[अर्काइभ] यस्तो थियो तीन दशकअघिको सरकारी अस्पताल 

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

[Archive] This was the government hospital three decades ago

काठमाडौँ — बिरामीलाई तातोपानी तताउने स्टोभ छैन । पिउने पानी छैन । सरकारी अस्पतालका चिकित्सकहरू कहिले ओपीडीमा बिरामी जाँच्दाजाँच्दै नजिकैको क्लिनिकमा कुद्छन् । शल्यक्रिया गर्ने औजार छैन । बिरामीलाई ‘इन्फेक्सन’ भयो भने खुवाउने औषधि छैन ।

१० जनाको दरबन्दी भएको अस्पतालमा काजका समेत गरी ५ जना चिकित्सक मात्रै कार्यरत छन् । बर्सेनि आउने ३० लाख सरकारी अनुदान तलब भत्तामै सकिन्छ ।

उल्लेखित विवरण तीन दशकअघि झापाको भद्रपुरस्थित मेची अस्पतालले भोग्दै आएका समस्याहरूका केही उदाहरण हुन् । यसले ४० को दशकमा नेपालका सरकारी अस्पतालको अवस्था कति दयनीय र अस्तव्यस्त थियो भन्ने देखाउनुका साथसाथै सुगम स्थानमै पनि सरकारी उपचार सेवा कस्तो थियो भन्ने छर्लंग पार्छ । 

संख्यात्मक रूपमा अहिले जस्तो निजी अस्पताल नभएका कारण पैसा खर्च गर्न सक्ने बिरामीहरूले पनि कसरी उपचार गर्थे होलान्, अहिले अनुमान गर्न कठिन छ । राजनीतिक चेतना र आर्थिक रूपमा अग्रस्थानमा रहेको झापाको मुख्य सहरको अस्पतालको यो अवस्था थियो भने मुलुकभरका सरकारी अस्पतालले दिने सेवा कुन स्तरको थियो होला, त्यो कल्पना गर्न सकिन्छ । 

अस्पतालमा स्टोभ र हिटर नभएकाले बिरामीले उमालेको पानी पिउन पनि बाहिरबाट पैसा तिरेर ल्याउनु पर्थ्यो । पानीसमेत नपाउने अस्पतालबाट दिने अन्य सेवा कति कमजोर होला, कल्पना गर्दै पनि कहाली लाग्छ । बर्सेनि विनियोजन हुने सरकारी बजेट ३० लाखले तलब खाने कि अस्पतालको भौतिक सुधार र इक्विमेन्ट खरिद गर्ने ? 

[Archive] This was the government hospital three decades agoसानो शल्यक्रियासमेत गर्न नसकिने अवस्था थियो । व्यवस्थापनलाई सहज थिएन । सरकारी चिकित्सक खटाएको स्थानमा नजाने, अस्पतालको गेटमै निजी क्लिनिक खोलेर सरकारी अस्पतालमा आएका बिरामीलाई राम्रो उपचार नगर्ने, सरकारी ड्युटीमा रहेकै बेला क्लिनिक जाने प्रवृत्तिले नागरिक हैरान थिए । राजनीतिक प्रभाव र शक्तिका कारण चिकित्सकको कार्यसम्पादन जस्तो भए पनि कारबाही नहुने चलन स्थापित भएको गुनासो स्थानीयले गर्दै आएका थिए । 

अस्पताल सञ्चालनका लागि गठन भएको सञ्चालक समिति औपचारिकताका लागि मात्र देखिने गरेको थियो । कतिसम्म भने शव राख्ने झ्याल र ढोकासमेत जीर्ण छन् । असुरक्षा यतिसम्म छ कि बाहिरबाट स्याल र कुकुरहरू सहजै रूपमा शव राख्ने घरमा छिर्न सक्छन् । कुन दिन शव लिएर कुकुर हिंड्ने हुन् भन्ने चिन्ता स्थानीयमा छ । यस्ता अनेकन् प्रश्नको उत्तर खोज्दै भद्रपुर संवाददाता लीला बरालले तयार गरेको समाचार कान्तिपुर दैनिकले २०५० जेठ १२ गते प्रकाशन गरेको थियो । 

 प्रस्तुतिः ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully