अध्ययनले भिजन बनाउन सघाउँछ : विमला तुम्खेवा [अन्तर्वार्ता]

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

Study helps create vision: Vimala Tumkheva [Interview]

काठमाडौँ — कवि विमला तुम्खेवा काव्यिक जगतमा स्थापित नाम हो । प्रेममा कोमल र मुद्दामा दरिलो आवाज बोक्ने उनका कविताहरूमा विद्रोहको स्वर पनि पाइन्छ ।

तुम्खेवाका ‘विमला तुम्खेवाका कविताहरु’ (२०५५), ‘नदी, छाल र तरङ्गहरू’ (२०६०), ‘संस्मरण एउटा बुढो रूखको’ (२०६५), ‘हत्केलामा पृथ्वी लिएर उभिएका मान्छेहरू’ (२०७५) लगायतका कवितासंग्रह प्रकाशित छन् । तुम्खेवा सञ्चारिका समूहको केन्द्रीय अध्यक्षसमेत हुन् । कवितामात्र नभई उनी कथा, फिचर र संस्मरण पनि लेख्छिन् । उनै कवि तुम्खेवासँग ई–कान्तिपुरका लागि गरिएको पाँच प्रश्नको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ : 

तपाईंलाई पुस्तक पढ्ने बानी कसरी लाग्यो ? यो किन जरुरी छ ?

२०५० को दशकको वरिपरी लेखनमा आएको पुस्ता पर्यौँ हामी । त्यतिखेरको अवस्था अहिलेको जस्तो थिएन । किताब पनि सजिलै पाइन्न थियो ।

प्रविधि सहज थिएन । एउटा किताब एकजना साथीले पढिसकेपछि अर्को साथीले पढ्ने गर्थ्यौँ । त्यो राम्रो पनि थियो । ३०को दशक वा ०४०को दशकमा हामीभन्दा अगाडिको पुस्ता जसरी लेखनमा आउनुभयो । पठन संस्कृति संरचना त्यतिखेर एकदम बलियो थियो । मेरो हकमा म सुरुवाती समयमा म्याक्सिम गोर्की, प्रकाश कोविद्हरूलाई पढ्दै आएँ ।

 

केही समयपछि पारिजातलाई पढेँ । कविहरूमा वैरागी काइँला र मदन रेग्मीहरूलाई पढ्दै आएँ ।

‘आमा’ उपन्यासको पावेल पात्रले अहिले पनि अवचेतन मस्तिष्कभित्र  एक प्रकारको दबाब र प्रभाव छाडिराख्न सफल भएको छ । ‘शिरिषको फूल’मा सकम्बरी र सुयोगवीरजस्ता पात्रहरूले निकै प्रभाव पारे । त्यसयता नेपाली साहित्यलाई निरन्तर पढ्दै आएँ । आफूलाई विचारमा तिखार्न र निखार्न पनि पढ्न आवश्यक छ ।

पढ्ने बानीले व्यक्तिगत र सामाजिक जीवनमा कस्तो प्रभाव पार्छ ?

पढ्ने बानी हुनु भनेको त्यसलै वैचारिकीलाई एउटा एउटा इँटा थपेर जानुजस्तै हो । देशको समग्र संचरना, आयतनलाई मजबुत बनाउन पठन संस्कृतिले धेरै ठूलो प्रभाव पार्छ ।

किताब भनेको यस्तो माध्यम हो, जहाँ सबै किसिमको विचार र अवस्थालाई बुझ्न सकिन्छ । अध्यननले तपाईं आफूलाई विनिर्माणतर्फ अगाडि बढाउनका निम्ति अग्रसर हुनुहुन्छ । 

तपाईंको जीवनमा सबैभन्दा धेरै प्रभाव पारेको पुस्तक कुन हो ?

लेखकको जीवनमा उसको लेखनको परिपक्वता र वैचारिकी परिपक्वता विस्तारै विकास हुँदै जाँदो रहेछ । एउटा समयमा मलाई पारिजातको ‘शिरिषको फूल’ सबैभन्दा धेरै मनपर्थ्यो । पछि विश्वेश्वरप्रसाद कोइरालाको लेखनले छुँदै गयो ।

३०को दशकमा जो–जो लेखकहरू आए । नेपाली साहित्यमा जे–जे लेखियो, त्यसको गहनता र विरातसलाई धान्न सक्ने परिस्थिति बीचमा निर्माण भइसकेको रहेनछ । ५०को दशकपछाडि विस्तारै त्यो किसिमको अवस्था निर्माण हुँदै गइरहेको छ । हामी सबै बन्नेः अवस्थामै छौँ । हामी समग्र एउटा बाटोमा हिँडिरहेका छौँ । केही समय लाग्छ । 

डिजिटल युगमा पुस्तक पढ्ने बानी कसरी कायम राख्न सकिन्छ ?

अहिले हामी डिजिटल युगमा छौँ । एआईको प्रभाव पनि बढिरहेको छ । अहिले प्रविधिले नै कविता लेखिदिन्छ । अहिले सामाजिक सञ्जालको प्रभावबाट बच्न पनि मुस्किल छ । लेख्ने मान्छेलाई पढ्न र सोच्नुपर्ने हुन्छ । यसलाई हामीले नै व्यवस्थापन गर्नुपर्यो । आफूलाई अनुशासनमा राख्नुपर्छ यस्तो अवस्थामा । 

हामीले एक हप्तामा कति पढ्नसक्छु भनेर छुट्याउनुपर्छ । मेरो सधैं एउटा पुस्तक झोलामा, एउटा सुत्ने बेडमा र एउटा किचनतिर हुन्छ । म त्यसरी पढ्छु । त्यति गर्दागर्दै पनि पछिल्ला पुस्तकहरू पढ्न छुटिरहेका हुन्छन् । हामीले कस्तो कस्तो पुस्तक आइरहेको छ भनेर अपडेट हुन सकेन भने गाह्रो हुन्छ । कमसेकम एक हप्तामा एउटा पुस्तक पढिसक्छु भनेर गाइडलाइन बनाएर चल्न सक्यो भने पठनसंस्कृतिलाई जीवित बनाएर चल्न सक्छौँ ।

नयाँ पुस्तालाई कुन–कुन पुस्तक पढ्न सुझाउनुहुन्छ ?

पठनमा नयाँ अनुहारलाई म कमसेकम एकपटक नेपालमा चलेका सबै पुस्तक पढ्न सुझाउँछु । त्यसपछि मात्र लेख्न सुरु गर्नुस् भन्छु ।

नेपाली साहित्यमा बनिरहेको मानक भत्काउने लेखक नै भएनन् ।  फरक साहित्य लेख्नु सबैको साझा चुनौती हो । त्यसका लागि सबैलाई पढ्नु त पर्यो । पढेपछि मात्र आफ्नो भिजन बनाउन सक्छ ।

कान्तिपुर

Link copied successfully