काठमाडौँ — श्रवण मुकारुङ नेपाली साहित्यका लोकप्रिय कवि एवं गीतकार हुन् । मुकारुङका थुप्रै कविता, गीत तथा नाटक चर्चित छन् ।
‘बिसे नगर्चीको बयान’ कविता र कविता संग्रहभित्रका थुप्रै बलशाली कविताको चर्चा काव्यप्रेमीमाझ हुन्छ । ईकान्तिपुरको स्तम्भ 'पाँच प्रश्न'मा उनै कवि मुकारुङसँगको कुराकानी :
१. तपाईंले पछिल्लो पटक पढ्नुभएको पुस्तक कुन हो ?
अहिले मैले दुईवटा पुस्तक पालैपालो पढिरहेको छु । नविनतम कृति बसन्त बस्नेतको ‘सिमसारा’ हो । यो पुस्तकमा मैले इन्जोय गरिरहेको छु । अर्कोचाहिँ एकदमै क्लासिकल उपन्यास जर्ज अरबेलको १९८४ । झन्डै ८ दशकअघि छापिएको पुस्तक होला यो ।
‘सिमसरा’मा लेखकले नेपाली परिवारभित्रको आन्तरिक मनोविज्ञान, द्वन्द्व, नेपाली समाजको परिवारको संघर्षशील महिलाको कथा छ । मेरो आमाको जीवन संघर्ष र उपन्यासको आमाको जीवनसंघर्ष मेल खाएका कारण यो उपन्यास मैले इन्जोय गरेको छु ।
क्लासिकल उपन्यासले राजनीति, समाज, साहित्यको भाषालाई मजबुत बनाउँछ । म आफैं पनि अहिले उपन्यास लेखिरहेको हुँदा आफ्नै भाषा मजबुत बनाउन क्लासिकल उपन्यास पढ्न जरुरत हुँदोरहेछ ।
२. तपाईं मन परेको फिक्सन कुन हो ?
धेरै छन् । तैपनि मलाई विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास सुम्निमा, नरेन्द्र दाइजस्ता उहाँका अधिकांश उपन्यास मलाई मन पर्छन् । अनि इन्द्रबहादुर राईको उपन्यास आज रमिता छ, पिटर जे. कार्थकको प्रत्येक ठाउँ प्रत्येक मान्छेजस्ता थुप्रै फिक्सन मलाई मन पर्छन् । केही समयअघि पढिएका उपन्यासमा नारायण वाग्लेको पल्पसा क्याफे एकदमै राम्रो लाग्छ ।
३. तपाईंलाई मन परेको ननफिक्सन कुन हो ?
ननफिक्सनमा पनि धेरै छन् । डा. हर्क गुरुङको, सरदार भीमबहादुर पाँडेको इतिहाससम्बन्धी पुस्तकहरू मलाई गहिरो प्रभाव पार्ने पुस्तकहरू हुन् । पछिल्लो समय पनि गम्भीर विषयवस्तुमाथि लेखिएका पुस्तकहरू आइरहेका छन् ।
४. हालै प्रकाशित भएको तर पढ्न नपाएको पुस्तक कुन हो ?
छुदेन काबिमोको उपन्यास अहिले चर्चामा पनि छ । तर योचाहिँ मैले पढ्न बाँकी छ । छिट्टै पढ्नेछु ।
पाठकहरूबाट त्यसको प्रतिक्रिया राम्रो आइरहेको छ । समीक्षकहरूबाट पनि राम्रो प्रतिक्रिया आएको छ । मलाई त्यसकारण पनि पढ्न मन लागेको छ । नेपालबाहिरका नेपाली भाषी, नेपाली साहित्यमा काम गरिरहेका लेखक हुन् दार्जिलिङका छुदेन । उनले दार्जिलिङका चिया टिप्ने श्रमिकहरूमाथि लेखेको कथा छ त्यसमा । उनको लेखन कला पनि मलाई राम्रो लाग्छ ।
५. नयाँ पुस्तालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
पुस्तकचाहिँ आफ्नो रुचिअनुसार पढ्दा पनि हुन्छ । गहिरो र गम्भीर ढंगले लेखेका पुस्तकहरू पढ्नुस् । विदेशी पुस्तकहरू पढ्नुस् । युवल नोहा हरारीका पुस्तक पढ्नुस् । नेपालको इतिहास र समाजशास्त्रसम्बन्धी नेपाललाई बुझ्ने पुस्तकहरू पढ्नुस् । कविताहरू नछुटाउनुस् । कविताले तपाईंलाई अझै धेरै बलियो बनाउँछ ।
