काठमाडौँ — आख्यानकार विवेक ओझा पछिल्लो समयको चर्चित उपन्यास ‘ऐँठन’का लेखक हुन् । ‘ऐँठन’ले ०७९ को मदन पुरस्कारसमेत प्राप्त गरेको थियो । ‘ऐँठन’ सशस्त्र द्वन्द्वको समयको कथा हो । ओझाका ऐँठनअघि ‘ऐलानी’ उपन्यास र ‘एक पाइला आकाशमा’ गजल संग्रह प्रकाशित छन् ।
हाल कथा संग्रहको तयारीमा छन् ओझा । आख्यानकार ओझालाई ईकान्तिपुरको स्तम्भ पाँच प्रश्नका लागि गरिएको कुराकानी :
तपाईंलाई पुस्तक पढ्ने बानी कसरी लाग्यो ? यो किन जरुरी छ ?
बुबा शिक्षक हुनुहुन्थ्यो । अक्षर चिन्नुअघि नै उहाँले मलाई पढाउन सिकाउनुभयो । त्यतिबेला पुस्तकका रङ र गातासँग म आकर्षित हुन्थेँ । त्यतिबेलाका पुस्तकको रङ अहिले पनि मेरो दिमागमा नाच्छ । दाइ अन्य पुस्तक पढ्न रुचाउनुहुन्थ्यो । म पनिल दाइलाई पछ्याउन थालेँ । कक्षा ५ मा पढ्ने बेलामा म १० कक्षाको कथा छानेर पढ्थेँ । अहिलेजस्तो साहित्यको फ्लो थिएन त्यतिबेला । टीकापुरमा नखोजेर हो कि किन हो, हातमा साहित्यिक किताब पर्दैन थियो । त्यतिबेला म एकेडेमिक कोर्सका कथाहरू पढ्थेँ । निजी स्कुलमा पढेकाले कथाहरूको अलग्गै अंग्रेजी पुस्तक पनि हुन्थे । लेख्नका लागि त पढ्नुपर्छ भन्ने सामान्य बुझाइ थियो । त्यो पछि बानीमा परिणत भयो ।
हिमाल चढ्न किन जरुरी छ ? र्याफ्टिङ गर्न किन जरुरी छ ? घुम्नु किन जरुरी छ ? फिल्म हेर्नु किन जरुरी छ ? यसलाई ब्रेकडाउन गरेर हेरौँ त । अनि पढ्न किन जरुरी छ भन्ने जवाफ आउनसक्छ ? यो मानिसको रुचिको कुरा हो । धेरै कुरा बुझ्नका लागि सबैभन्दा सजिलो माध्यम पुस्तक लाग्छ मलाई । कसैले १० वर्ष लगाएर लेख्यो भने त्यहाँ उसको वर्षौँको मेहेनेत हुन्छ । त्यही कुरा उसले पाँच दिनमा पढेर बुझ्न सक्छ ।
संसारमा सयौँ वर्षदेखिको अथाह ज्ञान छ । जुन किताबमा दर्ज भइसकेको छ । त्यो बुझ्न सबैभन्दा सजिलो माध्यम पुस्तक हो ।
पढ्ने बानीले व्यक्तिगत र सामाजिक जीवनमा कस्तो प्रभाव पार्छ ?
पढ्ने बानीले व्यक्ति सामाजिक उत्तरदायी बन्छ भन्ने लाग्छ । फिल्मी दुनियाँमा पनि जसले धेरै पढेको छ ऊ अब्बल बन्छ । कि अनुभवको आधारमा उसले बुझ्ने हो । त्यसका लागि लामो समय गुजार्नुपर्छ । कि चाहिँ गुजारिसकेको मान्छेलाई सुन्नु हो । त्यो पनि एक किसिमको पढाइ हो । सबै क्षेत्रमा हेरौँ । जो पढेको छ, ऊ जेन्युन हुने हो । ज्ञान आर्जनका लागि सबैभन्दा छिटो, सजिलो र भरपर्दोचाहिँ अध्ययन हो ।
तपाईंको जीवनमा सबैभन्दा धेरै प्रभाव पारेको पुस्तक कुन हो ?
मेरो जीवनमा समय समयमा थुप्रै पुस्तकले प्रभाव पारेका छन् । म सबैभन्दा बढी प्रभावित भएको प्लस टु पढ्दा कोर्स बुकको म्याजिक अफ वर्ड्समा भएका कथाहरूबाट हो । किनकि त्यसमा थरीथरीका कथा छन् । ती म्याजिकलजस्ता लाग्छन् । तर ती समग्रमा जादुयी नै छन् । त्यसपछि नेपाली साहित्यमा म पहिलो पटक प्रभावित भएको अमर न्यौपानेको कथा संग्रहपानीको घामबाट हो । नेपाली साहित्यमा यस्तो गज्जब पनि लेखिँदो रहेछ भन्ने अनुभूत भएको थियो मलाई । पछिल्लो समय भिएस नयपालको हाउस फर मिस्टर विश्वासले सबैभन्दा बढी प्रभाव पारेको हो । पात्रले कोलोनियल सोसाइटीको प्रतिनिधित्त्व गर्छ । पात्रले घर ज्वाइँ बस्नुपर्ने हुन्छ । उसले त्यहाँबाट निस्कन र घर बनाउन जुन संघर्ष गर्छ, त्यो निकै रोचक छ । कुनै पुस्तकले मलाई रात छिचोल्न बाध्य पार्यो भने यो एकमात्र पुस्तक हो ।
डिजिटल युगमा किताब पढ्ने बानी कसरी कायम राख्न सकिन्छ ?
डिजिटल युग किताबभन्दा अलग हो भन्ने मलाई लाग्दैन । किताबका कुरालाई कसरी डिजिटलाइज गर्न सकिन्छ भन्नेतिर हामीले ध्यान दिनुपर्छ । किनकि संसारको चलिआएको शैलीलाई लेखक, प्रकाशहरूले क्यारिअन गर्नुपर्छ । कुनै समय तामामा अभिलेख राखियो होला । कुनै समय छालामा राखियो होला । ढुंगामा पनि शिलालेख राखियो । कागजको उत्पादन हुनुअघि पनि मानिसहरूले कुराहरू राखेका थिए । अक्षरहरू त बनेका थिए पाना बन्नुभन्दा अघि पनि । डिजिटल कुराले चुनौती छ भने किताबलाई पनि डिजिटलाइज गर्नुपर्यो । मानिस किताबभन्दा बाहिर जान्छ भन्ने मलाई विश्वास छैन । मान्छे केही न केही खोज्न चाहन्छ । इतिहासदेखि नै मान्छेको खोजप्रतिको सोच कायमै छ । खोज्नका लागि जान्नैपर्छ । जान्नका लागि पढ्नैपर्छ । त्यसका लागि किताबको कुरालाई डिजिटलाइज गर्नुपर्छ ।
नयाँ पुस्तालाई कुन–कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?
नेपालीमा पानीको घाम, हंस, मोक्षान्त : काठमान्डु फिभर, छापामारको छोरो, सेतो धरती, कर्णाली ब्लुज, लु यावत् थुप्रै पुस्तक छन् । अंग्रेजीमा हाउस फर मिस्टर विश्वास, द गुड अर्थ, काफ्का अन द शोर, हन्ड्रेड इयर्स अफ सोलिच्युड लगायतका पुस्तकहरू म पढ्न सुझाउँछु ।
