देवरत्नले कुकुर भुकाएको १९ वर्ष ! 

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

19 years of Devaratna's dog barking!

काठमाडौँ — पहिले उनी हरेक घरको मूल ढोकामा टाँसेको कुकुरदेखि सावधान लेखिएको सूचना नियाल्दै आएका थिए । भित्रबाट घरमालिकले देखे भने ऊ ‘मिटरे’ आयो भन्दै हेपेर बोल्थे । बोलेर मात्र त केही हुँदैनथ्यो, उनीहरूले पालेको कुकुर भुक्दै आउँछ र कहिले त टोकी पनि हाल्छ ।

१९ वर्षको अवधिमा देवरन्त बज्राचार्यले काठमाडौंका धनाढ्यहरूको ढोकामा उभिएर धेरै कुकुर भुकाए । उनलाई आठपटक कुकुरले टोकिसकेको छ । अर्का मिटर रिडर बाबुराम भट्टराईलाई कुकुरले ६ पटक टोकिसकेको छ ।

बज्रचार्य र भट्टराई मात्र होइन, त्यतिबेला काठमाडौं उपत्यकाका बिजुली र खानेपानीको ‘मिटर रिडर’ २ सय २५ जना कुकुरको त्रासमा घर–घरमा ‘मिटर रिडिङ’ गरिरहेका थिए । सहरका खानदानी घरमालिकको भाषामा उनीहरूको नाम ‘मिटरे’ हो ।

मिटर रिडरमध्ये एक जनाले त कुकुरले टोकेर रेबिज भएका कारण दीर्घरोगी भएको बताएका थिए । कुनै घरको कुकुरे खेद्ने र कपडा च्यातिदिने गर्थ्यो । कहिले कुकुरले झम्टेपछि शौचालयमा लुकेको अनुभव मिटर रिडरहरूले सुनाउने गर्थे । अहिले जस्तो डिजिटल सिस्टम नभएकाले मिटर रिडिङ गरेको पास बुकमा लेखेर घरमालिकलाई बुझाउनु पर्थ्यो । 

 घर–घरमा टोक्ने कुकुर पालेर मिटर रिडरलाई टोकाउने गरेको गुनासो बढ्दै गएपछि काम लगाउने निकाय विद्युत् प्राधिकरण र खानेपानी संस्थानले भने सामाधानको उपाय निकाल्न सकेको थिएन । कुकुर मालिकहरूले त उल्टै मिटर रिडरलाई दोष दिने गर्थे । एक जना घरमालिकले भनेका थिए, ‘ढोका बन्द गरेको र कुकुर नबाँधेको बहानामा मिटर रिडिङ नै नगरी शुल्कमा जरिवाना लगाइएको छ ।’

एकातिर ग्राहकको हप्की र अर्कातिर आफ्नो कार्यालयले सुरक्षाको उपाय अपनाउन कुनै पनि योजना नबनाएकाले मिटर रिडरहरू दोहोरो मारमा काम गरिरहेका थिए । उनीहरूलाई मिटर रिडिङ गरेबापत अतिरिक्त भत्ता पनि थिएन । उनीहरूलाई रेबिज रोगको खतरा थियो । तर कार्यालयले उपचार खर्च दिएको थिएन र बिमा पनि थिएन । त्यसैले जीविका र जिन्दगीको दोसाँधमा ‘मिटर रिडर’ भन्ने शीर्षकमा कान्तिपुरले २०४९ चैत ३ गते भित्री पृष्ठमा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पत्रकार रघु मैनालीले लेखेका थिए । 

 प्रस्तुति : ऋषिराम पौड्याल

कान्तिपुर

Link copied successfully