काठमाडौँ — मनोज पण्डित फिल्म निर्देशक हुन् । ‘ग्रेटर नेपाल’,‘ दासढुंगा’, ‘बधशाला’ जस्ता फिल्मबाट समीक्षात्मक हिसाबमा राम्रो चर्चा पाएका पण्डितले त्यसपछि ‘छाया’, ‘खाग’ र ‘एक’ निर्देशन गरे । सिनेमासम्बन्धी पुस्तक ‘सिनेमा मन्थन’ प्रकाशन गरिसकेका उनी नयाँ फिल्मको तयारीमा छन् । नेपाली फिल्म क्षेत्रमा स्क्रिप्ट डक्टरिङको काम गर्दै आएका उनीसँग ई–कान्तिपुरको नियमित स्तम्भ 'पाँच प्रश्न'का लागि गरिएको कुराकानीको सम्पादित अंश :
तपाईंले पछिल्लो समय हेर्नुभएको फिल्म कुन हो ?
म राजनीतिक सिनेमा बढी रुचाउँछु । पछिल्लो समय ‘प्यारासाइट’ हेरेँ । प्यारासाइटको निर्देशक बोङ जुन होको पछिल्लो फिल्म ‘मिकी १७’ हेरेपछि दुईबीच विश्लेषण गर्न हेरेको थिएँ । यो फिल्म पुँजीवादको संसारमा मानिसको महत्वfकांक्षा र वर्गविभाजनको बारेमा छ । यो अत्यन्त रोमाञ्चक फिल्म हो ।
तपाईंलाई मन परेका नेपाली फिल्म कुन–कुन हुन् ?
मैले अधिकांश नेपाली सिनेमा हेरेको छु । मलाई दुई-तीन वटा फिल्मले साँच्चिकै प्रभाव पारेका छन् । समीक्षक भएर काम गर्दा एउटा सिनेमा हेर्ने अवसर जुरेको थियो । त्यो फिल्म हो ‘श्रीमान्’ । सामान्य कलाकाहरूको उपस्थितिमा बनेको फिल्मको केन्द्रीय भावना र द्वन्द्वले यसरी तान्यो कि त्यो फिल्मलाई समीक्षा गर्दा मैले प्रशंसा गरेँ ।
मलाई नेपाली सिनेमाको क्षेत्रमा खतरा आइडिया लागेको चाहिँ दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘चपली हाइट’ हो । मलाई क्राफ्टको हिसाबमा ‘लुट’ एकदमै गज्जब लाग्यो । स्टोरी टेलिङको हिसाबमा तुलसी घिमिरेको दक्षिणा राम्रो लागेको हो । अर्कोचाहिँ फिल्म ‘बलिदान’ । योभन्दा अलि अगाडि जाने हो भने साहित्य शक्तिशाली भएकाले ‘परालको आगो’ मन परेको हो ।
तपाईंलाई मन परेका विदेशी फिल्म कुन–कुन हुन् ?
मलाई भारतीय सिनेमामध्ये ‘इजाजत’ एकदमै मन पर्छ । अर्को मन परेको फिल्म ‘गडफादर’को दुवै शृंखला हो । ‘एट एन्ड अ हाफ’ भन्ने अत्यन्तै सुन्दर सिनेमा छ । त्यसपछि सत्यजित रेको ‘पाथेर पाञ्चली’ । दक्षिण अमेरिकाका केही पावरफुल फिल्म छन् । इरानबाट बनेका फिल्महरू जस्तो कि ‘द सेप्रेसन’ ।
भारतीय सिनेमामा यथार्थवादमा जीवनको नजिक पुगेर बा नहुँदा बच्चाहरूको जीवनमा हुने घटनाको परिस्थिति जुन निर्माण भएको छ । अर्कोचाहिँ गरिबीको जुन लेयर छ, त्यो अत्यन्तै सुन्दर र सूक्ष्म ढंगले प्रस्तुत गरिएको छ ‘पाथेर पाञ्चली’मा ।
सत्यजित रे अत्यन्त उत्कृष्ट फिल्ममेकर लाग्छन् । इरानियनहरूको कथा प्रस्तुतिमा पात्रहरू बालबालिका हुन्छन् । महत्वपूर्णचाहिँ जीवनको सामान्यपनभित्र देखिने कुरा कथामा हुन्छन् । ‘द सेप्रेसन’मा सम्बन्धहरूको कथा छ । सम्बन्धहरू कति कोमल हुन्छन् भन्ने दर्शाएको छ । कोमलताभित्र कति कठोरता हुन्छ भन्ने देखाएको छ ।
मैले हेरेका राम्रा सिनेमाहरूको सामान्यताभित्र असामान्यता, कोमलताभित्र कठोरता हुन्छन् ।
नेपाली फिल्मको सकारात्मक र सुधार गर्नुपर्ने पक्ष के लाग्छन् ?
जे भइरहेको छ, हामी यही नै उत्कृष्ट हो भन्ने सोच्दैनौं । हामी आफूलाई 'डाउट'मा राखिरहेका छौं । हामी आफूभित्र कमजोरी छ भनेर स्वीकारिरहेका छौँ । यो स्वीकारोक्तिका साथ केही खोजिरहेको प्रयत्नशील सामूहिकता हाम्रो सकारात्मक पक्ष हो । तर हाम्रो आधारभूत सोच्ने प्रणालीमा समस्या छ ।
हाम्रो सिनेमा किन कमजोरी भइरहेको छ त ? त्यो विचारको कमी हो । यसलाई समाधान गर्ने तत्व किताब हो । राम्रो सिनेमा बनाउन राम्रो पुस्तक पढ्नैपर्छ । हाम्रो सिनेमाको विकासका लागि स्रस्टाहरूको पक्षबाट अत्यन्त धेरै पढ्ने, किताबलाई विश्लेषण गर्नुपर्ने आवश्यकता देखिन्छ । अध्ययनको जगमा बसेर पावरफुल दृष्टिकोण बनाएर फिल्म बनाउनुपर्छ भन्ने मेरो धारणा छ ।
हामी ‘ह्विस्डम’ भन्ने पत्रिका पढेर हुर्किएको पुस्ता । युवामञ्चलाई कुरेर पढ्ने पुस्ता हौँ । अन्तर्राष्ट्रिय मञ्च, रिडर्स राइडर पढेर हुर्किएका पुस्ता । त्यतिबेला मोदनाथ प्रश्रितको एउटा पुस्तक छ । त्यो पुस्तकमा उहाँको जीवनको संघर्ष अत्यन्त सुन्दर लागेको थियो । मेरो जीवनमा तीन पुस्तकले डाइमेन्सनमै प्रभाव पारेका छन् ।
‘द हिरो विथ अ थाउजेन्ड फेसेस’ पुस्तकले मलाई सबैभन्दा बढी प्रभाव पारेको छ । यसले मानिस र सभ्यताको अध्ययन गरेर मानिसमा हुने चरित्रको बारेमा कुरा गर्छ । राजनीतिमा उत्प्रेरणा दिएको चाणक्यको अर्थशास्त्रले हो । दर्शनप्रति झुकाव बढाएको 'सोफिज् वर्ल्ड' भन्ने पुस्तकले हो । यो पुस्तकले फिक्सन र विचारको उडानमा लगिदिन्थ्यो । मेरो झुकावमा विश्व दर्शनले प्रभाव पारेको रहेछ । नित्सेको ‘वियोन्ड गुड एन्ड इभिल’ भन्ने पुस्तकले प्रभाव पार्यो ।
हामीले नैतिकताको आधार मानेको कुरालाई पुनर्विचार गर्न एकदम सहयोग गर्छ । दोतोयभ्स्कीको ‘नोट्स फ्रम अन्डरग्राउन्ड’ भन्ने पुस्तक छ । त्यो पुस्तकले मानव मनोविज्ञानमा हामीले कसरी झुट बोलिरहेका छौं भन्ने कुरालाई प्रश्न गरेको छ । के कुराले मानिसलाई सबैभन्दा बढी समस्यामा पार्छ भन्ने कुरा गहिरोसँग भनेको छ । जीवनलाई बुझ्न दुई कुराले गहिरो प्रभाव पारेको छ मलाई । ती पुस्तक सबैले पढून् भन्ने चाहन्छु ।
एउटा चाइनिज फिलोसोफर लाओत्जुको ‘ताई ते चिङ’ भन्ने पुस्तक छ । त्यो श्लोकको फर्ममा छ । जीवन जस्तो छ त्यस्तै रुपमा हेर भन्छ त्यो पुस्तकले । अर्कोचाहिँ बुद्धिस्ट फिलोसोफर नागार्जुनको पुस्तक ‘मूलमध्यमाका-कारिका’ भन्ने छ । मेरो वैचारिकतालाई प्रभाव पारेका दुई पुस्तक छन् । एउटाचाहिँ जर्ज अर्वेलको 'एनिमल फार्म' छ ।
कसरी सत्ता शक्तिले कसरी एक अर्कालाई प्रभाव पार्छ भन्ने कुरा छ । हामीले समानताका कुरा गर्छौँ । समानता सबैसँग बराबरी हुँदैन । यो कठोर प्रश्न हो । यो राजनीतिक रुपमा ठूलो व्यंग्य हो । अर्को ‘ब्रेभ न्यु वर्ल्ड’ भन्ने पुस्तक छ ।
यो पुस्तकले मानिसलाई कसरी सत्ताले नियन्त्रण गर्छ भन्नेबारे छ । ‘द क्राउड’ भन्ने पुस्तक मैले हालै पढेँ । हाम्रो समाज अहिले भिडतन्त्रतिर छ । अलोकप्रिय नेताहरूले यत्रो भिड कसरी जम्मा पारिरहेका छन् त ? राम्रो चिरफार गरिएको छ ।
नयाँ पुस्तालाई फिल्म र पुस्तक सिफारिस ?
नयाँ पुस्तालई म सबैभन्दा पहिला सिनेमाको व्याकरणसम्बन्धी पुस्तक पढ्न सुझाउँछु । व्याकरणको ज्ञानबिना जति भन्न मन लागेका कुरा पनि सही तरिकाले आउँदैनन् । यसका लागि थुप्रै पुस्तक छन् । 'द हिरो इज थाउजेन्ड फेसेस' पढौं नै भन्छु ।
त्यसपछि ‘स्टोरी’ भन्ने एउटा पुस्तक पढ्न सुझाउँछु । कमसेकम 'एनिमल फार्म' पढौं भन्छु । जीवनलाई हेर्ने दृष्टिकोण बलियो बनाउन लाओत्सोहरू पढ्न सुझाउँछु । अहिले युट्युबलाई सही तरिकाले प्रयोग गर्ने हो भने ज्ञानको खजाना छ । नयाँ पुस्तालाई हरारीका पुस्तक 'नेक्सस', 'सेपियन्स' जस्ता पुस्तक पढ्न मेरो सिफारिस छ ।
सिनेमाको हकमा ‘गडफादर हेर्न सुझाउँछु । ग्रामाटिकल्ली यो फिल्म पावरफुल छ । नेपाली सिनेमाको विकासक्रका केही फिल्म हेर्न सुझाउँछु । ‘परालको आगो’, ‘कुमारी’, ‘नुमाफुङ’, ‘मुकुन्डो’, ‘हाइवे’, ‘चपली हाइट १’, ‘जात्रा’ जस्ता फिल्म हेरौं ।
भारतमा केही राम्रा फिल्ममेकर छन् । पछिल्लो समय रोमान्टिसिजमका हिसाबले यश चोपडाका फिल्म हेर्दा हुन्छ । गुरुदत्तको फिल्म ‘प्यासा’ हेर्दा हुन्छ । ऋषिकेश मुखर्जीका फिल्म हेर्दा हुन्छ । बलिउडको सिनेमाको कथ्य मात्र पनि सिक्यौं भने हाम्रो लागि राम्रो सिकाइ हुन्छ ।