सफल व्यवसायी तथा लेखक हुन्, जीवा लामिछाने । जर्मनीमा बस्दै आएका गैरआवासीय नेपाली उनी साहित्यमा गहिरो अभिरुचि राख्छन् । उनका तीन नियात्रा पुस्तक ‘सर्सर्ती संसार’, ‘देश देशावर’ र ‘अक्षत अन्टार्कटिका’ प्रकाशित छन् ।
ईकान्तिपुरको स्तम्भ 'पाँच प्रश्न'मा लामिछानेसँग गरिएको कुराकानी :
तपाईंले पछिल्लो पटक पढ्नुभएको पुस्तक कुन हो ?
एक महिनाभित्र मैले दुई वटा पुस्तक पढें । पहिलो पुस्तक चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ । पृथ्वीनारायण शाहले नेपालको जुन एकीकरण सुरु गरे । यो अभियान साकार पृथ्वीनारायण शाहका छोरा बहादुर शाहले पारेका थिए । इतिहासले उनलाई अन्याय गरेको छ । नेपाल एकीकरणमा एउटा महत्त्वपूर्ण पात्रलाई चिरञ्जीवीले पुस्तकमा उल्लेख गेरका छन् । यसमा दरबारभित्र हुने दाउपेच, षड्यन्त्रका कुरा छन् । बहादुर शाह इतिहासमा मलाई रुचि भएका पात्र हुन् । हामी दरबारभित्रका षड्यन्त्र हत्या हिंसाले भरिएको पाउँछौं । यसैमध्ये बहादुर शाहलाई निकै सरल तरिकाले लेखकले उल्लेख गर्नुभएको छ ।
अर्को हालै पढेको पुस्तक कृष्ण धरावासीको ‘अर्धकट्टी’ हो । उनी मलाई मनपर्ने लेखकमा पर्छन् । आफ्ना कुरा असाध्यै सरल तरिकाले लेख्छन् उनी । उनले गरेका संघर्ष सरल तरिकाले लेख्नुभएको छ । यो ‘आधाबाटो’ र ‘पाण्डुलिपि’को निरन्तरता हो । यो पुस्तक मलाई निकै पठनीय लाग्यो ।
मन परेको फिक्सन ?
बीपी कोइराला मलाई असाध्यै मनपर्ने राजनीतिज्ञ मात्र नभएर साहित्यकार पनि हुन् । उनको ‘तीन घुम्ती’ उपन्यास असाध्यै मन परेको कृति हो । त्यसमा नारी पात्रको तीन मोडलाई निकै राम्रोसँग व्याख्या गरिएको छ । महिला पात्रले पत्नीको रुपमा, प्रेमिकाको रुपमा र आमाको रुपमा निर्वाह गरेको भूमिका पुस्तकमा राम्रोसँग वर्णन भएको छ ।
मन परेको नन फिक्सन ?
मलाई एकदम मनपर्ने लेखक धच गोतामे हुन् । उनका प्राय: सबै पुस्तक मैले पढेको छु । उनको निबन्ध र संस्मरण यात्रामा लेखनशैली असाध्यै मन पर्छन् । हास्य तथा व्यंग्य चेतलाई सरल तरिकाले लेख्छन् उनी । उनले आफू बसेको ठाउँलाई जुन तरिकाले चित्रण गरेका छन्, लेख्न अभ्यास गर्नेहरूलाई लोभ लाग्छ । उनको ‘उत्तरोत्तर’, ‘कालान्तर’, ‘सम्झनाका गल्छेडाहरू’ निकै मन परेका हुन् । उनको उपन्यास ‘घामका पाइला’ पनि उत्तिकै सुन्दर छन् ।
हालै निस्किएको तर पढ्न नपाउनुभएको पुस्तक ?
‘छालबाटो’ । अब मेरो पढ्ने सूचीमा छ ।
नयाँ पुस्तालाई कस्ता पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?
हरेकको आ–आफ्नो रुचि हुन्छ । रुचिअनुसार नै पुस्तक पढ्नुपर्छ । रुचि हुनेहरूले इतिहास, फिक्सन, ननफिक्सन पढ्दा हुन्छ । खासमा जुन आफूलाई रुचि लाग्छ त्यही पढ्दा राम्रो हुन्छ । सिफारिस नै गर्नुपर्यो भने ‘महाभारत’ सबैले पढ्नुपर्छ ।
यो पौराणिक ग्रन्थमात्र हैन । यो किताब मैले पहिलो पटक कक्षा ४ पढ्दा १० वर्षको उमेरमा पढेको थिएँ । यसको बारेमा फिल्म निस्कियो । त्यो पनि हेरें । कोभिडको बेलामा लडकाउन हुँदा मैले एउटा पुस्तक पढ्न पाएँ गुरचरण दासको ‘द डिफिकल्टी अफ बिइङ गुड’ भन्ने पुस्तक छ । यो पुस्तकमा उनले महाभारतका पात्र परिवेश र घटनालाई यसरी उल्लेख गरेका छन् कि ती हाम्रो वरपर घटेका घटना हुन् । महाभारतको पात्रको प्रसंगलाई हाम्रो समाजसँग जोडर व्याख्या गरेका छन् ।
महाभारतको धृतराष्ट्रलाई यहाँको कर्पोरेट जगत्सँग तुलना गरेका छन् । उनी आफैं पनि कर्पोरेट जगत्मा ठूलो ओहदामा बसेर राजीनामा दिएर लेखनमा लागेका सफल लेखक । यो पुस्तक पढ्दा महाभारतका पौराणिक पात्रलाई हामीले हरेक पात्रसँग तुलना गर्न सक्छौं ।
