राष्ट्रपतिबाट संसद् विघटनको प्रतिबद्धता कुरेर शीतल निवासभित्रै बसिरहेका छौँ : सुदन गुरुङ

संविधानको धारामा टेकेर जाने कुरा गर्नुभयो । हामी टेकेर नजाने, हामी संसद् विघटनको हाम्रो अडान छ भन्यौँ । हामीले जे भन्यो त्यही गर्नुपर्छ । यो संसद् विघटन गर्नुपर्छ भनेर भनेको हो ।

भाद्र २७, २०८२

हामी नेपाल नामक संस्थामार्फत सामाजिक गतिविधिमा सक्रिय सुदन गुरुङ पछिल्ला केही दिनयता सबैभन्दा धेरै चर्चामा छन् । किनकि उन सहितको नेतृत्वमा भएको जेन-जी प्रर्दशनकै बलमा पुराना दलहरू सत्ताको रिङबाट बाहिर पुगेका छन् भने नेपालको राजनीतिले नयाँ कोर्स लिने प्रक्रियामा छ ।

नेपाली सेनादेखि राष्ट्रपति कार्यालयसम्मका छलफल र वार्तामा सहभागी सुदन गुरुङसँग विकसित पछिल्लो घटनाक्रमका बारेमा कान्तिपुरका कृष्ण आचार्यले गरेको कुराकानीको सम्पादित अंश : 

आज तपाईं दिनभर राष्ट्रपति निवासमा हुनुहुन्छ । त्यहाँ के भइरहेको छ ?

हामीलाई राष्ट्रपति कार्यालयले बिहानै बोलाएको थियो । हामी आइसकेपछि दुई जना कर्मचारीहरू (राष्ट्रपतिका कानुनी सल्लाहकार र सचिव) पठाइदिनु भयो । हामी पारदर्शी तवरबाट कुराकानी गर्न चाहन्छौँ । म मेरो टिमसहित यहाँ आए ।  मलाई यहाँ तपाईंहरूसँग अन्य डिल गर्‍यो भन्ने भयो भने समाजले मलाई गाली गर्छ । त्यसकारण तपाईँहरूको पानीसमेत खान्न भँने । पानी खाएर मलाई पाप लाग्छ भनेर मैले पानी पनि खा'छैन । खाना पनि खाको छैन ।



उहाँहरू दुई जना कर्मचारीलाई राष्ट्रपतिसँग मात्रै वार्ता गर्छौं भनेर पठाइदियौँ । पावर भनेको हामीमा हो तपाईंहरूसँग हैन भनिदिए । त्यही भएर तपाईंहरूले हामीलाई निर्देशन दिने होइन हामीले निर्देशन दिने हो भनेर मैले उहाँहरूलाई गाली गरेर पठाइदिएँ । अब हेरौँ न, उहाँहरूले के उत्तर दिनुहुन्छ ।

उहाँहरूलाई गालीचाहिँ किन गर्नुभएको ? उहाँहरूले केही अनधिकृत खालको प्रस्ताव गर्नु भएर हो ?

हैन हैन । त्यस्तो त भन्नु'भा छैन । संविधानको धारामा टेकेर जाने कुरा गर्नुभयो । हामी टेकेर नजाने, हामी संसद् विघटनको हाम्रो अडान छ भन्यौँ । हामीले जे भन्यो त्यही गर्नुपर्छ । यो संसद् विघटन गर्नुपर्छ भनेर भनेको हो । उहाँहरूले घुमाएर कुरा गर्नुभयो । तपाईंको त्यो नेपाली जनता एक भएपछि त्यो त एउटा पेपरको खोस्टा त हो नि । नेपालको हितमा काम गर्नलाई नेपाली जनता एक भएर नेताहहरू सबैलाई भने,औचित्य छैन । 





राष्ट्रपतिले संविधानसम्मत तवरले अघि बढौँ भन्नुभएको छ । तपाईंहरूले पनि संविधान नै मान्दैनौँ भन्नु भएको छैन । अब यसको कुनै उपाय देख्नु भएको छ ?

म संविधान विज्ञ हैन । यसका लागि हामीहरूले बोल्यो भने गलत हुन जान्छ । कति कुरा हामीले बुझ्दैनौँ । त्यही भएर हामीले चाहिँ २ जना विज्ञ ल्याएर कुराकानी गरिरहेका छौँ । संविधान विज्ञ ओमप्रकाश अर्याल र रमन कर्णले कुराकानी गरिरहनु भएको छ । 





आज राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीबीच कुनै वार्ता छलफल भएको छ ?

छलफल  केही पनि भाको छैन अहिलेसम्म । राष्ट्रपतिका कानुन व्यावसायीले भनेपछि मात्रै सुशीला कार्की यहाँ आउनुहुन्छ  होला । हामी राष्ट्रपतिको कुरा कुरेर बसिरहेका छौँ । उत्तर नआई यहाँबाट निस्किँदा मलाई जनताले मार्छन् । 





तपाईं एक्कासि जेन-जी अभियानबाट उदाउनुभयो । सामाजिक सञ्जालमा एकथरीले तपाईंलाई नेपाली नागरिक होइन भन्ने तहसम्मको टिप्पणी गरिरहेका छन्  यो विषयलाई चाहिँ तपाईंले कसरी हेर्नुभएको छ?

यो सबै पार्टीका भ्रातृ संगठनदेखि साइबर सेनाले सञ्चालन गरेको हो । उनीहरूलाई पचेन नि ! उनीहरूको कति ठाउँमा भ्रष्टाचार गरेको पैसा होला । त्यो पैसा योगदान दिएको होला । अब त्यो सबै एकैचोटि जाने भएपछि मान्छे बौलाउन पर्‍यो नि । हैन कति पैसा तिरेर मेयर बनेका छन्, कति पैसा दिएर मन्त्री बनाइए होला ।  त्यो सबै गएपछि त उहाँ त बौलाउनु परेन । मेरो नागरिकतामा हेर्न सकिन्छ । मेरो गोरखा जिल्ला हो । म नेपाली नागरिक गोर्खाली सुदन गुरुङ हो । मेरो नेपाली नागरिकताको नभएको भए म अहिलेसम्म यहाँ बस्न सक्छु ? मेरो बैंक अकाउन्ट हुन्छ ? कमन सेन्स चलाउनु पर्ला नि त । बेसिक कुरा हो नि त कमन सेन्सको कुरा हो नि त । 





आरजु देउवासँग पनि मलाई जोड्ने गरेका छन् । आफ्नो खुट्टामा आफैंले बन्चरोले हानेका छन् । मेरो कुरा चाहिँ यति मात्र हो हजुर । उनीहरूले त बुझ्नु पर्छ नि त यो जेनेरेसनको लडेको हो भनेर । हामीले देशमा विद्रोह गरे जस्तो गरेर उहाँले विद्रोह गरेर काम गर्नु भएको भए भइहाल्थ्यो । 





तपाईंले नेतृत्व  गर्ने 'हामी नेपाल' भनेको कस्तो संस्था हो ? यसले के गर्छ ?

हामी नेपाल भनेको एउटा युवा संगठन हो । हामीहरू बाढीपहिरोदेखि अनेक विपत्तिमा सहयोगका लागि कुदेका छौँ । हरेक पैसाको हामीले बिलहरू राखेका छौँ । हामी विदेशी फन्डबाट नै चलेका छौँ । मैले खासमा यो एनजीओचाहिँ बाध्यताले लिएर मात्र राखेको हो । खासमा मलाई विद्रोह गर्न मन छ । फेरि मलाई मान्छेलाई सहयोग पनि गर्नु छ । त्यही भएर मात्र यो संस्था दर्ता गरेको हो । मलाई जो सुकैले नि प्रश्न सोध्न सक्नुहुन्छ । एक-एक रुपैयाँको हामीसँग हिसाब छ । 





यो संस्था कहिले स्थापना भएको हो ?, त्यसमा तपाईं कुन भूमिकामा हुनुहुन्छ ? 

म अध्यक्ष हो । ७२ सालको भूकम्पले बौलाएको मान्छे हो म । त्यहाँदेखि चाहिँ मैले देशको सेवा गर्नुपर्छ भनेर खोलेको हो ।


Link copied successfully