतर्फ दासढुंगामा पुग्दा गाडी अनियिन्त्रित भएर त्रिशूलीमा खसेको बताएका थिए । आफू बचेर उपचारका लागि चितवनको भरतपुर अस्पताल जान लागेको जानकारी पार्टी कार्यालयमा दिएका थिए । त्यतिबेला अहिले जस्तो हातहातमा मोबाइल थिएन । ‘ल्यान्डलाइन’ टेलिफोन पनि मुख्य बजारबाहेक अन्यत्र थिएनन् । सबैजसो सूचना प्रहरीबाट लिनु पर्थ्यो ।
लामाले फोन गर्नुअगावै ६ बजेतिर पार्टीमा जीप दुर्घटनाको हल्ला आइसकेको थियो । एमाले केन्द्रीय कार्यालयमा उपत्यकाका पार्टीका नेता–कार्यकर्ताको भीड लागिसकेको थियो । तर लामाले फोन गरेपछि मात्रै दुर्घटनाको आधिकारिक सूचना प्राप्त भएको थियो ।
भण्डारी र आश्रित पोखरास्थित कास्की जिल्ला सम्मेलनको उद्घाटन गर्न २०५० जेठ २ गते त्यता गएका थिए । पोखराबाट फर्केर उनीहरू दुवै जना चितवनको चैनपुर ज्यामिरेमा हुन लागेको अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलामा जाने क्रममा जीप नदीमा खसेको हो ।
उक्त भेलामा महासचिव भण्डारीले ‘राजनीतिमा महिलाहरूको दायित्व’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । चितवन जाने क्रममा भण्डारी र आश्रित एउटै जीपमा ३ गते करिब ४.४० मा मुङलिङबाट नारायणघाटतर्फ गएको प्रहरीले जानकारी दिएको थियो ।
चालक लामा एमाले काठमाडौं–तनहुँ सम्पर्क समितिका सचिव तथा चालक थिए । उक्त जीप भने एमालेकै थियो । जीप त्रिशूलीमा खसेको समाचार एक/दुई घन्टामा मुलुकभर फैलियो । एमाले नेता–कार्यकर्ता मात्र होइन, एकप्रकारले मुलुकबासीलाई नै दुर्घटनाको खबर पत्याउन कठिन भएको थियो । चर्चा र लोकप्रियताको शिखरमा पुगेका भण्डारीसहितका दुई नेता गुमाउनुपर्दाको पीडा जताततै सुन्न पाइन्थ्यो । राती भएकाले अब के गर्ने अन्योल थियो नै ।
तत्कालै घटनास्थल पुगेर साहना प्रधान, जागृतप्रसाद भेटवाल, अष्टलक्ष्मी शाक्यसहित दुई सयभन्दा बढी नेता–कार्यकर्ता खोजीमा जुटिसकेका थिए । यता काठमाडौंबाट दुई वटा बस लिएर एमाले नेता अमृतकुमार बोहराको नेतृत्वमा नेता तथा कार्यकर्ता घटनास्थलतर्फ पुगेका थिए । अखिल नेपाल ट्रेड युनियन महासंघका तत्कालीन महासचिव विष्णु रिमालको नेतृत्वमा स्वयंसेवकको दस्ता पनि दासढुंगा पठाइएको थियो ।
चालक लामाले चितवनस्थित कान्तिपुरका तत्कालीन समाचारदातासँग जीप अनियन्त्रित भएर नदीमा खसेको बताएका थिए । जीप खस्न लाग्दा भण्डारी र आश्रितले ‘के भो, के भो ?’ भन्दै कराएको लामाले जानकारी दिएका थिए । नदीले बगाएपछि एक जनाले पानीमा हात हल्लाएको तर उद्धार गर्न नसकिएको भनाइ उनको थियो । लामाका अनुसार महासचिव भण्डारी भने पहिलो सिटमा सिट–बेल्ट लगाएर बसेका थिए । आफूलाई ३–४ जना माझीले उद्धार गरेको दाबी पनि उनको थियो । लामाको शरीरमा कतै पनि चोट देखिएको थिएन । टाउको र छाती दुखेको बताइरहन्थे ।
त्रिशूलीमा नेताहरूको खोजीमा सरकारी संयन्त्र र पार्टीका कार्यकर्ता परिचालन भएका थिए । तर राती भएकाले खोजी प्रभावकारी हुन सकेको थिएन । एमालेका दुई लोकप्रिय नेता त्रिशूलीमा डुबेर मृत्यु भएको आगामी जेठ ३ मा ३२ वर्ष पूरा हुँदैछ । चालक अमर लामा पनि केही समय जेल जीवन बिताएर निस्केका थिए । उनलाई पछि काठमाडौंमा गोली हानेर हत्या गरिएको थियो ।
चालक लामाको हत्या भएपछि भण्डारी र आश्रितको मृत्युको कारण झन् रहस्यमय बन्यो । उक्त घटना दुर्घटना हो कि हत्या हो भन्ने अझै यकिन भएको छैन । बेलाबेलामा उनीहरूको हत्याको प्रसंग जोडेर एमालेको नेतृत्वप्रति प्रश्न गर्न भने छोडिएको छैन । तर अनुसन्धान भने लगभग टुंगिएको अवस्था छ । भण्डारी र आश्रित चढेको जीप त्रिशूलीमा खसेको विषयलाई पत्रकार रवि अधिकारी, रमेश केसी, श्रीकृष्ण अधिकारी र महेन्द्रराज श्रेष्ठले तयार गरेको समाचार २०५० जेठ ४ गते कान्तिपुरले पहिलो पृष्ठको मुख्य समाचार बनाएर प्रकाशन गरेको थियो ।
प्रस्तुति : ऋषिराम पौड्याल
![[Archive] That telephone ring at 6.15 am at the UML office in Bagbazar, Kathmandu](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/kantipur-archieve-11-3132025125537-1000x0.jpg&w=1001&h=0)