[अर्काइभ] काठमाडौंको बागबजारस्थित एमाले कार्यालयमा ६.१५ मा बजेको त्यो टेलिफोन घण्टी

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

[Archive] That telephone ring at 6.15 am at the UML office in Bagbazar, Kathmandu

काठमाडौँ — २०४६ को परिवर्तनपछि कम्युनिस्ट पार्टीहरूले पनि दलीय प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्छन् भन्ने मान्यताको विकास भएको थियो । नेकपा एमालेलाई प्रजातान्त्रिक पार्टीका रूपमा स्थापित गराउने नेतृत्व गरेका लोकप्रिय नेता थिए– मदनकुमार भण्डारी ।

एमालेको राजनीतिक बाटो ‘जनताको बहुदलीय जनवाद’ भन्ने सैद्धान्तिक अवधारणालाई उनले पार्टीको महाधिवेशनबाटै पारित गराएका थिए । रुस र पूर्वी जर्मनीसहितका विश्वका मुलुकबाट कम्युनिस्ट शासन ढलिरहेको पृष्ठभूमिलाई राम्ररी ख्याल गरेका उनले एमालेलाई प्रजातान्त्रिक पार्टीका रूपमा विकास गराउने सोच बनाएका थिए । 

प्रखर वक्ता र कुशल संगठकका रूपमा स्थापित भएका भण्डारीले २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति तथा अन्तरिम सरकारका बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए । काठमाडौंको संसदीय निर्वाचन क्षेत्र नम्बर १ बाट भट्टराईलाई पराजित गरेपछि उनको लोकप्रियता झन् बढेको थियो ।

[Archive] That telephone ring at 6.15 am at the UML office in Bagbazar, Kathmanduनिर्वाचन प्रचारको सिलसिलामा राजा वीरेन्द्रलाई ‘राजनीति गर्ने भए श्रीपेच फुकालेर चुनाव लड्न आउनु’ भनेको प्रसंगले भण्डारीलाई एक ‘साहसिक नेता’ का रूपमा परिचित गराएको थियो । किनकि, त्यतिबेला राजालाई औंला ठड्याउनुलाई ठूलै साहस गरेको मानिन्थ्यो । उनले बोल्ने सभाहरूमा विपक्षीहरू पनि सुन्न जाने गरेका थिए । ‘आज मदन भण्डारीले के बोल्ने हुन्’ भन्ने कौतूहल राखिन्थ्यो । 

विसं २०५० जेठ ३ गते बेलुकी ६.१५ मा चितवन नारायणघाटबाट एमाले केन्द्रीय कार्यालयमा टेलिफोन घन्टी बज्यो । महासचिव भण्डारीका सवारी चालक अमर लामाले फोन गरेका थिए । उनले फोनमार्फत भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको गाडी त्रिशूलीमा खसेको सुनाए । भण्डारी र आश्रित पनि नदीमा बगेको भन्दै घटनाको संक्षिप्त विवरण सुनाए । तर उनले दुई नेताको विस्तृत अवस्था आफूलाई थाहा नभएको पनि बताएका थिए ।

[Archive] That telephone ring at 6.15 am at the UML office in Bagbazar, Kathmanduचालक लामाले मुङलिङबाट नारायणघाटतर्फ दासढुंगामा पुग्दा गाडी अनियिन्त्रित भएर त्रिशूलीमा खसेको बताएका थिए । आफू बचेर उपचारका लागि चितवनको भरतपुर अस्पताल जान लागेको जानकारी पार्टी कार्यालयमा दिएका थिए । त्यतिबेला अहिले जस्तो हातहातमा मोबाइल थिएन । ‘ल्यान्डलाइन’ टेलिफोन पनि मुख्य बजारबाहेक अन्यत्र थिएनन् । सबैजसो सूचना प्रहरीबाट लिनु पर्थ्यो । 

लामाले फोन गर्नुअगावै ६ बजेतिर पार्टीमा जीप दुर्घटनाको हल्ला आइसकेको थियो । एमाले केन्द्रीय कार्यालयमा उपत्यकाका पार्टीका नेता–कार्यकर्ताको भीड लागिसकेको थियो । तर लामाले फोन गरेपछि मात्रै दुर्घटनाको आधिकारिक सूचना प्राप्त भएको थियो । 

भण्डारी र आश्रित पोखरास्थित कास्की जिल्ला सम्मेलनको उद्घाटन गर्न २०५० जेठ २ गते त्यता गएका थिए । पोखराबाट फर्केर उनीहरू दुवै जना चितवनको चैनपुर ज्यामिरेमा हुन लागेको अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलामा जाने क्रममा जीप नदीमा खसेको हो । 

उक्त भेलामा महासचिव भण्डारीले ‘राजनीतिमा महिलाहरूको दायित्व’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । चितवन जाने क्रममा भण्डारी र आश्रित एउटै जीपमा ३ गते करिब ४.४० मा मुङलिङबाट नारायणघाटतर्फ गएको प्रहरीले जानकारी दिएको थियो । 

चालक लामा एमाले काठमाडौं–तनहुँ सम्पर्क समितिका सचिव तथा चालक थिए । उक्त जीप भने एमालेकै थियो । जीप त्रिशूलीमा खसेको समाचार एक/दुई घन्टामा मुलुकभर फैलियो । एमाले नेता–कार्यकर्ता मात्र होइन, एकप्रकारले मुलुकबासीलाई नै दुर्घटनाको खबर पत्याउन कठिन भएको थियो । चर्चा र लोकप्रियताको शिखरमा पुगेका भण्डारीसहितका दुई नेता गुमाउनुपर्दाको पीडा जताततै सुन्न पाइन्थ्यो । राती भएकाले अब के गर्ने अन्योल थियो नै । 

तत्कालै घटनास्थल पुगेर साहना प्रधान, जागृतप्रसाद भेटवाल, अष्टलक्ष्मी शाक्यसहित दुई सयभन्दा बढी नेता–कार्यकर्ता खोजीमा जुटिसकेका थिए । यता काठमाडौंबाट दुई वटा बस लिएर एमाले नेता अमृतकुमार बोहराको नेतृत्वमा नेता तथा कार्यकर्ता घटनास्थलतर्फ पुगेका थिए । अखिल नेपाल ट्रेड युनियन महासंघका तत्कालीन महासचिव विष्णु रिमालको नेतृत्वमा स्वयंसेवकको दस्ता पनि दासढुंगा पठाइएको थियो । 

चालक लामाले चितवनस्थित कान्तिपुरका तत्कालीन समाचारदातासँग जीप अनियन्त्रित भएर नदीमा खसेको बताएका थिए । जीप खस्न लाग्दा भण्डारी र आश्रितले ‘के भो, के भो ?’ भन्दै कराएको लामाले जानकारी दिएका थिए । नदीले बगाएपछि एक जनाले पानीमा हात हल्लाएको तर उद्धार गर्न नसकिएको भनाइ उनको थियो । लामाका अनुसार महासचिव भण्डारी भने पहिलो सिटमा सिट–बेल्ट लगाएर बसेका थिए । आफूलाई ३–४ जना माझीले उद्धार गरेको दाबी पनि उनको थियो । लामाको शरीरमा कतै पनि चोट देखिएको थिएन । टाउको र छाती दुखेको बताइरहन्थे । 

त्रिशूलीमा नेताहरूको खोजीमा सरकारी संयन्त्र र पार्टीका कार्यकर्ता परिचालन भएका थिए । तर राती भएकाले खोजी प्रभावकारी हुन सकेको थिएन । एमालेका दुई लोकप्रिय नेता त्रिशूलीमा डुबेर मृत्यु भएको आगामी जेठ ३ मा ३२ वर्ष पूरा हुँदैछ । चालक अमर लामा पनि केही समय जेल जीवन बिताएर निस्केका थिए । उनलाई पछि काठमाडौंमा गोली हानेर हत्या गरिएको थियो । 

चालक लामाको हत्या भएपछि भण्डारी र आश्रितको मृत्युको कारण झन् रहस्यमय बन्यो । उक्त घटना दुर्घटना हो कि हत्या हो भन्ने अझै यकिन भएको छैन । बेलाबेलामा उनीहरूको हत्याको प्रसंग जोडेर एमालेको नेतृत्वप्रति प्रश्न गर्न भने छोडिएको छैन । तर अनुसन्धान भने लगभग टुंगिएको अवस्था छ । भण्डारी र आश्रित चढेको जीप त्रिशूलीमा खसेको विषयलाई पत्रकार रवि अधिकारी, रमेश केसी, श्रीकृष्ण अधिकारी र महेन्द्रराज श्रेष्ठले तयार गरेको समाचार २०५० जेठ ४ गते कान्तिपुरले पहिलो पृष्ठको मुख्य समाचार बनाएर प्रकाशन गरेको थियो । 

 प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully