माधव नेपाल पार्टी विभाजन गरेर माओवादीसँग मिल्दैहुनुहुन्छ : झलनाथ खनाल

कान्तिपुरसँगको कुराकानीमा खनालले अध्यक्ष माधवकुमार नेपाल कांग्रेसको पूरै प्यादा भएर हिडेको र अहिले आफ्नो असफलतालाई लुकाउनका निम्ति हतार हतारमा एकता गर्ने प्रयत्नहरु भइरहेका टिप्पणी गरेका छन् ।

कार्तिक १३, २०८२

गंगा बीसी

Madhav Nepal is splitting the party and joining the Maoists: Jhalanath Khanal

What you should know

काठमाडौँ — नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव पेश भएको छ । अध्यक्ष माधवकुमार नेपाल निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयसीमा कात्तिक मसान्तभित्र एकता टुंग्याउने पक्षमा छन् ।

माओवादी र समाजवादीबीच राजनीतिक, सैद्धान्तिक विषयमा टुंगो लागिसकेको छ भने पार्टीको नयाँ नाम राख्ने विषयमा सहमति नजिक छन् ।

तर एकीकृत समाजवादीभित्र सम्मानित नेता झलनाथ खनाल भने एकताको विपक्षमा उभिएका छन् । ‘माओवादीसँग पार्टी एकता गरी पार्टीलाई विसर्जन गर्न खोजेको’ भन्दै उनले विरोध गरेका छन् । अध्यक्ष नेपालले माओवादीसँग एकता गरी व्यक्तिगत ‘संरक्षण’ खोजेको, पार्टीको सही नेतृत्व गर्न असफल भएको आरोप लगाउँदै खनालले माओवादीसँग एकता गरी विभाजन ल्याउन खोजेको बताएका छन् । माओवादीसँग पार्टी एकता भएमा यसको विरोधमा रहेका झलनाथ पक्षधरहरु के गर्छन ? अनि उनिहरु यो एकताको विरोधमा  किन उभिएका हुन ? गंगा बीसीले यिनै बिषयको सेरफेरोमा गरेको कुराकानीको सारसंक्षेप:

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको मुख्य प्रस्ताव माओवादीलगायत अन्य दलसँग पार्टी एकता गर्ने भन्ने छ । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनै लागेको हो ?

अब यो एक थरिले चाहिँ एकता टुंग्याउनै खोजिरहेको अवस्था छ । यथार्थमा अहिले जुन देशको परिस्थितिको विकास भइरहेको छ । यो विकसित परिस्थितिको बारेमा हाम्रो पार्टीको नेतृत्वले कुनै ध्यान दिइरहेको अवस्था मैले देखिनँ । पहिलो कुरा त विगत लामो अवधिमा संविधान घोषणा भइसकेपछि जति पनि सरकारहरु बने । ती सरकारहरुले देश र जनताको हितमा ध्यान नै दिन सकेनन् । 

जनताले जुन प्रकारको कुरा चाहेका थिए, मुलुकको सुधारको चाहेका थिए । कृषि क्रान्ति चाहेका थिए होलान् । औद्योगीकरण चाहेका थिए होलान् । व्यापक रुपले रोजगारी सिर्जना गर्न चाहेका थिए । भ्रष्टाचार उन्मुलन गर्न चाहेका थिए । शिक्षा स्वास्थ्यमा व्यापक रुपमा सुधार चाहेका थिए । राष्ट्रियतालाई बलियो बनाऔं भन्ने चाहेका थिए तर जनताको त्यो चाहनालाई पूर्ति गर्ने सरकारै बन्न सकेनन् ।

मुलुकमा निरन्तर भ्रष्टाचार जारी रहृयो । यो वा त्यो नाममा बिचौलियाहरुको खेलमा सरकार बने । त्यसले गर्दा जनता व्यापक रुपले असन्तुष्ट बनेका थिए । सरकारविरुद्ध आक्रोश बढिरहेको थियो । त्यो आक्रोशको एउटा परिणति हो यो जेन–जी आन्दोलन । हेर्नुस् यो आन्तरिक कारण त यही हो । २४ गतेको दिनचाहिँ गलत तत्वहरुले त्यसलाई गलत दिशा दिन खोजेर मुलुकलाई यो अवस्थामा पुर्‍याए । त्यसमा बाहृय शक्तिको पनि विभिन्न ढंगले भूमिका पनि होला । 

तर यो आन्तरिक रुपमा जुन कारण छ, त्यसलाई नपहिल्याइकन, नखोजिकन त्यसलाई निर्क्यौल नगरिकन कुनै पनि पार्टीले नयाँ निर्णय गर्नु गलत हुन्छ । हाम्रो पार्टीलगायत सबै पार्टीहरुले आफ्नो तर्फबाट भएका गल्ती कमजोरी सच्याउनतिर लाग्नुपर्छ । यो बीचमा हाम्रो पार्टीलगायत अरुको पनि नेतृत्व पंक्ति असफल भएको छ । त्यो असफलता उनीहरुले स्वीकार गर्नुपर्छ । यो परिस्थितिमा त्यही नेतृत्व बसेर पार्टीको नेतृत्व गर्न सक्दैन । 

अहिले हाम्रो पार्टीमा पनि त्यही हो । हाम्रो पार्टीको नेतृत्वले पनि चार वर्ष अगाडि एमालेबाट जुन विद्रोह गर्‍यो । त्यो विद्रोह गर्दा जे उद्देश्य राखेको थियो, त्यो एउटा पनि पूरा गर्न सकेन । त्यो कारणले गर्दाखेरि अब अहिलेको अवस्थामा त यो नेतृत्वले काम गर्न सक्ने अवस्थामै छैन । पार्टी नेतृत्व अहिले जे अवस्थामा छ । त्यसलाई पुनर्गठन गर्नुको विकल्प छैन ।

माओवादीसँग छिटो मिलिहाल्नुपर्ने अवस्था कसरी आयो ?

यो अहिले मिलिहाल्नुपर्ने केही पनि आवश्यकता होइन । सबै वामपन्थीहरुकोबीचमा कार्यगत एकता गरेर अगाडि बढ्नु सबभन्दा उपयुक्त अवस्था हो । साझा सवालमा संयुक्त भएर अगाडि बढ्ने, त्यसपछि विस्तारै नीति विचारहरुमा एकरुपता कायम गर्दै जाने, अनि एकता गर्ने हुन सक्थ्यो होला । एउटा प्रक्रियापछि एकता गर्न सकिन्थ्यो । 

तर अहिले नेतृत्वले आफ्नो असफलतालाई लुकाउनका निम्ति हतार हतारमा एकता गर्ने प्रयत्नहरु भइरहेका छन् । यो एकता गर्ने प्रयत्नसँग आम कार्यकर्ताहरु सहमत छैनन् ।

केन्द्रीय कमिटीले एकता गर्ने निर्णय गर्‍यो भने तपाईहरुसँग के विकल्प हुन्छ ?

माधव नेपाल कमरेडले हिजो चार वर्षअघि नेकपा एमालेबाट विद्रोह गर्नुभयो र एउटा अलग पार्टी बनाउनु भयो । अलग समूह बन्यो । अब त्यसलाई चार वर्षपछि आएपछि एकातिर एउटा समूह लिएर उहाँ माओवादीमा जाने अनि अरु हामी असहमत हुनेले अर्को पार्टी बनाउने हुन सक्छ । अर्कोतिर उहाँले चार वर्षसम्म पार्टीलाई दक्षिणीपन्थी बाटोमा हिँडाउने कोसिस गर्नुभयो । 

कांग्रेसको पनि पूरै प्यादा भएर नै हिँड्नुभयो । माओवादीमा विसर्जन हुन खोज्दै हुनुहुन्छ । पार्टीलाई पनि त्यसरी हिँडाउनु भयो । अनि अब अहिले आएर चाहिँ विसर्जनतर्फ जान खोज्दै हुनुहुन्छ । पार्टीलाई लगेर माओवादीमा विसर्जन गर्ने, पार्टी विभाजन गर्नेतिर माधव नेपाल हुनुहुन्छ ।

तपाईँहरु एमालेसँग मिल्न जानुहुन्छ ?

होइन, अहिले माधव नेपालले पार्टीलाई जुन बाटोमा लान खोजिरहनु भएको छ, त्यो अहिले हामी हिड्ने बाटो होइन कमरेड भनेर त्यसो नगरौं भनेका छौं । यो पार्टी रुपान्तरण गरौं अलि बलियो पार्टी बनाऔं । क्रान्तिकारी पार्टी बनाऔं । त्यसपछि एउटा बृहत वामहरुलाई एकताबद्ध बनाउने कोसिस गरौं । त्यो दिशामा जाऔं । वाममोर्चा निर्माण गरौं भनेका छौं । हामी त्यही हिसाबले नै अघि बढ्दैछौं ।

 माओवादीमा अहिले जानुको अर्थ यो पार्टीलाई विसर्जन गर्ने, विलय गर्ने र विभाजन गर्ने हो ।अहिले माओवादीसँग मिल्नु हुन्न भन्नेमा पार्टीमा को–को नेता हुनुहुन्छ ?

माोवादीसँग मिल्नुपर्छ भनेर माधवजीले नेतृत्व गर्नुभएको छ । त्यसको पक्षमा उहाँको समूह छन् । ती सबै समूहको नामै किन लिनुपर्‍यो र ? अहिले तत्कालै माओवादीसँग एकता गर्नुहुँदैन भन्ने पक्षमा म, घनश्याम भुसाललगायत साथीहरु छौं ।

माओवादीसँग एकता गर्दा पार्टी विसर्जन हुन्छ भन्नुको तर्क के हो ?

माओवादीमा अहिले जानुको अर्थ यो पार्टीलाई विसर्जन गर्ने, विलय गर्ने र विभाजन गर्ने हो । माओवादीसँग मिलेर न एमालेबाट विद्राह गर्नुको औचित्य पुष्टि हुन्छ, न पार्टीको अस्तित्व रहन्छ । त्यो केवल नेताको सुरक्षासँग जोडिएको छ ।

उसो भए काभ्रेको जग्गा हिनामिना प्रकरणमा माधव नेपाललाई मुद्दा लागेपछि एकता गर्न हतारिनु भएको हो ?

माओवादीसँग एकता गर्न उहाँको वैचारिक, राजनीतिक, सैद्धान्तिक त्यस्तो महत्त्वपूर्ण केही पनि देख्दिनँ । उहाँलाई यो मुद्दा लाग्यो । अनि पार्टी सञ्चालन पनि सक्नु भएन । पार्टी हाँक्न पनि सक्नु भएन । पार्टी निर्माण गर्न पनि सक्नु भएन । पार्टी विस्तार गर्न पनि सक्नु भएन ।

अनि पार्टी बनाउन नसकिने स्थिति महसुस गरेपछि लगेर कतै बुझाउने उहाँको चाहना देखिन्छ ।

माधव नेपाल माओवादीसँग मिले पनि नेकपा एकीकृत समाजवादी कायम राख्नुहुन्छ ?

हामी जति छौ, आफ्नो ढंगले अघि जान्छौं ।

यसबारे केन्द्रीय कमिटीमा फरक मत राख्नुहुन्छ ?

केन्द्रीय कमिटीमा मेरो फरक दस्तावेज प्रस्तुत गर्छु । पार्टी एकतामा फरक मतलगायत धेरै विषय त्यसमा आउँछन् ।

गंगा

Link copied successfully