गणेशमान सिंहको त्यो भाषण : प्रजातन्त्र गुम्यो भने फेरि दास भएर बस्नुपर्छ

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

That speech of Ganeshman Singh: If democracy is lost, we have to live as slaves again

काठमाडौँ — मुख्य राजनीति दलहरूबीच बेलाबखत देखिने तिक्ततापूर्ण सम्बन्ध अचेल प्रत्येक दिन भाषणहरूमार्फत प्रकट भइरहन्छ । कतिपय भाषणमा त शीर्ष नेताहरू सामान्य मर्यादासमेत बिर्सेर गाली-गलौजमै उत्रिरहेझैं प्रतीत हुन्छ ।

विगततिर फर्केर हेर्ने हो भने पनि मुख्य दलहरूबीच विभिन्न विषयमा मतभेद र विवाद  भएको देखिन्छ । तर यस्तो विवाद जति चर्किए पनि शीर्ष नेताहरूले मर्यादाको एउटा रेखा भने कोरेझैं देखिन्छ ।

२०४९ फागुन २५ मा कान्तिपुरमा प्रजातन्त्र जोगाउने जिम्मा जनतामै शीर्षकमा कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको तस्बिरसहित समाचार प्रकाशित भएको छ । प्रजातन्त्र स्थापना भएको दुई वर्ष नबित्दै गणेशमानले २०४९ फागुन २४ गते आफ्नै आभिनन्दमा वीरगन्जमा आयोजित कार्यक्रममा यस्तो धारणा राखेका थिए । उनले भनेका थिए, ‘जनताले प्रजातन्त्र रक्षाका लागि सुम्पेको जिम्मेवारी मैले पूरा गर्न सकिनँ, म त्यो जिम्मेवारी जनतालाई नै फर्काउँछु ।’

गणेशमान यस्तो भन्नुपर्ने अवस्थामा किन पुगे त ? उनले किन जनआन्दोलन २०४६ का मुख्य सहयात्री कांग्रेस र कम्युनिस्टबाटै प्रजातन्त्र खतरामा परेको भन्दै असन्तुष्टि जाहेर गरे ?

यी दुवै प्रश्नको उत्तर बुझ्न प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको टनकपुर सन्धि र त्यसपछि उत्पन्न राजनीति मतभेदको पृष्ठभूमि पनि जान्न जरुरी ५ । २०४८ को संसदीय निर्वाचनबाट कांग्रेस संसदीय दलका नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएदेखि नै गणेशमानको असन्तुष्टि सार्वजनिक हुँदै आएको थियो ।

That speech of Ganeshman Singh: If democracy is lost, we have to live as slaves again

सतहमा नदेखिएको तर भित्री रूपमा असन्तुष्टिको वीजारोपण सरकार सञ्चालन र राजनीतिक नियुक्तिका विषयमा थियो । नागरिकले महसुस गर्ने गरी सत्ता र प्रतिपक्षी दलहरूले सतहमा देखाएका गतिविधिप्रति पनि उनी सहमत थिएनन् ।

उनी प्रधानमन्त्री गिरिजाप्रसादको सरकार सञ्चालनको शैली र संसद्‍मा प्रमुख प्रतिपक्षी दल एमालेसहित वामपन्थी दलहरूले सडक र संसद‍्मा निर्वाह गरेको भूमिकाप्रति बढी असन्तुष्ट थिए । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणमा एमालेले गरेको विरोध, टनकपुर सम्झौताजस्ता विषयमा संसद‍्मा रहेका कम्युनिस्ट पार्टीले सही भूमिका निर्वाह नगरेको बुझाइ उनमा थियो ।

यही पृष्ठभूमिमा २०४९ फागुन २४ मा वीरगन्ज नगरपालिकाले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले जनआन्दोलनका दुई शक्ति कांग्रेस र कम्युनिस्टबाटै प्रजातन्त्र खतरामा परेको बताएका हुन् । खासगरी वामपन्थीहरूले प्रधानमन्त्री गिरिजप्रसादलाई संसद‍्मा बोल्न नदिनु र टनकपुरसम्बन्धी कतिपय विषयमा अनावश्यक विरोध गर्नु गलत भएको धारणा उनको थियो ।

That speech of Ganeshman Singh: If democracy is lost, we have to live as slaves again२०४९ फागुन २५ मा कान्तिपुरमा प्रकाशित समाचार ।  

प्रजातन्त्रका लागि लडेको वामपन्थी शक्तिले यदुवंशको जस्तो व्यवहार गरेको र आफ्नै पार्टी कांग्रेसले पनि प्रजातन्त्र बलियो बनाउने काम नगरेको उनको दाबी थियो । प्रजातन्त्र गुम्यो भने फेरि दास भएर बस्नुपर्ने चेतावनी पनि उनले त्यसै सन्दर्भमा दिएका थिए । उनले आफ्नो सल्लाह कांग्रेसले समेत नमानेको बताएका थिए ।

गणेशमानले भनेका थिए, ‘राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्तितर्फ लैजानुपर्छ ।’ उनले आर्थिक क्रान्ति विद्युत् उत्पादनबाट गर्न सकिने धारणा पनि अघि सारेका थिए । त्यतिबेला उनले भनेका थिए,‘ देशबाट त्यसै बगिरहेको पानीबाट मित्रराष्ट्रको सहयोगमा विद्युत् उत्पादन गर्न सकियो भने मुलुकमा आर्थिक क्रान्ति हुनेछ र देशले सम्पन्नता हासिल गर्नेछ ।’

एमालेले अरुण तेस्रो आयोजनाको विरोध गरेको पृष्ठभूमिमा उनले विद्युत् उत्पादनबाट समृद्धि हासिल गर्न सकिने र छिमेकी देशको सहयोग लिन सकिने बताएका हुन् । त्यतिबेला वामपन्थी दलहरूले भारतलाई विस्तारवादी भन्दै पाइलपाइलामा चर्को विरोध गर्थे । तर अहिले त्यही अरुण भारतीय कम्पनीले निर्माण गरिरहेको छ ।

गणेशमानले ३२ वर्षअघि विद्युत‍्बाट आर्थिक क्रान्ति गर्न सकिने धारणा अघि सारेका थिए । अहिले पनि विद्युत् उत्पादनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने चर्चा सेलाएको छैन । विद्युत् उत्पादनबाट मात्रै मुलुकको आर्थिक सम्पन्नता हुने बुझाइ स्थापित भएको लामो समयसम्म पनि मुलुकमा पर्याप्त विद्युत् उत्पादन भने हुन सकेको छैन ।

प्रस्तुति : ऋषिराम पौड्याल

 

कान्तिपुर अर्काइभ

कान्तिपुर

Link copied successfully