बाइरोडको बाटोमा धूलो उडाउँदै

फाल्गुन २१, २०८१

कान्तिपुर संवाददाता

Blowing up dust on the way to the byroad

काठमाडौँ — ‘ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धूलो उडाउँदै ।’ लोक गायक हिरण्य भोजपुरे र पाण्डव सुनुवारले गाएको यो गीतको बोल अहिले पनि त्यत्तिकै कर्णप्रिय छ । मुलुकको पहिलो राजमार्ग त्रिभुवन राजपथ अर्थात् ‘बाइरोड’ सडकको नाममा यो गीत रचना गरिएको थियो ।

बाइरोड राजधानी काठमाडौंलाई तराईसँग जोड्ने मुलुककै पहिलो सडक हो । कतिपयले यो सडकलाई भारतले आफ्नो सामरिक रणनीतिअनुसार बनाइदिएको चर्चा पनि गर्छन् । सडकको बाटो भएर जान्छु भन्नुको बदला ‘बाइरोड’ जान्छु भन्ने अंग्रेजी शब्दको प्रयोगबाट सर्वसाधारणले बाइरोड भनेर बुझ्न थालेको भनाइ छ । अहिले पनि कतिपयले त्रिभुवन राजपथभन्दा पनि बाइरोडको नामबाट सडकको पहिचान गरेको पाइन्छ । 

सर्वसाधारणले पनि बिस्तारै बाइरोड भन्ने शब्द प्रयोग गर्न थालेका थिए । सर्वसाधारणको जनजिब्रोमा त्यही शब्दले निरन्तरता पाउँदा पाउँदै सडकको नाम पनि ‘बाइरोड’ भएको बुझाइ छ । अहिले पनि त्रिभुवन राजपथको सट्टा ‘बाइरोड’ भनेको सुनिन्छ ।

तीसको दशकमा निर्माण सुरु भएको मुग्लिन–नारायणघाट सडक सञ्चालनमा नआएसम्म त्रिभुवन राजपथ नै भारत जोड्ने यातायातको मुख्य मार्ग थियो । जाताततै सडक सञ्जाल फिँजिएकाले बाइरोडको प्रयोग भने ४० को दशकदेखि नै कम हुँदै गएको थियो । भारतीय सहयोगमा २००८ सालमा सर्वेक्षण गरेर २०१० मा उद्घाटन भएको त्रिभुवन राजपथमा २०१५ सालदेखि सर्वसाधारणका लागि यात्रु बस सञ्चालन भएको थियो ।

Blowing up dust on the way to the byroad

२००९ सालमा चन्द्रागिरी क्षेत्रबाट निर्माण सुरु गरेको त्रिभुवन राजपथ त्यतिबेला काठमाडौं आउजाउ गर्ने एकमात्र मार्ग थियो । राजपथ बनाउन भारतीय मात्र होइन, नेपाली सेना पनि सहभागी थियो । भारतबाट व्यापारिक सामान आयात गर्ने मुख्य सडक यही थियो । २००७ सालको परिवर्तनपछि २००८ असार २ गते भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु नेपाल भ्रमणमा आएका बेला उक्त सडक बनाउन दिएको आश्वासन कार्यान्वयनको क्रममा बाइरोड बनेको हो । 

 २०१६ असारबाट नेपाल ट्रान्सपोर्ट सर्भिसको नाममा काठमाडौंबाट अमलेखगन्जसम्म नियमित बस सेवा सञ्चालन भएको थियो । मुग्लिन–नारायणघाट सडक सञ्चालनमा आएपछि त्रिभुवन राजपथको महत्त्व घट्दै गयो ।

सधैं गाडीको चाप हुने राजमार्ग सुनसान हुन थालेपछि उक्त राजपथमा २०४० को दशकमा सर्वसाधारणका लागि साझा यातायातले बस सञ्चालनमा ल्याएको थियो । यसअघि यात्रु बसभन्दा पनि ढुवानीका साधन बढी चल्थे । बाइरोडमा यात्रुवाहकका रूपमा साझा बस मात्र थियो । ढुवानीका साधन (ट्रक) अत्यन्तै कम चल्थे । मुग्लिन सडक बनेपछि ढुवानीका साधन फाट्टफुट्ट चल्न थाले ।

तराई आउजाउ गर्न सडक छोटो भएपछि साँघुरो र घुम्ती भएकाले सामान बोकेका सवारी साधनका लागि उपयुक्त थिएन । काठमाडौंबाट जाने र उताबाट आउने दैनिक सीमित संख्यामा चल्ने साझा बस स्थानीय यात्रुका लागि सहज थिएनन् । काठमाडौं आउजाउ गर्नेले सिट भरिन्थ्यो । साझा बसले स्थानीयलाई चढाउन चाहँदैनथे । ट्रक र यात्रु बस सञ्चालन नभएपछि स्थानीयलाई आउजाउ गर्न निकै कठिनाइ परेको थियो । 

खासगरी नौविसेबाट टिस्टुङ पालुङ, दामन, भैंसे हुँदै हेटौंडासम्मका सर्वसाधारणलाई निकै समस्या थियो । दैनिक चल्ने साझा बसमा सिट पाउने त कुरै छाडौं, उभिने ठाउँसमेत हुँदैनथ्यो । ट्रक सञ्चालन हुँदा कतिपय यात्रु त्यसमै यात्रा गरेर हेटौंडा–काठमाडौं ओहोरदोहोर गर्थे ।

घुम्ती नै घुम्ती भएको ‘बाइरोड’ सडकमा एउटै सवारी साधनमा धेरै यात्रु चढेर यात्रा गर्नु त्यत्तिकै कठिन थियो । ५० को दशकताका यात्रुले पाएको दुःखका विषय समेटेर कान्तिपुर दैनिकले २०४९ फागुन २९ गते ‘त्रिभुवन राजपथमा ट्रकसमेत देख्न मुस्किल’ शीर्षकमा यो समाचार प्रकाशित गरेको थियो । 

 प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully