लेखक तथा बालरोग विशेषज्ञ डा. नवराज केसी भन्छन् : ‘अस्पतालमा बिरामी रोग मात्र हैन, ऋण पनि बोकेर गएको हुन्छ। त्यसैले यदि एउटा डाक्टरले मन खोलेर हेर्न चाहन्छ भने ऊ लेखक बन्न सक्छ।’
What you should know
बालरोग विशेषज्ञ डा. नवराज केसी चिकित्सा क्षेत्रसँगै लेखनमा पनि उतिकै सक्रिय छन्। उनको पहिलो पुस्तक ‘शून्यको मूल्य’ (२०७९) लोकप्रिय पनि रह्यो। कर्णालीको समाज र यहाँको मानवीय विकास कसरी आमाहरूको भावनात्मक र मानसिक स्वास्थ्यमा जोडिएको छ भन्ने कथावरपर उक्त पुस्तक केन्द्रित छ।
केसीको नयाँ पुस्तक ‘स्वस्पर्श’ पनि यतिबेला बजारमा आइसकेको छ। उनीसँग स्वास्थ्य र पुस्ता–केन्द्रित पाँच प्रश्नका सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
शून्यको मूल्यले देखाएको कर्णालीको स्वास्थ्य अहिले कस्तो छ?
केही समययता देशको नयाँ परिवेशमा कर्णालीको विकास भइरहेको छ। विश्वव्यापी रूपमा जुन मानक प्रगति भइरहेको छ, त्यति हुन नसके पनि सकारात्मक र सुखद् सुधारका पक्ष देखिइरहेका छन्। पहिला त्यहाँका ओराली–भिरालीहरूमा सिकिस्त बालबालिकाहरूलाई आमाहरूले कोखमा बोकेर हिँड्नुपर्थ्यो। अहिले केही बाटो–घाटो बनेका छन्। एम्बुलेन्सहरू गुड्न थालेका छन्। जिल्ला अस्पतालहरू पनि केही हिसाबले तंग्रिन थालेका छन्। त्यसैले कर्णालीको मानवीय चित्रणमा केही न केही सुधार हुँदैछ।
गरिबी र स्वास्थ्यको सम्बन्धलाई कसरी केलाउनुहुन्छ?
स्वास्थ्य र गरिबी एक–आपसमा जोडिएका छन्। जुन समाजमा गरिबी हुन्छ, त्यहाँ स्वास्थ्यमा राम्रो लगानी गर्न सकिँदैन। मान्छे जब गरिब हुन्छ, उसको खानपिन र बसाइ कमजोर हुन्छ। ऊ झन् बिरामी हुन जान्छ। त्यसैले गरिबी भनेको एक–आपसमा ठोकिएर चक्रमा प्रगतिपथ हुन नदिने भूमरी हो। राज्यले आफ्ना नागरिक बिरामी पर्दा बिरामी मात्र हुन्, उपचारको खर्च गर्दा उनीहरू गरिब हुन नपरोस् भन्ने सोच राख्न अत्यन्तै जरुरी छ।
एउटा लेखक र एउटा डाक्टरबीचको सम्बन्ध के हो?
अस्पताल समाजको अन्तिम पाइला हो। मानिस बिरामी हुँदा, दुःखी हुँदा, आफन्तजना बिरामी हुँदा अस्पताल पुगेको हुन्छ। अस्पतालमा बिरामी रोग मात्र हैन, ऋण पनि बोकेर गएको हुन्छ। त्यसैले यदि एउटा डाक्टरले मन खोलेर हेर्न चाहन्छ भने ऊ लेखक बन्न सक्छ।
एकचोटि मेरो अस्पतालबाहिर अस्पतालका खाली बट्टा बटुलिरहेको एकजना दाजुलाई भेटें। उहाँको नाम मन्दिरे बयलकोटी थियो। उहाँलाई मैले देखेँ र मेरो कोठामा बोलाएँ। आफ्नो परिचयमा उहाँले भन्नुभयो– 'म यी ओखतीका खाली बट्टा खुट्छु, बेच्छु र भात खान्छु।'
मैले पनि उहाँकै शैलीमा जवाफ फर्काएँ– 'म पनि त्यही खाली बट्टाभित्रका ओखती बाँड्छु, तलब बुझ्छु र भात खान्छु। जीवन मेरो पनि चलेकै छ।'
उहाँ मेरो कुरा सुनेर यति जोडले हाँस्नुभयो। मैले देखेँ, उहाँको एउटा हात भारतमा काम गर्ने क्रममा काटिएको रहेछ। बोल्दै गर्दा उहाँले भन्नुभयो– 'यो हात काटिएपछि मैले लामो समय काटिएको हात खोजिरहेँ, पीडामा बाँचिरहेँ। एक दिन मलाई झसङ्ग एउटा ज्ञान फुरेको जस्तो भयो– ओहो! मेरो त दाहिने हात पनि छ नि, खुट्टा पनि छ नि। करेन्ट टाउकोमै लाग्न सक्थ्यो र टाउको नै काटिन सक्थ्यो नि। त्यो दिनदेखि मैले दोब्बर हाँस्ने गर्छु, जति खुसी हुनुपर्थ्यो दोब्बर खुसी हुन्छु।'
मलाई लाग्थ्यो म उहाँलाई केही सहयोग गर्न सक्छु कि भनेर। तर उहाँले उल्टै मलाई सहयोग गरेर जानुभयो। मेरो दोस्रो पुस्तक ‘स्वस्पर्श’ मा उहाँको कथा पनि छ। अस्पताल बाहिर भारी बोक्ने मान्छेको कथा संसारका सबै मानिसलाई तनाव र आत्महत्याको सोच आएको बेला ओखती हुन सक्छ।
तपाईंको नयाँ पुस्तकमा के छ?
मैले जीवनमा धेरै पुस्तक पढ्न पाएँ। पढाइ–लेखाइ सकेर मेरो भाग्यमा अर्को एउटा भाग्य थपियो– खुसी थपियो। मैले आफ्नै गाउँमा जागिर पाएँ। नेपालको दुर्गम भूभागमा घुम्ने बेलामा पुस्तक पढेझैं समाज पढ्ने मौका पाएँ। अब म अगाडिको जीवनमा समाज–उपयोगी पुस्तक लेख्न चाहन्छु। मेरो दोस्रो पुस्तक ‘स्वस्पर्श’ मा तनाव भएर आएका, जीवनबाट छट्पटाएका युवापुस्तालाई सुनाएका कथा छन्। ती कथाहरू जसले आफ्नो जीवनमा आफैंसँग स्वयुद्ध गरेर बिताइरहनुभएकाहरूलाई आफूले आफूलाई कसरी थपथपाउने, आफ्नो गल्तीलाई कसरी अँगाल्ने भन्ने कुरा सिकाउँछन्। ती कथा जसले यो विधिको प्रयोग गरेर सफल भएका छन्।
नयाँ पुस्तालाई कस्ता पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ?
अहिले पृथ्वीमा चार पुस्ता छन्। पहिलो पुस्ता जसले दोस्रो विश्वयुद्धपछि धेरै बच्चाबच्ची जन्माएर हुर्काउनुभयो। धेरै बच्चाबच्ची जन्माएर हुर्काउनेहरूको मस्तिष्क कस्तो हुन्छ होला? धेरै अनुशासन कायम गर्नुपर्ने, आदर्शवादी हुन्छ। उहाँहरूले त्यस्तै खालका पुस्तक पढ्नुभयो र लेख्नुभयो।
दोस्रो पुस्ता हामी, जसलाई ‘मिलेनियल्स’ पनि भन्छौं। हामीले केही समय उहाँहरूसँग र केही समय नयाँ पुस्तासँग बितायौं। अहिलेको नयाँ पुस्ता, जसलाई ‘जेनेरेसन–जेड’ (Gen Z) भन्छौं, उहाँहरूले जन्मेदेखि पृथ्वीमा छिटो–छिटो प्रगति देख्नुभयो। उहाँहरूले डिजिटल प्रगति देख्नुभयो, उहाँहरूको मस्तिष्क त्यस्तै छ। उहाँहरू एउटै जागिरमा जीवन बिताउन चाहनुहुन्न।
उहाँहरूलाई पुरानो जस्तो फर्मल शिक्षा आवश्यक पनि छैन, मन पनि पर्दैन। उहाँहरू कुनै देश र सिमानाभित्र बाँधिन चाहनुहुन्न। त्यसैले नेपाली साहित्यले पनि अब आउने पुस्तालाई न्याय गर्नुपर्छ। नयाँ पुस्तालाई मनोवैज्ञानिक र बौद्ध ज्ञान भएका पुस्तकहरू पढ्न सिफारिस गर्छु।
