पतञ्जलि जग्गा प्रकरण : सूर्यविनायकका मेयर बासुदेव थापा पनि प्रतिवादीको सूचीमा

जेष्ठ २३, २०८२

कान्तिपुर संवाददाता

Patanjali land case: Mayor of Suryavinayak Basudev Thapa is also in the list of defendants

काठमाडौँ — पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाविरुद्द पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर दायर गरेको भ्रष्टाचार मुद्दामा मेयर थापा पनि प्रतिवादी छन् ।

थापाले हदबन्दी छुट जग्गा गैरकानुनी रुपमा पतञ्जलिले किनबेच गरेकामा त्यसपछि थापाले पनि जग्गा किनेका थिए । थापा २०७४ र २०७९ को सथानीय तह निर्वाचनमा भक्तपुर सूर्यविनायक नगरपालिकामा एमालेबाट निर्वाचित भएका हुन् ।

हाल जग्गाधनी रहेका थापाले आफूले साविक साँगा गा.वि.स.वडा नं.४(ख) को कि.नं ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग १ करोड ३० लाख ६६ हजारमा खिद गरेको बयन दिएका छन् ।

'जग्गाधनी श्रेस्ताहरुमा उल्लेखित नाम बासुदेव थापा म नै हो। दोलखा जिल्ला जुगुं बस्ने हाल सुर्यविनायक न.पा. ८ बस्ने डिल्ली ध्वज बराईलीसँग १ करोड ३० लाख ६६ हजारमा १० महिना अगाडि खरिद गरेको हँ, हाल प्रयोगमा छैन, कसैलाई बिक्री वितरण पनि गरेको छैन' भनेर २०८१ कात्तिकमम अख्तियारमा बयान दिएका थिए ।

'मलाई त्यो पतञ्जलीको जग्गा भन्ने थाहा नभएको, मैले डिल्लीध्वज बराईलीसँग किनेको हो। उनी चिनजानको साथी हुन्। निजले के कुन बिधि र प्रक्रियाबाट आफ्नो नाममा कायम गरेको भन्ने मलाई थाहा छैन। मैले वडा कार्यालय, मालपोत कार्यालय मोठ रोक्का हेरी रित पुर्‍याई खरिद गरेको हो। जग्गाको हदबन्दी, मन्त्रिपरिषदको निर्णय कुनै जानकारी छैन' भनी जिकिर गरेका छन् ।

जग्गा जफत प्रयोजनका लागि मेयर थापासहित २८ ब्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाइएको छ । बाँकी ६३ जना भने बिगो, कैद र जरिवाना मागदाबीसहितका प्रतिवादी छन् ।

कान्तिपुर

Link copied successfully