‘केही आख्यानले लामो समयसम्म प्रभाव पारिरन्छन्’

जेष्ठ १०, २०८२

कान्तिपुर संवाददाता

”Some stories have lasting impact.”

लेखक बिना थिङ पेसाले शिक्षक हुन् । उनको ०७७ मा प्रकाशित कथासंग्रह ‘याम्बुनेर’ पाठकका माझ लोकप्रिय छ । यसअघि थिङका ०६० मा ‘छुकी’ कथासङ्ग्रह र ०७२ मा ‘रातो घर’ कवितासंग्रह प्रकाशित छन् । अहिले उनी नयाँ आख्यानको तयारीमा छिन् ।

लेखक बिनासँग ई-कान्तिपुरको नियमित स्तम्भ पाँच प्रश्नका लागि गरिएको कुराकानीको सम्पादित अंश छ : 

तपाईँले पछिल्लो समय पढ्नुभएको पुस्तक ?

पछिल्लो समय मैले तीर्थ गुरुङको ‘हिउँको गीत’ उपन्यास पढेँ । त्यो मेरो लागि लाभदायक रह्यो । गुरुङ समुदायको ७ सय वर्षअगाडि क्व्होलासोथार भन्ने ठाउँमा उनीहरूको आफ्नै संस्कृतिसहितको घना बस्ती रहेछ । त्यसको विघटनको कथा उपन्यासमा छ । औपनिवेशिक कालमा वर्चस्वशाली राष्ट्रहरूले आफ्नो संस्कृति कला राम्रो भनेर आख्यानमार्फत् क्रिस्चियानिटीको प्रचारप्रसार गरे ।

उत्तर औपनिवेशिक काल सुरु भइसकेपछि हाम्रो पनि आफ्नो कथा छ भनेर विभिन्न समुदायहरूले भन्न सुरु गरे । यो परम्परा जोडिँदै जोडिँदै नेपालमा पनि आइपुगेको छ । त्यसको निरन्तरता तीर्थ गुरुङले पनि दिनुभयो । त्यसकारण यो किताब मलाई राम्रो र पठनीय पनि लाग्यो । भर्खरै पढ्दै गरेको अमिताभ घोषको आइबिस ट्रिलोजी पढेँ ।

अफिम युद्धको समयको कथा रहेछ त्यो । मैले त्यसको पहिलो भोल्युम ‘सी अफ पपिज’ पढेँ । त्यसअघि मैले अफिम युद्ध भन्ने किताब पढेको थिएँ । त्यो पढेकाले पनि यो उपन्यासमा मैले आफूलाई रिलेट गरेर बुझ्न सकेँ । भारत जब ब्रिटिस उपनिवेशमा संक्रमित अवस्थामा थियो ।

त्यति बेला चीनसँग उनीहरूले व्यापार गर्दा चीनले चाँदीको सिक्काहरूसँग मात्र उनीहरूले विनिमय गर्ने, आफ्नो सामानहरू मात्र निर्यात गर्ने गर्थे । इस्ट इन्डियासँग कुनै पनि सामान खरिद नगर्ने अभ्यास थियो । ब्रिटिसहरूले चिनियाँहरूलाई अफिमको लत लगाइदिएपछि भारतको उत्तर क्षेत्रमा अफिम खेती व्यापक रूपमा भयो । मानिसहरूलाई जबरजस्ती यातना र दबाब दिएर चाइनासम्म अफिम पुर्‍याउने कथा मैले पढेँ । अब दुई वटा भोल्युम बढ्न बाँकी छ । 

तपाईँलाई मन परेको फिक्सन ?

थुप्रै छन् । आफ्नो उमेर, रुचि, वैचारिकताले पनि कतिपय आख्यान तत्काललाई मन पर्ने रहेछन् । र पछि सामान्य हुँदै जाँदो रहेछ । केही आख्यानहरूले लामो समयसम्म हामीलाई प्रभाव पारिरहँदा रहेछन् । मलाई त्यसरी प्रभाव पार्ने फ्योदोर दोस्तोवस्कीको ‘क्राइम एन्ड पनिसमेन्ट’ लागेको हो । त्यो किताबमा त्यति बेलाको रुसी समाजको चित्रण त छँदै छ ।

त्यति बेला मानिसहरू निराशाजनक अवस्थामा गुज्रिरहेको समयमा दोस्तोवस्कीले एउटा मान्छेभित्र अँध्यारो र उज्यालो दुवै पक्ष बुनेका छन् । हामीले पढेका कतिपय आख्यानमा पात्रलाई महान् भनेर ग्लोरिफाई गरेर नायक बनाइएको छ । कतिलाई भिलेनका रूपमा पनि प्रस्तुत गरिएको छ । तर दोस्तोवस्कीको एउटा क्षमता चाहिँ मान्छे मान्छे हो, कहिले पनि भगवान् अथवा राक्षस हुन्न भनेर देखाउन सक्नु हो । परिस्थिति र उसका समस्याका कारण मानिस कहिलेकाहीँ राक्षस बन्न सक्छ । कहिलेकाहीँ भगवान् हुन सक्छ । तर ऊ असलमा मान्छे नै हुन्छ भन्ने कुरा फ्योदोर दोस्तोवस्कीले भनेका छन् । 

एउटै मान्छेले एकै समयमा कसैको हत्या र कसैको उद्धार पनि गरिरहेको छ । मान्छेको अँध्यारो र उज्यालो पक्षलाई तटस्थ रहेर जस्ताको तस्तै देखाउन सक्ने उनको क्षमतासँग कायल भएँ । अर्कोचाहिँ ‘द ग्रेप्स अफ र्‍याथ’ । जोन स्टेनबेकले यसमा १९३० को दशकको कथा भनेका छन् । त्यति बेला अमेरिकामा ठूलो आर्थिक मन्दी थियो । त्यति बेला अमेरिकामा दुई वटा कुरा सतहमा थिए ।

प्राकृतिक रूपमा पनि मन्दी थियो । जस्तो कि धुलोको साम्राज्य । त्यति नै बेला खेतीपाती पनि नहुने, बैंकरहरूले मानिसलाई ब्याज दिने, ब्याजमाथि स्याज लगाउने परम्पराले त्यहाँका जनताहरू घरबारविहीन भएका थिए । घरबारविहीन भएपछि मान्छेले क्यालिफोर्नियासम्म गरेको एउटा यात्राको कथा छ । कथा पढिरहँदा त्यसमा आएको डिटेलिङ र पात्रहरूको मनोदशाले त्यो आख्यान अहिले पनि मन परिरहन्छ । मैले त्यो किताब एउटा पुरानो पुस्तक पसलमा जाँदा कता कताबाट खोजेर भेट्टाएकी हुँ । त्यो उपन्यास म आफूले लेख्न नसकेको समयमा त्यसको डिटेलिङ, तरिकाहरू सिकाइका लागि पनि पढ्छु ।  

तपाईँलाई मन परेको नन फिक्सन ?

ननफिक्सन पनि थुप्रै छन् । सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’को तीन भोल्युम एकदम मन परेको हो । मलाई अर्को मन परेको गोविन्द वर्तमानको ‘सोह्र साँझ’ । माओवादी द्वन्द्वको समयमा युद्धविराम भएपछि यात्रामा जानुभयो पश्चिम नेपालतिर । यात्राको क्रममा त्यहाँ भेटिएका सामान्य भन्दा सामान्य मान्छेसँगको संवाद टिपेर उहाँले त्यो युद्ध र द्वन्द्वले पारेको आर्थिक, राजनीतिक र सामाजिक प्रभावमा तटस्थ रहेर मीठो शैलीमा गैर आख्यान लेख्नुभएको छ । त्योचाहिँ अहिलेसम्म पनि प्रभाव पारिरहेको ननफिक्सन मध्ये एक हो । 

हालै निस्केको तर पढ्न नपाउनुभएको पुस्तक ?

म पठनको मामिलामा अव्यवस्थित छु । कहिलेकाहीँ पढ्छु भनेर ल्याएका पुस्तक महिनौँ र्‍याकमा थन्किन्छन् । कहिलेकाहीँ पसलहरूमा चहार्दा यतिकै पनि कुनै पुस्तक पढिरहेको हुन्छु । हरेक पुस्तक पहुँचमा हुन्छन् । त्यस्तो निस्केर पढ्न नपाएको भन्नेचाहिँ छैन ।

नयाँ पुस्तालाई पुस्तक सिफारिस ?

सिफारिस गर्नुअघि केही कुरा ख्याल गर्नुपर्ने रहेछ । त्यो पुस्ताले के चाहिरहेको छ ? जीवविज्ञान पो पढ्न चाहिरहेको छ कि । इतिहास पो पढ्न चाहिरहेको छ कि । स्वैरकाल्पनिक पो पढ्न चाहिरहेको छ कि । मनोरञ्जन मात्र लिन चाहेको छ कि । नयाँ पुस्ता भन्नासाथ यही पुस्तक भनेर सिफारिस गर्न मलाई चाहिँ असजिलो लाग्छ ।

एउटा मान्छेले कम्तीमा पनि आफूलाई चिन्न, आफ्नो परिवार, समाज, देश र अन्तर्राष्ट्रिय सम्बन्ध बुझ्न पढ्नैपर्छ । चेतना र ज्ञान लिनैपर्छ । आफ्ना रुचिअनुसारका पुस्तकहरू पढ्न सक्नुहुन्छ । मैले नाम लिनै पर्दा पारिजात, बीपी र धच गोतामेका सम्पूर्ण पुस्तक पढ्नैपर्छ । 

कान्तिपुर

Link copied successfully