‘चिनियाँ साहित्यको नेपाली अनुवाद जरुरी छ’

असार १४, २०८२

कान्तिपुर संवाददाता

”Nepali translation of Chinese literature is necessary”

काठमाडौँ — न्युरोलोजिस्ट डा. सर्वोत्तम श्रेष्ठ कुशल अनुवादक पनि हुन् । उनले चिनियाँ साहित्यलाई नेपालीमा अनुवाद गरेका छन् ।

हालैमात्र उनले अनुवाद गरेको नोबेल विजेता लेखक मो यानका कथाहरू र उपन्यासिका नेपालीमा प्रकाशित भएको छ । यसअघि उनले चिनियाँ समकालीन साहित्यका चारवटा पुस्तक प्रकाशित गरेका छन् । उनै अनुवादक श्रेष्ठसँग इ–कान्तिपुरको नियमित स्तम्भ पाँच प्रश्नका लागि गरिएका कुराकानी :  

तपाईंले पछिल्लो समय पढ्नुभएको पुस्तक ?

मैले चिनियाँ भाषाको साहित्य अनुवाद गरेको हुनाले धेरैजसो चिनियाँ साहित्य मात्र पढिरहेको हुन्छु । पछिल्लो समय साइन्स फिक्सन ‘थ्री बडिज्’ पढेको थिएँ । त्यो पनि अनुवादकै लागि पढेको थिएँ । हालै दुई महिनाअघि ‘सानी चरीको गीत’ परिकथासंग्रह पढेको थिएँ । यो पनि चिनियाँ लेखकको हो ।

यसको उद्देश्य पनि नेपाली अनुवादका लागि थियो । ‘थ्री बडिज्‌’लाई नेपालीमा ‘तीन वस्तु’ भनेर अनुवाद गरेको छु । पहिले साइन्स फिक्सनमा चिनियाँ लेखकहरू त्यति पोख्त छैनन् भनिन्थ्यो । यो पुस्तकले त्यो परिस्थितिलाई परिवर्तन गरिदिएको छ । यो फिक्सन अंग्रेजीलगायत धेरै भाषामा अनुदित भएर विश्व बजारमा छाएको छ ।

भनिन्छ, सन् १९४९ देखि ७० वर्षमा जति पनि चिनियाँ साहित्य विदेशी भाषामा अनुवाद भए, त्यो सबै संख्या जोड्दा पनि एउटा पुस्तकको अनुदित कपी बराबर पुग्दैन । यसले विश्वभरि नै एउटा लहर ल्याउन सफल भएको छ चीनका पदाधिकारीहरूले साइन्स फिक्सन नेपालीमा अनुवाद गर्न धेरै पहिले नै भन्नुभएको थियो । तर आफ्नो विभिन्न कार्य व्यस्तताले गर्न पाएको थिइनँ । तर यसपटक पूरा गरेँ । 

तपाईंलाई मन परेको फिक्सन ?

चीनका चार फिक्सन ऐतिहासिक मानिन्छन् । यी कृति साहित्यिक रचनाको रुपमा मात्र नभई चिनियाँ संस्कृति, दर्शनको रुपमा पनि अध्ययनको मेटेरियलको रुपमा पनि पढेको छु । रातो महलको सपना, तीन देशको कहानी, पश्चिमतिरको यात्रा र विद्रोहीहरूको कथा । मैले धेरै समयदेखि पढ्दै आएका फिक्सन हुन् ।

चीनमा कथा र आख्यान धेरैपछि मात्र विकास भएको हो । पाँच यस वर्षअघिदेखि कथा लेखिन थाले । कथा लेख्दा आफ्नै शैलीमा समाजको विविध पक्ष समेटेर लेख्ने गरे । चारै वटा उपन्यास रचना भएको समय समाजको विश्वकोषजस्ता हुन् । 

तपाईंलाई मन परेका ननफिक्सन ?

चीनमा ताओ विचारधारा छ । यसको मूलग्रन्थ ‘ताओ ते चिङ’ मैले धेरै पटक पढेको ननफिक्सनमा पर्छ । कसैले यसलाई दार्शनिक कृति भन्छन्, कसैले साहित्यिक कृति भन्छन् । हुँदाहुँदा कसैले मिलिटरी साइन्स पनि भनेका छन् । यो धेरै ठूलो पनि छैन । पाँच हजार चिनियाँ अक्षरहरू । ८१ अध्यायमा विभाजित छन् ।

यो हरेक पटक पढ्दा नयाँ अनुभव हुन्छ । यसको विचारहरू अघिपछिका विचार भन्दा फरक छन् । हामी बलियोको जित हुन्छ भन्छौँ भने ‘ताओ ते चिङ’मा कमजोरको जित हुन्छ । पानी सबैभन्दा कोमल छ तर त्यसले ढुंगालाई पनि छेड्न सक्छ भन्ने बेग्लै खालको विचार प्रदान गरेको छ । 

तपाईंलाई एकदमै प्रभाव पारेको कुनै आख्यानको पात्र ?

मैले भर्खर भनेका चार उपन्यासका प्रमुख पात्रहरूको मायालाग्दो पक्ष छ । चिनियाँ पाठकहरूले त्यसको मूल पात्रलाई त्यति मन पराउँदैनन् । तर उनीहरूको मनभित्रको पुरानो जातीय दर्शन र मूल्य मान्यतामा त्यो परिस्थितिमा कसरी डिल गर्छन् भन्ने कुराले गर्दा पाठकहरूले मूल पात्रलाई त्यति मन नपाएका हुन् । तर मैले दशकौं त्यसबारे विचार गरेकाले होला, मूल पात्र नै एक किसिमले बुझ्न सकिने लाग्छन् मलाई । 

नयाँ पुस्तालाई पुस्तक सिफारिस ?

मैले अरु भाषाका साहित्य खासै नपढेकाले चिनियाँ भाषाको साहित्यको मात्र कुरा गर्छु । मैले भर्खर भनेका चार वटा ऐतिहासिक उपन्यास नेपाली पाठकले पनि पढ्नुपर्ने हुन्छ । यी पुस्तकहरूको अंग्रेजी अनुवाद भइसकेको छ । चारैवटा उपन्यास ठूल्ठूला छन् । चारैवटा उपन्यास नेपालीमा अनुवाद गर्ने हो भने १० हजार पेज जति पुग्छ । 

कान्तिपुर

Link copied successfully