'आफ्नो रुचि थाहा पाउन पनि पुस्तक पढ्नुपर्छ'

माघ ५, २०८१

कान्तिपुर संवाददाता

'You have to read a book to know your interest'

काठमाडौँ — नेपाली निबन्धका जानपहिचान नाम हुन्– रोशन शेरचन । सचेतताका साथ निबन्ध लेखिरहेका उनको ‘मस्तिष्कहरूको मृत्यु’, ‘चम्पारन ब्लुज’, ‘धोबीघाट एक्सप्रेस’ र ‘गल्ली संसार’ निबन्धसंग्रह प्रकाशित छन् ।

निबन्धमा वातावरणीय विमर्श गर्न रुचाउने उनी विभिन्न स्थानमा यात्रा गरिरहन्छन् । रोशन भन्छन्– विश्राम लिनुपर्छ यात्रा–दौरान, तर यात्राबाट विश्राम लिनु हुँदैन । उनै शेरचनसँग पुस्तक पठनका विषयमा गरिएका ‘पाँच प्रश्न’को सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

तपाईले पछिल्लो पटक पढ्नुभएको पुस्तक ? 

मैले पछिल्लो समय पढेको पुस्तक खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’ हो । अहिले नाओमी क्लेनको नन–फिक्सन ‘दिस चेन्जेज एभ्रिथिङ’ पढ्दैछु । ‘फुर्के’ मलाई रोचक लाग्यो । यो कुकुरको आत्मकथामा आधारित छ । कथा कुकुरको दृष्टिकोणबाट लेखिएको छ । उसको मालिकले बेचिदिएपछि सहरमा गाँस, बाँसको संघर्षको कथा लामिछानेले रोचक ढंगले प्रस्तुत गरेका छन् ।

‘दिज चेन्जेज एभ्रिथिङ’मा जलवायु परिवर्तनका दुईवटा पाटो साइन्स र पोलिटिक्स हुन्छन् । यस पुस्तकमा साइन्सभन्दा पनि पोलिटिक्सको पक्षलाई गहिरो र विस्तृत रूपमा विश्लेषण गरिएको छ । म अहिले यो पुस्तकको आधा भागसम्म पुगेको छु । बाँकी भाग पढ्दैछु । 

तपाईंलाई मन परेको फिक्सन ? 

मलाई मन परेको फिक्सनहरूमा ध्रूवचन्द्र गौतमको ‘अलिखित’, धनुषचन्द्र गौतम (ध.च गोतामे)को ‘घामका पाइला’, नारायण ढकालको ‘प्रेतकल्प’, र नयनराज पाण्डेको ‘उलार’ पर्छन् । विदेशी पुस्तकहरूको कुरा गर्ने हो भने, इभान टुर्गेनेभको ‘फादर्स एण्ड सन्स’ मनपर्छ । ‘घामका पाइला’मा तराई–मधेशको पर्यावरणलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ ।

‘प्रेतकल्प’मा राणाकालीन शक्ति संरचनाको कथा चित्रण गरिएको छ । ‘फादर्स एण्ड सन्स’मा समाजमा प्रचलित र प्रभावशाली सिद्धान्तहरूसँग लडेको कथा देखाइएको छ ।

तपाईंलाई मन परेको नन–फिक्सन ?

धेरै छन् । भर्खरै पढेको रमेश भुसालको पुस्तक ‘छालबाटो’लाई उदाहरण लिन सकिन्छ । तिब्बतदेखि गण्डक, भारतसम्मको ४५ दिनको यात्रावृत्तान्त निकै रोचक छ। अरु मलाई मन परेको इकोलजिस्ट एल्डो लियोपोल्डले लेखेको ‘स्यान काउन्टी एल्लामान्याक’ पनि हो, जुन पर्यावरणसम्बन्धी पुस्तक हो । म पर्यावरणको विद्यार्थी भएकाले यो पुस्तक मलाई धेरै रुचिकर लाग्यो ।

नन–फिक्सनको कुरा गर्दा मानवशास्त्री सुरेश ढकालको किताब ‘इतिहासअघिको इतिहास’ पनि छ । मलाई माल्कम ग्लाडवेलको कृति पनि मनपर्छ । ‘ब्लिंक’ र ‘द टिपिङ प्वाइन्ट’ यी दुबै नन–फिक्सनका कृतिहरू मलाई मन पर्छ । 

तपाईंले पढ्न नपाएको कुनै हालै निस्किएको किताब छ ?

सुधीर शर्माका दुई किताब ‘भिक्षु, व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत’ र ‘हिमालपारिको हुरीः गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’ मेरो सूचीमा छ । तर पढ्न पाएको छैन ।  डा. श्रीधर खनालले लेख्नुभएको उपन्यास ‘साविर्णी’ पनि सूचीमा छ । 

नयाा पुस्तालाई कस्तो किताब पढ्न प्रेरित गर्नुहुन्छ ?  

नयाा पुस्तालाई पढ्नुको विकल्प छैन भन्छु म । फिजिकल बुकै पढ्नुस् । अहिले अडियो बुक पनि छ। जति सक्छ, आफ्नो रुचिको विषयमा लेखिएका र कहिलेकाहीँ रुचि थाहा पाउन पनि पढ्नुपर्छ। पढ्दै गएपछि रुचि थाहा  हुन्छ। अनि त्यहीअनुसार पढ्नुपर्छ। पढ्दै गएपछि रुचि पनि थाहा हुन्छ । नयाँ पुस्ता सजिलो किताबबाटै जाँदा ठीक होला ।

नयाँ पुस्ताभन्दा मैले ३० वर्ष मुनिका भन्दैछु। ‘उलार’बाट नै सुरु गर्न सकिन्छ । निबन्धमा हो भने खगेन्द्र संग्रौलाका ‘आफ्नै आाखाको लयमा’, ‘सम्झनाका कुइनेटाहरू’ जस्ता पुस्तकहरूबाट सुरु गर्न सकिन्छ । भाषा हिसाबले मार्मिक, कथ्यको हिसाबले बलियो । दार्शनिक भावभूमिको हो भने सरुभक्तिको ‘पागलवस्ती’बाट सुरु गर्न सकिन्छ । कविताबाट सुरु गर्ने भए श्रवण मुकारुङ तथा अभय श्रेष्ठको कविताबाट सुरु गर्दा हुन्छ । फिजिकल पुस्तक समातेर पढ्नुको मजा डिजिटल बुकमा हुँदैन जस्तो लाग्छ । 

कान्तिपुर संवाददाता

Link copied successfully