काठमाडौँ — नवीन चौहान पछिल्लो समयको चर्चामा आएको फिल्म ‘ऊनको स्वीटर’का निर्देशक हुन् । आर्टमान्डूमार्फत थुप्रै चर्चित म्युजिकल फिल्म निर्माण गरेका नवीनले सधैं भिडियोमार्फत कथा भन्ने प्रयत्न गरे । तीनपाते, घुमीघुमी, फूलथुंगे रानी लगायत उनले निर्देशन गरेका दर्जनभन्दा म्युजिकल फिल्म दर्शकमाझ लोकप्रिय छन् । उनै नवीनसँग ई–कान्तिपुरको नियमित स्तम्भ ‘पाँच प्रश्न’का लागि गरिएका कुराकानीको सम्पादित अंश :
तपाईंले पछिल्लो समय हेर्नुभएको फिल्म ?
‘वदरिङ हाइट्स’ हो । यो फिल्म प्रेमकथामा आधारित छ । यसमा कालो र सेतो वर्णबीचको प्रेमकथा देखाइएको छ । यो फिल्म निकै राम्रो सिनेम्याटिक अप्रोचबाट खिचिएको छ । लो लाइट इलिमेन्ट, सिनेमाको क्राफ्ट निकै सुन्दर छ । यो फिल्म सकिँदै गर्दा मानवीय जगतलाई नै ठूलो प्रश्न गर्छ । हामी मान्छे हो कि पहिलो जात हो भन् मानवीय प्रश्न गर्छ ।
तपाईंलाई मन परेको नेपाली फिल्म ?
मलाई धेरै नेपाली फिल्म मन पर्छन् । तीमध्ये अत्यन्तै रुचाएको नवीन सुब्बा निर्देशित ‘नुमाफुङ’ हो । म पनि पाँचथरको हुँ । नुमाफुङको सेटिङ पनि पाँचथर वरिपरिकै छ । फिल्ममा देखाएको सांस्कृतिक, आर्थिक र त्यहाँको जनजीवनले मलाई रिलेट गर्यो । यो फिल्म हेरिरहँदा म पनि यही संस्कारको एउटा हिस्सा हुँ कि भन्ने महसुस गर्छु । त्यसकारण ‘नुमाफुङ’ मलाई एकदमै सुन्दर लाग्छ ।
तपाईंलाई मन परेका विदेशी फिल्म ?
झाङ इमोउ निर्देशित फिल्म 'द रोड होम' अत्यन्तै प्रिय फिल्म हो । त्यो फिल्म सरलाताको पर्याय हो । चीनको कुनै गाउँको कथा भनिरहँदा दुई पात्रबीचको सम्बन्धले आफूलाई पनि प्रभावित पार्न सक्ने र त्यो समाजमा आफूलाई लिएर जान सक्ने सुन्दर फिल्म हो । लाइट, कलर र त्यसका प्राविधिक पक्षबाट यो फिल्म एकदमै सुन्दर लाग्छ ।
नेपाली फिल्मको सकारात्मक र सिक्नुपर्ने पाटो ?
नेपाल सामाजिक विविधतायुक्त समाज हो । धेरै कथा भएको ठाउँ हो । हिमाल, पहाड, तराईका विभिन्न अप्रोचबाट फिल्म बनाइएका छन् । सिनेमालाई जहिले पनि एउटा आधारशिला चाहिन्छ । त्यो आधारशिला एउटा समाज वा भेगले दिइरहेको हुन्छ । त्यो चिजलाई समातेर पछिल्लो समय नेपाली फिल्म बन्न थालेका छन् । यो चाहिँ सबैभन्दा महत्वपूर्ण र मजबुत पक्ष लाग्छ ।
नेपाली फिल्म क्षेत्रले प्राविधिक रुपमा आफूलाई करेक्ट बनाउनुपर्ने देखिन्छ । फिल्मको पूरा प्रक्रिया प्रि प्रोडक्सन, प्रोडक्सन वा पोस्ट प्रोडक्सनलाई भरपुर समय दिएर गर्ने कुरा महत्वपूर्ण हुन्छ । यहाँ घोषणा भएको दिन नै रिलिज मिति तोक्ने चलन छ । त्यो गर्ने बित्तिकै सिनेमाको स्वच्छन्दता खुम्चन्छ । जसरी सिनेमा बन्नुपर्ने हो त्यसरी नबन्न सक्छ । फिल्मले त धेरै समय लिन सक्छ । बीचमा गएर रोक्नुपर्ने हुन सक्छ । कहिलेकाहीँ धेरै कम्प्रमाइज गर्नुपर्ने हुन सक्छ । त्यसकारण यो पक्षमा हामीले सुधार गर्नुपर्नेछ ।
नयाँ पुस्तालाई फिल्म सिफारिस ?
पछिल्लो पुस्तालाई फिल्म सिफारिस गरिराख्नुपर्दैन । एकदम फरवार्ड छन् । उनीहरूले आफ्नो ढंगले हेरिरहेका हुन्छन् । मैले एकदम छुटाउनै नहुने फिल्म छन् । हाम्रो रुट के हो भनेर बुझ्नका लागि चार्ली च्याप्लिनका फिल्म हेर्न सुझाव दिन्छु । सत्यजित रेका फिल्म हेर्न पनि म सिफारिस गर्छु । हाम्रा सिनेमा कहाँबाट परिष्कृत हुँदै आए र कसरी फड्को मारे भन्ने कुराको राम्रो अध्ययन पनि हुन सक्छ ।
