‘अर्थ मन्त्रालय तत्काल काम सुरु गर्न सक्ने अवस्थामा छ’

मुलुकमा लगानी विस्तार, रोजगारीका अवसर सिर्जना र उत्पादन बढाउने काम निजी क्षेत्रबाट हुने भएकाले सबैभन्दा पहिले त्यो क्षेत्रको आत्मविश्वास बढाउनेतर्फ मन्त्रालयको ध्यान केन्द्रित हुन्छ । यसका लागि समाजका सबै सरोकारवालाहरूसँग समन्वय गरेर अघि बढ्नुपर्नेछ ।

भाद्र २७, २०८२

\\\\\\\
यही भदौ २३ र २४ मा भएको जेन-जीको प्रर्दशनको क्रममा सिंहदरबारका धेरै सरकारी कार्यालय आगजनी तथा तोडफोड भएको छ । धेरै कार्यालयहरूमा पूर्ण रूपमा क्षति पुगेको छ भने केहीमा आंशिक । 

मुलुककै अर्थ प्रशासनको नेतृत्व गर्ने अर्थ मन्त्रालयमा पुगेको क्षति,  बजेट, राजस्व र भन्सार प्रणालीको अवस्था, काम सुरु गर्ने समयलगायत विषयमा अर्थ सचिव घनश्याम उपाध्यायसँग कान्तिपुरका यज्ञ बञ्जाडेले गरेको कुराकानीको सम्पादित अंश



प्रर्दशनबाट अर्थ मन्त्रालयमा कति क्षति पुगेको छ ?

अर्थ मन्त्रालयका विभिन्न विभागमध्ये बजेट तथा कार्यक्रम महाशाखामा पूर्ण रूपमा क्षति पुगेको छ । बाँकी विभाग तथा महाशाखामा आंशिक र धेरै सवारी साधन पूर्ण रूपमा क्षति पुगेको छ । भौतिक संरचना तथा कागजात नष्ट भएका छन् । राम्रो पक्ष बजेट प्रणाली, राजस्व प्रणाली र भन्सार प्रणाली सुरक्षित छ ।

बजेट प्रणाली, राजस्व प्रणाली र भन्सार प्रणाली सुरक्षित छन् भन्नुभयो । त्यसो भए अर्थ मन्त्रालय छिट्टै काम सुरु गर्न सक्ने अवस्थामा छ भनेर बुझ्दा हुन्छ ?  

हामी तत्काल काम सुरु गर्न सक्ने अवस्थामा छौँ । बजेट प्रणाली, राजस्व प्रणाली र भन्सार प्रणाली सुरक्षित रहेकाले तत्काल काम सुरु गर्न सक्ने अवस्था छ । आज पनि भन्सार जाँचपासको काम भइरहेको छ । अनलाइनमार्फत कर तिर्न सकिने अवस्था छ ।





सरकारीसँगै निजी भौतिक संरचनामा पनि ठूलो क्षति भएकाले अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ । यस्तो अवस्थामा अर्थ मन्त्रालयले कसरी काम सुरु गर्ने योजना छ ?



झन्डै दुई दर्जन भन्सार र राजस्व कार्यालयहरुमा क्षति भएपनि आजको दिनमा अर्थ मन्त्रालय काम सुरु गर्न सक्ने अवस्थामा  छ । अर्थ मन्त्रालय छिट्टै पूर्ण रूपमा सञ्चालन गरेर अर्थतन्त्रमा आशा र भरोसा जगाउने प्रयास गर्छौं । मूल प्रश्न निजी क्षेत्रमा ठूलो क्षति भएको छ भने उनीहरूको मनोबल उठाउनु छ । त्यसका लागि मन्त्रालय पूर्ण रूपमा अहोरात्र खटेर काम गर्ने छ ।





मुलुकमा लगानी विस्तार, रोजगारीका अवसर सिर्जना र उत्पादन बढाउने काम निजी क्षेत्रबाट हुने भएकाले सबैभन्दा पहिले त्यो क्षेत्रको आत्मविश्वास बढाउनेतर्फ मन्त्रालयको ध्यान केन्द्रित हुन्छ । यसका लागि समाजका सबै सरोकारवालाहरूसँग समन्वय गरेर अघि बढ्नुपर्नेछ ।



भन्सार कार्यालयहरूमा क्षतिको अवस्था कस्तो छ ?

भन्सार विभागका अनुसार मेची भन्सार, भद्रपुर भन्सार, कैलाली भन्सार र जनकपुर भन्सार कार्यालयमा पूर्ण रूपमा क्षति भएको छ । यस्तै, विराटनगर भन्सार, नेपालगञ्ज भन्सार, भैरहवा भन्सार र ठाडी भन्सार कार्यालयमा आंशिक क्षति भएको जानकारी छ । यद्यपिको कति रकमबराबरको क्षति भएको विवरण आइसकेको छैन । बाँकी भन्सार कार्यालयहरूमा आज पनि भन्सार जाँचपासको काम भइरहेको छ ।





आन्तरिक राजस्व कार्यालयहरूमा क्षतिको अवस्था कस्तो छ ?

प्रदर्शनका क्रममा २२ वटा आन्तरिक राजस्व कार्यालयमा तोडफोड तथा आगजनी भएको जानकारी छ । जसअनुसार दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, वुटवल, भैरहवा, नेपालगञ्ज, जनकपुर, सिमरा, हेटौडा, दाङ, धनगढी, डडेलधुरा र पोखरा १८ वटा पूर्ण रूपमा ध्वस्त भएको छ । कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुली आन्तरिक भन्सार कार्यालयहरूमा आंशिक क्षति भएको छ । यसरी क्षति भएका भन्सार तथा आन्तरिक राजस्व कार्यालयहको मूल्यांकन गरेर पुनर्संरचनाको काम गरिनेछ ।





अर्थ मन्त्रालयले कहिलेदेखि काम सुरु गर्छ ?

यही मितिदेखि नै काम गर्छौं भन्ने निश्चित भइसकेको छैन । यद्यपि आजको दिनमा अर्थ प्रशासन पूर्ण रूपमा काम सुरु गर्न सक्ने अवस्थामा छ ।


Link copied successfully