काठमाडौँ — सन् १९९० को दशकमा सोभियत संघ, जर्मनीलगायत मुलुकबाट कम्युनिस्ट शासन अन्त्य भएको परिवेशमा विश्वभर उदार अर्थतन्त्रको वकालत बढी नै हुने गरेको थियो । २०४८ जेठमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले पनि उदारीकरणलाई प्राथमिकता दिएको थियो ।
ऊर्जा, गार्मेन्ट, पर्यटनलगायत क्षेत्रमा निजी क्षेत्र भित्र्याउने रणनीतिअनुसार लगानीको वातावरण बनिरहेको अवस्था थियो । तीन दशकपछि नेपालमा निरंकुश शासन ढलेर खुलातन्त्र आएकाले पुँजीवादी मुलुकहरूले आर्थिक नीति र लगानीको वातावरणका विषयलाई गहिरो ढंगले हेरिरहेका थिए ।
२०५० मा नेपालमा अमेरिकी राजदूत जुलिया चाङ ब्लक थिइन् । उनी पहिलो पटक एसियाली मूलकी महिला राजदूत भएर १९८७ मा ४५ वर्षको उमेरमा नेपाल आएकी थिइन् । अमेरिकाले त्यतिबेला उदार अर्थतन्त्र भएको मुलुकलाई सहयोग गरिरहेको थियो । राजदूत ब्लकले काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले विदेशी मुद्रा ल्याउने क्षेत्र गार्मेन्ट, गलैंचा र पर्यटन क्षेत्र भएको बताएकी थिइन् ।
त्यतिबेला नेपाली गलैंचाको बजार विश्वमा फैलिएको थियो । गार्मेन्ट कपडाको बजार पनि उकालो लागेको अवस्था थियो । निर्यात व्यापारमा गलैंचाको हिस्सा ६० प्रतिशत रहेको तथ्यांक सरकारले नै सार्वजनिक गरिरहेको थियो । त्यसैले राजदूत ब्लकले गार्मेन्ट र गलैंचाको चर्चा गरेकी थिइन् ।
नेपाली गलैंचा र गार्मेन्टको बजार अमेरिका पनि थियो । नेपालका मजदुरले हातले बुनेका गलैंचा विदेशीले मन पराउने गर्थे । उनले प्रजातन्त्र प्राप्तिलाई उपलब्धि भने पनि लगानीका लागि उपयुक्त भूमि बन्न नसकेको पनि बताएकी थिइन् । कृपावाद र अनावश्यक सरकारी हस्तक्षेपले निजी क्षेत्र फस्टाउन नसक्ने धारणा उनको थियो । उनले नेपाल मध्य आयको मुलुक बन्न अझै २० वर्ष लाग्ने घोषणा गरेकी थिइन् ।
पञ्चायत ढलेर प्रजातन्त्र प्राप्त भएको दुई वर्ष मात्र बितेको अवस्थामा अमेरिकालगायत खुला अर्थतन्त्र भएका मुलुकले नेपाललाई नजिकबाट हेरिरहेको अवस्थामा मिडटाउन रोटरी क्लबले ‘नेपालमा आर्थिक प्रगतिका सम्भावनाहरू’ विषयक कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा राजदूत ब्लकले बोलेको भाषणलाई कान्तिपुर दैनिकले ‘उदार अर्थव्यवस्था नारा मात्र होइन’ शीर्षक समाचार बनाएर २०५० वैशाख २८ मा पहिलो पृष्ठमा छापेको थियो ।
प्रस्तुति : ऋषिराम पौड्याल
![[Archive] US Says - 'Garments, Carpets and Tourism Main Sources of Foreign Exchange Earnings'](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5-baje-2532025113925-1000x0.jpg&w=1001&h=0)