काठमाडौँ — हेलम्बुको नाम लिने बित्तिकै ४० को दशकसम्म स्याउ पाइने ठाउँका रूपमा बुझिन्थ्यो । हेलम्बु मुलुकभरि नै स्याउ र काठमाडौं नजिकैको ट्रेकिङ रुटले परिचित थियो । बुढापाकाहरू २०४०/४२ सालसम्म हेलम्बुको स्याउ डोकामा बोकेर काठमाडौंको भृकुटीमण्डपको चौरमा बेचेको अहिले पनि सम्झन्छन् ।
अहिले हेलम्बुका गाउँमा यातायात सञ्चालन भए पनि त्यतिबेला सडक बन्ने विषय कल्पनामात्र हुन्थ्यो । त्यसैले स्याउ बेच्न डोकामा बोकेर काठमाडौं लैजाने चलन थियो । किशोरीलाई हेलम्बुका स्याउजस्ता गाला भएको भनेर जिस्क्याउने गरिन्थ्यो ।
शेर्पा समुदायको बसोबास रहेको हेलम्बुमा बास बस्नेहरूका लागि गरिने आतिथ्यताको पनि प्रशंसा हुने गर्थ्यो । हेलम्बुवासीले आफ्नो बारीमा फलेका स्याउ गाडीबाट काठमाडौं लैजान पाए निकै फाइदा हुने बताउने गरेका थिए ।
५० को दशकमा पुग्दा हेलम्बुमा स्याउका बोटहरू सुकेर झिक्रा बनिसकेका थिए । कतिपयले त स्याउका बोटलाई दाउराका रूपमा प्रयोग गरिसकेका थिए । जब ४० देखि ५० को दशकसम्म पुग्दा स्याउका बोट मरेर सकिए, त्यसपछि हेलम्बु स्याउ उत्पादनको थलो हो भन्ने पहिचान पनि हराउँदै गयो ।
मेलम्चीघ्याङ, तार्केघ्याङ र शेर्माथाङका अधिकांश किसानका बारीमा स्याउ लटरम्म फल्थ्यो । त्यतिबेला हेलम्बुको स्याउ उत्पादनमा सहयोग गर्न स्थानीय शेर्माथाङमा सरकारले बागवानी कार्यालय पनि खोलेको थियो । करिव ३० हेक्टर जमिनमा बागवानी सञ्चालन थियो । स्याउको बेर्ना उत्पादन हुन्थ्यो र किसानलाई पनि दिइन्थ्यो । तर जब रोग लागेर स्याउका बोट मर्न थाले, बागवानीका प्राविधिकले पनि रोक्न सकेनन् ।
बागवानीका कर्मचारी हेलम्बुमा कमै बस्ने गर्थे । रोग नियन्त्रण गर्न औषधिको धूलो छरेका थिए । रोगै पत्ता नलागी कर्मचारी आउन छाडेका थिए ।
वि.सं. २०४९ असारमा लाङटाङ राष्ट्रिय निकुञ्जलाई बागवानी हस्तान्तरण गरिएको थियो । फलफूल विकास महाशाखाका तत्कालीन कार्यकारी प्रमुख भैरवराज रेग्मीले हेलम्बु स्याउका लागि उचित स्थान नभएको बताएका थिए ।
३० को दशकदेखि लगातार १५ वर्षसम्म स्याउको उत्पादन राम्रो भए पनि एक्कासि किन यस्तो भयो, त्यसको उत्तर हेलम्बुवासीले अहिलेसम्म पाएका छैनन् । हेलम्बुको स्याउ उत्पादनमा ह्रास आउनुको अर्को कारण जनशक्ति नहुनु पनि हो भन्थे स्थानीय ।
स्याउका नयाँ विरुवा रोप्ने र स्याहार गर्ने जनशक्ति नै नहुनु हो । ५० को दशकमा तार्केघ्याङमा करिब १ सय ८ घर थिए । तीमध्ये ९० घरको दैलोमा ताल्चा झुन्डिएको थियो ।
तार्केघ्याङमा तिब्बतको केरुङबाट आएका लामाले गुम्बा बनाएको भनाइ छ । उक्त गुम्बा अहिले पनि रहेको छ । मान्छेहरू कामको खोजीमा बिस्तारै भारतको काश्मीर, हिमाचल प्रदेश र काठमाडौं जाने क्रम बढ्दो थियो ।
त्यतिबेला काठमाडौंमा गलैंचा उद्योगमा काम पाउने भएकाले किशोरहरू त्यता लाग्ने गरेका थिए । गलैंचा बुन्ने काममा केटाकेटी र किशोरहरू जाने गर्थे । विद्यालय जाने चलन कम भएकाले विद्यालयमा विद्यार्थी कम हुन्थे । हेलम्बुवासी काश्मीर जाने गरेकाले सुरुमा स्याउका विरुवा पनि काश्मीरबाटै ल्याएर रोपेको भनाइ छ ।
स्याउपछि हेलम्बुको मुख्य तरकरी बाली मुला तथा आलु हो । कतिपयलाई खान पुग्दैनथ्यो । त्यसैले काममा गएका हेलम्बुवासी शिशिर ऋतुमा घर फर्कन्थे । ताल्चा लगाएको दैलो खोलेर माकुराको जालो पुछ्थे र बसोबास गर्थे । शिशिर ऋतुमा हेलम्बुमा प्रायः हिउँ पर्ने गर्थ्यो । त्यतिबेला उनीहरू कामका लागि बाहिर गएको भए पनि आउने गर्थे ।
आलु र मुलाबाहेकका खानेकुराका लागि बाहिर काम गरेर ल्याउनुपर्ने परिवार पनि थिए । त्यसैले कामका लागि काश्मीर र हिमाचल प्रदेश जान उनीहरू बाध्य हुन्थे । हेलम्बुको जनजीवन र स्याउको प्रसंग जोडेर पत्रकार नारायण वाग्लेले स्थलगत रिपोर्टका आधारमा लेखेको फिचर समाचार कान्तिपुर दैनिकले २०५० वैशाख २५ गते भित्री पृष्ठमा प्रकाशन गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] Helambu's apple in memory](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/kantipur-archieve-2432025115618-1000x0.png&w=1001&h=0)