[अर्काइभ] रिक्साको सहरमा मनमोहनको त्यो यात्रा

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

[Archive] Manmohan's trip to Rickshaw City

काठमाडौँ — सरकारी रेकर्डमा ३२ वर्षअघि मुलुकभर करिब ४० हजार रिक्सा दर्ता भएका थिए । तीमध्ये काठमाडौंमा ४ सय ६५ र विराटनगरमा ४ हजार रिक्सा चल्थे । रिक्सा चलाउने मजदुरहरूले गरेको आम्दानीबाट ३० हजार जना पालिने गरेको अनुमान थियो ।

रिक्सा चलाउन स्थानीय निकायले अनुमति पत्र दिन्थ्यो र प्रहरीले दर्ता पनि गर्थ्यो । तराई र भित्री मधेशमा स्थानीय यातायातको बोझ रिक्साले नै धानेको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मे दिवसका दिन रिक्सा खरिद गर्न मजदुरलाई ऋण दिने घोषणासमेत गरेका थिए । 

स्थानीय भन्ने गर्थे, ‘विराटनगर रिक्साले चलेको सहर हो ।’ तर विराटनगर नगरपालिकाका मेयर अशोक कोइराला रिक्सा चालक हुन पनि घुस नखुवाई प्रमाणपत्र नपाइने बताउँछन् । उनका अनुसार अनुमति पत्रका लागि नागरिकता पनि चाहिन्छ । प्रमाणपत्र लिन ८५ रुपैयाँ लाग्छ । तर सबै काम सक्दा ४–५ सय लाग्ने गरेको गुनासो रिक्सा चालकबाट आउने गरेको छ । रिक्सा चलाउन पूर्वी पहाडबाट झरेकाहरू धेरै छन् । 

२०२६ सालमा रिक्सा चलाएकाहरूले त्यतिबेला साहुलाई दैनिक एक रुपैयाँ दिन्थे । तर ५० को दशकमा विराटनगरमा सबैभन्दा धेरै संख्यामा रिक्सा मालिकका रूपमा चिनिएका दीपक खड्काले दैनिक ८ हजार आम्दानी गर्छन् । उनका ४ सय वटा रिक्सा रहेका छन् । भारतीय रिक्सा सीमा क्षेत्र रानीबारीबाट विराटनगर आउन पाउँदैनन् । आएमा २५ रुपैयाँ जरिवाना तिर्नुपर्छ । 

[Archive] Manmohan's trip to Rickshaw City

औद्योगिक क्षेत्र भए पनि विराटनगरमा उद्योगमा काम गर्नेभन्दा रिक्सा चलाउन मन पराउँछन् । किनकि, कारखानामा काम गर्दा पाउने ८–९ सयले परिवार पाल्न कठिन हुने गरेको छ । साहुलाई दैनिक २५ रुपैयाँ दिन्छन् भने दैनिक ६० देखि १ सय रुपैयाँ कमाउँछन् । रिक्सा खरिदका लागि ९ सय रुपैयाँ पर्छ । बिरामी भएका बेला पनि साहुलाई पैसा बुझाउनुपर्ने पीडाले मजदुरलाई सताउने गरेको छ । 

त्यतिबेला रिक्सा सर्वसाधारणदेखि ठूला नेताहरूको समेत सवारी साधन हो । संसदमा तत्कालीन प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्ष मनमोहन अधिकारी रिक्सा चढेर विराटनगर घुमेका थिए । अहिलेको राजनीतिक नेतृत्वको हाइफाइ देख्दा त्यतिबेला मनमोहनले रिक्सा चढेको तस्बिरले सम्भवतः अहिलेका नेतालाई गिज्याएजस्तो हुन्छ । त्यतिबेला निजी सवारी साधनको मालिक हुने मान्छे धेरै कम थिए । 

विराटनगरमा पनि केही पुराना भाडाका ट्याक्सी थिए । तर बजारमा खासै देखिँदैनथे । तीन दशकअघिको विराटनगर, रिक्साको इतिहास, रिक्सा मजदुरको अवस्था र रोजगारीका अवसर एवं नेताहरूको सालिनतालाई समेटेर पत्रकार तारानाथ दाहालले तयार गरेको स्थलगत रिपोर्टिङलाई कान्तिपुरले मनमोहन अधिकारीले रिक्सा चढेको फोटोसहितको फिचर समाचार २०५० जेठ ३ मा भित्री पृष्ठमा प्रकाशन गरेको थियो ।

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully