जेन-जी आन्दोलनको मौका छोपेर गोदाममा लुटपाट भएको हो ।
काठमाडौं —
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लहान गोदामबाट खाद्यवस्तु र जुटका बोरासहित १० करोड ९१ लाख रुपैयाँ लुटपाट भएको छ । कम्पनीका प्रमुख कार्यकारी निर्देशक रमेश आचार्यका अनुसार लहान गोदामबाट चामल ८ सय १४ टन, चिनी ३ सय २२ टन र ५ टन धान लुटिएको छ ।
त्यस्तै, ९८ हजार ८ सय १५ पिस जुटका बोरा लुटिएको उनले बताए । जेन-जी आन्दोलनको मौका छोपेर गोदाममा लुटपाट भएको हो । ‘रकमको हिसाबमा करिब १० करोड ९१ लाखको लुटपाट भएको छ,’ निर्देशक आचार्यले भने, ‘खाद्यवस्तु र जुटका बोरासँगै कार्यालय, गाडी, मोटरसाइकलमा पनि आगलागी भएको छ ।’
हाल खाद्य कम्पनीको कोशी प्रदेश कार्यालयअन्तर्गत गोदाममा ३ हजार १ सय ७९ टन चामल, मधेश प्रदेशमा ५ हजार १ सय २४ टन चामल, बागमती प्रदेशमा २ हजार ३ सय ८८ टन चामल मौज्दात छ । गण्डकी प्रदेशमा ९ सय ६० टन, लुम्बिनी प्रदेशमा ७ हजार ८ सय ४५ टन, कर्णाली प्रदेशमा ४ हजार ९ सय ९२ टन र सुदुरपश्चिम प्रदेशमा ३ हजार ५ सय ९९ टन चामल मौज्दात रहेको कम्पनीले जनाएको छ ।
