[अर्काइभ] मदन भण्डारीले रुसी राष्ट्रपतिलाई किन भने माफिया ?

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

[Archive] Why did Madan Bhandari call the Russian president a mafia?

काठमाडौँ — ९० को दशकमा रुस र जर्मनीमा कम्युनिस्ट शासन ढलेको घटनालाई प्रजातन्त्र र खुला समाजको वकालत गर्नेहरूले भाषणको मुख्य विषय बनाउने गरेका थिए । जुन ठाउँमा कम्युनिस्ट नेताहरूको सालिक ढल्यो, त्यहींबाट विश्वभर प्रजातन्त्रको सन्देश गयो भन्ने मान्यता राख्ने गरिन्थ्यो ।

नेपालमा पनि २०४६ को परिवर्तनपछि विशेषतः प्रजातन्त्रवादीको पहिचान बनाएकाहरू (मुख्यतः नेपाली कांग्रेस) ले विश्वमा कम्युनिस्ट गढ ढल्दै गएको भन्दै एमालको आलोचना गर्थ्यो । खासगरी लेलिनको पितृभूमिमा उनको सालिक ढालेको चर्चा विश्वभरि नै हुने गरेको थियो । 

नेपालमा त्यतिबेला नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेलिनवादी)को प्रभाव राम्रो थियो । संसदमा ६९ सिट जितेको थियो भने संगठन विस्तार तीव्र गतिमा गरिएको थियो । 

प्रजातन्त्रको लहर बुझेर एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले कम्युनिस्ट पार्टीलाई बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा गर्ने संगठनका रूपमा स्थापित गराएका थिए । कम्युनिस्ट पार्टीले पनि दलीय प्रतिस्पर्धा गरेर सत्तामा पुग्न सक्छन् भन्ने मान्यता स्थापित गराउन उनले प्रयास गरिरहेका थिए । 

विश्वभर चलेको प्रजातन्त्र र खुला समाजको अवधारणालाई रोक्न नसकिने सोचका साथ उनले एमालेलाई बहुदलीय जनवादको बाटोमा लैजाने सैद्धान्तिक धरातल तयार गराएका थिए । विश्वमा कम्युनिस्ट शासनको मुलुक भनेर चिनिने सोभियत संघ विभाजन भएको अवस्था थियो । कम्युनिस्ट शासनको अन्त्य भएको थियो । त्यसको सन्देशले विश्वका कम्युनिस्ट पार्टीलाई अप्ठेरो बनाएको थियो । यही बुझेर मदन भण्डारीले बहुदलीय जनवादको सिद्धान्तमा पार्टी हिँडाउने निर्णय गराएका थिए । 

यही पृष्ठभूमिमा कार्ल मार्क्सको १ सय ७५ औं जन्मजयन्तीका अवसरमा भारतको पश्चिम बंगालमा त्रि–दिवसीय अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरिएको थियो । भारतको पश्चिम बंगालको मार्क्सवादी कम्युनिस्ट पार्टीले आयोजना गरेको कार्यक्रममा नेपालबाट एमाले महासचिव भण्डारीले नेपालका तर्फबाट विश्व परिवेशमा मार्क्सवादको सान्दर्भिकता विषय कार्यपत्र पेस गरेका थिए । कार्यक्रममा उनले बहुदलीय जनताको बहुदलीय प्रजातन्त्रको माध्यमबाट मार्क्सवादको व्याख्या गरेका थिए ।

[Archive] Why did Madan Bhandari call the Russian president a mafia?

१९ राष्ट्रबाट २१ पार्टीको प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा साम्यवादी मुलुक रुस र चीनले भाग लिएका थिएनन् । पूर्वी युरोपमा साम्यवादी शासन व्यवस्थाको अवसान र सोभियत संघको विघटनपछि भएको उक्त सेमिनारमा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेलिनवादी) को पनि उपस्थिति थिएन । उक्त पार्टीका नेता विनोद मिश्रले सेमिनारको आलोचना गरेका थिए । भियतमान, उत्तर कोरिया र क्युवाका प्रतिनिधिले समाजवादको व्याख्या गरेका थिए । भियतनाम र क्युवाका प्रतिनिधिले सेमिनारमा प्रस्तुत भएको मार्क्सवादी अवधारणामा फरक मत राखेका थिए ।

१६ वर्षसम्म पश्चिम बंगालमा कार्क्सवादी कम्युनिस्ट पार्टीले शासन चलाएको थियो । त्यसका नेता थिए, ज्योति बसु । मुख्यमन्त्री उनैले चलाएका थिए । विगतमा पेकिङ र मस्कोलाई आदर्श मानेर सञ्चालन भएको नेपाली कम्युनिस्ट पार्टीको साम्यवादी मानसिकताको धरातल कलकत्तासम्म आइपुगेको टिप्पणी नेपालमा हुने गरेको थियो । 

 एमाले पोलिटव्युरो सदस्य माधवकुमार नेपालसहित भण्डारी सेमिनारमा भाग लिन २०५० वैशाख २३ गते पश्चिम बंगाल गएका थिए । उनी फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रुसी राष्ट्रपति बोरिस यल्तसिनलाई माफिया भनेका थिए । उनले भनेका थिए, ‘बोरिस यल्तसिन भनेको माफिया हो, राष्ट्रघाती हो भन्ने कुरा सबैतिरबाट आइरहेको छ ।’ उनी १९९० देखि १९९९ सम्मका लागि रुसको राष्ट्रपतिमा चुनिएका थिए । 

प्रजातन्त्रवादीहरूले यल्तसिनलाई कम्युनिस्ट शासन ढलेपछिको संक्रमणकालीन अवस्थामा रुसलाई सही दिशामा लगेर राजनीतिक र आर्थिक अवस्था सुधार्ने नेताका रूपमा हेर्ने गरेका थिए । तर विश्वका कम्युनिस्ट पार्टीका नेताहरूले भने उनलाई राम्रो मान्दैनथे । उनले जति राम्रो गरे, त्यसभन्दा बढी रुसी साम्यवाद खत्तम पार्न सहयोगी बनेको आरोप लगाउने गरिएको छ । कम्युनिस्ट नेताहरूले उनलाई धोकेबाजको रूपमा हेर्ने गर्छन् । 

यही पृष्ठभूमिलाई आधार बनाएर भण्डारीले यल्तसिनलाई माफियाको संज्ञा दिएको अनुमान गरिएको थियो । भारतमा भएको सेमिनार, मार्क्सवादको व्याख्या र विश्व कम्युनिस्ट परिवेशको वरिपरि रहेर कान्तिपुर दैनिकले महासचिव भण्डारीले बोलेका विषयलाई आधार मानेर २०५० वैशाख २९ गते समाचार प्रकाशन गरेको थियो ।

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully