काठमाडौँ — राजन पौडेल वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक हुन् । नेपालको निजामती सेवामा १३ वर्षदेखि कार्यरत पौडेलले भौतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । निजामती सेवामा प्रवेश गर्नुअघि उनी त्रिभूवन विश्वविद्यालयमा प्राध्यापन गर्थे । उनी साहित्य पठनमा रुचि राख्छन् ।
आख्यान र गैर आख्यानमा गहिरो अभिरुचि भएका पौडल बेलाबेला पुस्तकबारे छलफल र अन्तर्क्रिया गर्न मन पराउँछन् । उनै पौडलसँग ई-कान्तिपुरको नियमित स्तम्भ पाँच प्रश्नका लागि गरिएको कुराकानी :-
तपाईंले पछिल्लो समय पढ्नुभएको पुस्तक कुन हो ?
अहिले मैले पढिरहेको पुस्तक पूर्व प्रशासक नरकान्त अधिकारीको ‘गीता : मैले बुझेका केही कुरा’ हो । यो विद्यार्थी प्रकाशन गृहले प्रकाशन गरेको रहेछ । त्यो पुस्तक बजारमा पाइनँ । मैले पब्लिकेसनको केन्द्रीय कार्यालयमै गएर खरिद गरेँ । पूर्वीय दर्शन र आध्यात्मिक पक्षको बारेमा पुस्तकमा राम्रोसँग वर्णन गरिएको छ । उहाँले गीताको श्लोक र संस्कृतका भावार्थ पनि सँगै राख्नुभएको छ । अहिले फुर्सदको समयमा समय बिताउने असाध्यै राम्रो पुस्तकको रुममा मैले लिएको छु ।
तपाईंलाई मन परेको फिक्सन कुन हो ?
मलाई अहिलेसम्म असाध्यै मन परेको र एकै बसाइमा पढिभ्याएको आख्यानकार अमर न्यौपानेको ‘सेतो धर्ती’ हो । यो पुस्तक दिउँसो किनेर लगेँ ।३ बजेतिर पढ्न बसेँ । बेलुका खाना पनि नखाई बिहान ४ बजे पुस्तक पढेर सकेँ । अनि मात्रै सुतेँ । त्यो आख्यानले मलाई छुट्टै आनन्द पनि दिएको छ ।
तपाईंलाई मन परेको नन-फिक्सन कुन हो ?
असाध्यै मन परेको नन फिक्सन खप्तड स्वामीले लेख्नुभएको ‘विचार विज्ञान’ हो । म भौतिकवादी दर्शनसँग रुचि राख्ने विद्यार्थी पनि हो । म भौतिक शास्त्रको विद्यार्थी पनि हो । पुस्तकको सुरुवातमै भौतिकवादी दर्शन, पदार्थको मात्रा, सुक्ष्म परार्थको मात्रा हुँदाहुँदै त्यसले जीवनको सभ्यता र खानपानको विषयमा गहिरो रुपमा उल्लेख छ । हाम्रो खानपानले हाम्रो विचारमा कस्तो प्रभाव पार्छ भन्ने कुरासमेत उक्त पुस्तकमा छ । म उक्त पुस्तकबाट अत्यन्तै प्रभावित छु । योचाहिँ सबैले एकपटक पढ्नुपर्छ भन्छु ।
हालै निस्केको तर पढ्न नपाउनुभएको पुस्तक ?
मलाई जयराम तिमल्सिनाको ‘धीमही’ भन्ने पुस्तक पढ्न मन छ । यो सामाजिक सञ्जालहरूमा एकदमै चर्चामा छ । कतिपय साहित्यकारहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । तर यो पुस्तक मैले पढ्न पाएको छैन । व्यस्त पनि छु पछिल्लो समय । छुट्टीको समय सदुपयोग गरेर म पढ्छु ।
नयाँ पुस्तालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
कुनै मान्छे कति इमान्दार छ भन्ने कुरा थाहा पाउन उसले कस्ता पुस्तक पढ्छ भन्ने कुरा थाहा पाउनुपर्छ । उसले पढ्ने किताबको आधारमा उसलाई चिन्न सकिन्छ । हामी पूर्वीय दर्शनमा रुचि राख्छौँ । पूर्वीय दर्शनमा झुकाव भएका र समाजसँग जोडिएका पुस्तक पढ्न सक्छौँ । र ग्लोबल दुनियाँमा अरुसँग इन्फरमेटिभ हुने खालमा पुस्तक पढ्नुपर्छ ।
यसअघि मैले युवल नोहा हरारीको ‘मेक्सस’ हालै पढेर सिध्याएको हो । यसमा एआईले हामीलाई कसरी प्रभाव पारिरहेको छ, सूचनाको प्रभाव कस्तो छ र हाम्रो समाजमा कस्तो प्रभाव पारिरहेको छ भन्ने कुरा वर्णन गर्छ । आगामी पुस्ताले समाजलाई कसरी रुपान्तरण गर्न सक्छौँ, पुराना दर्शन कस्ता खालका थिए र आधुनिक दर्शन कसरी रुपान्तरित हुने भन्ने दुई वटाको फ्युजनमा जानुपर्छ जस्तो लाग्छ । नयाँ सभ्यताको समाजलाई जानकारी गराउने र व्यवस्थित कसरी गर्नुपर्छ भन्ने पुस्तक अबको पुस्ताले हेर्नुपर्छ ।
