काठमाडौंमा उत्पादित मिथेन ग्यास तीन दशक पहिल्यै प्रयोगमा ल्याइएको थियो !

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

Methane gas produced in Kathmandu was brought into use three decades ago!

काठमाडौँ — तीन दशकअघि नै काठमाडौं उपत्यकामा उत्पादित ज्वलनशील मिथेन ग्यास सरकारी कार्यालयमा प्रयोगमा ल्याइएको भन्ने सुन्दा हामीलाई पत्यार नलाग्न सक्छ । पत्यार पनि कसरी लाग्ने ? यदि त्यस्तो हो भने यति लामो समयसम्म उपत्यकामै ग्यास उत्पादनको योजना किन बन्न सकेको छैन ।

ग्यास उत्पादनका लागि गहिरो अध्ययन र योजनाबद्ध रूपमा काम हुन नसक्दा अहिले पनि उपत्यकाका ठाउँठाउँबाट ग्यास निस्केको र बलेको खबर सुनिरहेका छौं । कतिपय घटना प्रत्यक्ष देखिरहेका छौं । त्यसको ज्वलन्त उदाहरण फागुन २० गते ललितपुरको महालक्ष्मी नगरपाािलका–५ शान्तिटोलमा बोरिङ निर्माणका क्रममा निस्केको ग्यास हो । त्यस्तै ग्यास २०७९ साउनमा जोरपाटीमा पानीको लेदोसहित निस्केको थियो । 

८ वर्षअघि भक्तपुरमा डिप बोरिङका क्रममा ग्यास निस्केर आगलागी भएको थियो । त्यसैले उपत्यकामा ग्यास निस्केपनि उपत्यकामा यो पहिलो र नौलो घटना होइन, यसको इतिहास लामो छ । 

सन् १९७८ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र खानी तथा भूगर्भ विभागको टोलीले काठमाडौं उपत्यकाको प्राकृति ग्यासका बारेमा अध्ययन गरेको थियो । २०४९ सालमा अहिले ग्यास निस्केको टीकाथली क्षेत्रमा कुवा खनेर ग्यासको परीक्षण गरिएको थियो । उपत्यकामा ग्यासको अध्ययन भएको झण्डै आधा शताब्दी बित्न लागेको छ भने परीक्षण गरेको ३२ वर्ष भएको छ ।

Methane gas produced in Kathmandu was brought into use three decades ago!

२०४९ सालमा ग्यास उत्पादन गर्न सकिने यकिन भएर निजी क्षेत्रको खोजी भएको थियो । त्यसबेला नै ग्यास उत्पादनको जिम्मेवारी निजी क्षेत्रलाई दिन निर्देशिका आवश्यक महसुस गरिएको थियो । सरकारले त्यतिबेला नै ११ स्थानबाट ग्यास उत्पादन हुन सक्ने भनेको थियो । 

खानी विभागका तत्कालीन भूगर्भशास्त्री रमेशकुमार अर्यालले खानीलाई निजी क्षेत्रलाई हस्तान्तरण गर्ने नीतिअनुसार काम भइरहेको बताएका थिए । त्यतिबेला नै त्रिपुरेश्वर, टेकु, पचली, कोटेश्वर, तीनकुने, शंखमूललगायतका स्थानमा ग्यास निकाल्न परीक्षण गरिएको थियो । 

मिथेन ग्यास उत्पादनको सम्भावनाको अध्ययनका क्रममा निजी क्षेत्र भित्र्याउन छलफल प्रारम्भ गरिएको थियो । तीनकुनेमा मात्र १७ करोड क्युविक मिटरको भण्डार रहेको अनुमान गरिएको थियो । 

विभागले ‘काठमाडौं ग्यास आयोजना’ को थालनी गरेर ४० को दशकदेखि नै ग्यास उत्खनन थालेको थियो । विभागको अध्ययनमा त्रिपुरेश्वरदेखि शंखमूलसम्म २६ किमि वर्ग किमिभित्र ३० करोड क्युविक मिटर ग्यास रहेको अनुमान रहेको थियो । केही स्थानबाट उत्पादित ग्यास, टेकु अस्पताल, घरेलु विभाग साबिक दूरसञ्चार स्थानलाई निःशुल्क वितरण गरिँदै आएको थियो । 

यो ग्यास सिलिन्डरमा भरेर वितरण गर्न सकिँदैन । ठूलो लगानी गरेर प्रविधिको प्रयोग गरेमा पाइपबाट घरघरमा लैजान सकिन्छ । तीन दशकअघि दैनिक सयदेखि डेढ सय क्युविक मिटर ग्यास वितरण गरिएको भूगर्भ विभागको रेकर्डमा रहेको छ । अहिले १४ स्थानमा मिथेन ग्यास उत्पादन हुन सक्ने सम्भावित स्थानलाई सुरक्षित राखिएको छ । यद्यपि, सरकारले मिथेन ग्यासको उत्पादन र प्रयोगका विषयमा चासो दिएको छैन ।

भूगर्भविद्हरूका अनुसार यो ग्यासलाई व्यवस्थित गरे प्रयोगमा ल्याउन सकिन्छ । ग्यासलाई पाइप लगाएर भन्सामा लैजाने सिस्टम बनाउन सकिने भूगर्भ विभागका अधिकारीहरू बताउँछन् । एक अध्ययन अनुसार उपत्यकाममा ५० हजार परिवारलाई ३० वर्षलाई पुग्ने ग्यास रहेको भनिएको थियो ।

तर अहिले ग्यास निस्कने स्थान सुरक्षित गर्ने बाहेक थप अध्ययन पनि भएको छैन । उक्त विषयलाई २०४९ चैत ३ गतेको कान्तिपुर दैनिकमा पत्रकार प्रतीक भण्डारीको बाइलाइनमा ‘नेपालमा उत्पादित ग्यास अब निजी क्षेत्रमा’ भन्ने शीर्षकमा प्रकाशित भएको थियो । 

प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully