काठमाडौँ — उतिबेला अर्थात् ५० को दशकमा किसानले उत्पादन गरेको उखु बिक्री हुन नसक्दा भारत निकासी गरिन्थ्यो । उखुको परिमाण धेरै भएर होइन, नेपालमा चिनी उत्पादनका लागि निरन्तर लोडसेडिङ र मेसिनको उत्पादन क्षमता कम भएका कारण नेपाली किसानले उत्पादन गरेको सबै उखु बिक्री हुने अवस्था थिएन ।
उत्पादन क्षमता कम भएपछि किसानले दैनिक १५ देखि २० ट्रक उखु भारत पठाउनुपर्ने बाध्यता थियो । चिनी मिलहरूले सुनसरी र मोरङका किसानलाई ठूलो परिमाणमा उखु उत्पादन गर्न सल्लाह दिन्थे । तर तिनै मिलहरू नै सुचारु हुन नसक्दा नेपाली किसान भारतीय बजारको भर पर्न बाध्य भएका थिए ।
लोडसेडिङले २४ सै घण्टा मेसिन चलाउन नसकिने र उत्पादन क्षमता पनि कम हुने समस्या २०३६ सालपछि ०४९ मा पहिलो पटक भएको उखु किसानले बताउने गरेका थिए । अहिलेको समस्या उहिले पनि थियो किनकी भारतमा बेचेको उखुको पैसा कहिले पाउने हो यकिन थिएन । भारतीय चिनी मिलले त्यतिबेला प्रति क्विन्टल ६६ रुपैयाँमा उखु लिने गर्थे । केही समयअघि ६३ रुपैयाँमा लिने गरेका थिए ।
किसानको खेतमा उखुको परिमाण ठूलो थियो । तर सबै उखु बिक्री हुने अवस्था थिएन । मोरङ मिलले लिएको उखु भारत पठाउने गरिएको थियो । मोरङ मिलले उखु लिए पनि चिनी उत्पादन पर्याप्त गर्न नसक्दा ठूलो समस्या भएको थियो ।
सुगर मिलले जसको उखु पहिले किन्छन्, तिनै भारत लैजाने भएकाले किसानले उखु बिक्रीका लागि होडबाजी गर्नुपर्ने अवस्था थियो । स्थानीय सुगर मिलले गत वर्षहरूको मागलाई हेरेर उखुको उत्पादन बढाउन भनेका थिए । तर बिजुलीको अभाव र उत्पादन क्षमता कम भएको मेसिनका कारण उखुको बिक्रीमा ठूलो समस्या परेको थियो ।
त्यतिबेलाका जलस्रोत राज्यमन्त्री लक्ष्मण घिमिरेले लोडसेडिङ बढाउनुको विकल्प नभएको बताउने गरेका थिए । खासगरी त्यतिबेला मुलुकको सबैभन्दा ठूलो कुलेखानीको उत्पादन घटाउने मनस्थितिमा सरकार नै पुगेको थियो । लोडसेडिङको मारमा परेका किसानलाई वर्गीकरण गरेर सोही आधारमा किसानको उखुको परिणाम तोक्ने र भारत पठाउने गरिएको थियो ।
मुलुकमा बिजुलीको उत्पादन नहुनु र सुगर मिलहरूले पर्याप्त उत्पादन गर्न नसक्दा उखु किसनालाई परेको मर्काका विषयमा कान्तिपुर दैनिकले २०४९ चैत ७ गते भित्री पृष्ठमा ‘मोरङको उखुले पूर्णियामा चिनी बनाउँछ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] That time when Nepal sugarcane was exported to India](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ac-cover2-1232025124832-1000x0.jpg&w=1001&h=0)