काठमाडौँ — केही साताको अन्तरमा मेलम्चीको खानेपानीको पाइप फुटेर सडक नै जलमग्न भएका घटना देखिरहेको काठमाडौंमा तीन दशकअघि खानेपानीको चरम हाहाकार थियो । खानेपानीको समस्या काठमाडौंका निम्ति कति पुरानो हो भन्ने कुरा खोज्न ३२ वर्षअघिको एउटा समाचारको विवरण काफी छ ।
३२ वर्षअघि अर्थात् २०४९ चैत २ मा कान्तिपुरमा छापिएको समाचार त्यतिबेलाको काकाकुल बुझाउन काफी छ । यो समाचारमा काठमाडौं उपत्याकामा पानीको समस्या विकराल बन्दै गएको पृष्ठभूमि समेटिएको छ अनि ढुंगेधारा सुक्दै जान थालेपछि समस्या महामारी बन्ने आकलन गरिएको छ ।
त्यतिबेला सुख्खा मौसमका कारण ढुंगेधाराको पानी पनि सुक्न थालेपछि राजधानीवासी चौबीसै घण्टा गाग्री बोकेर भौंतारिनुपर्ने अवस्थामा पुगेको विवरण समाचारमा समेटिएको छ ।
त्यतिबेला प्रतिनिधि सभाका तत्कालीन सभामुख दमननाथ ढुंगानाको घर भएको गौशाला क्षेत्रमा नै पानीको हाहाकार मच्चिएको रहेछ । समाचारमा लेखिएको छ, उपत्यकामा पानीको कमीको तल्लो दर्जाको उदाहरण गएको चार दिनदेखि गौशाला र वरिपरिका क्षेत्रका धाराहरूमा एकथोपा पानी नआउनुले दिएको छ ।
पानीको चरम समस्याकै कारण कलेज पढ्ने विद्यार्थी र गृहिणीहरू पानीका लागि ढुंगेधारामा १३ घण्टासम्म लाइन बस्ने गरेका रहेछन् । अनि यही मौकामा गाग्री, जर्किन र बाल्टिन चोरहरूको बिगबिगी बढेको पनि समाचारमा उल्लेख गरिएको छ ।
पानीको चर्को समस्या झेलेपछि स्थानीयहरूले खानेपानी संस्थानले पानी नदिएर शुल्क मात्र चर्को लिने गरेको गुनासो गरेका रहेछन् । पानीकै लागि स्कुल र क्याम्पस छोडी दिनभर पानी भर्न पालो पर्खिन यस क्षेत्रका विधार्थीहरू विवश देखिएका छन् भनेर समाचारमा लेखिएको छ ।
पञ्चायती व्यवस्थाको अन्त्य भएको दुई वर्ष बितेको थियो । नयाँ सरकारले पनि राजधानीको खानेपानी व्यवस्थापन कसरी गर्ने भनेर योजना बनाउन सकेको थिएन । काठमाडौंमा पानीको हाहाकारले पनि मेलम्चीको चर्चालाई थप बल पुर्याइरहेको थियो ।
खानेपानीको समस्या स्थानीयको जनजीवनमा कति चर्को परिरहेको थियो भनेर बुझ्न समाचारमा प्रयुक्त एक स्थानीयको भनाइ काफी छ । एक गृहिणीले भनेकी छिन, ‘यही पाराले हामीलाई खानेपानी संस्थानले प्यासमा तड्पाइतड्पाइ राख्यो भने हामी संस्थानको कार्यालयमा धर्ना बस्छौं ।’
खानेपानीको यो हाहाकारको समाचार कान्तिपुरको भित्री पृष्ठमा प्रकाशित भएको थियो । जसमा गाग्री र रित्ता भाडा लिएर गौशाला क्षेत्रमा बसेका सर्वसाधारणको लाइनसहितको तस्बिर पनि प्रकाशित छ ।
प्रस्तुति : ऋषिराम पौड्याल
