पुस्तकले तपाईंलाई जहिल्यै सघाउनेछ : विप्लव प्रतीक

माघ १९, २०८१

कान्तिपुर संवाददाता

The book will always help you: Revolution Symbols

काठमाडौँ — कवि विप्लव प्रतीक आफ्ना कविताजस्तै सालीन र सरल देखिन्छन् । उनका कवितामा प्रेम, मानवीयता र जीवनको गहिरो चिन्तन पाइन्छन् । प्रतीकका ‘नहारेको मान्छे’ (कवितासंग्रह), अविजित (उपन्यास) प्रकाशित छन् । गीत र नाटकमा पनि प्रतीकको बलियो उपस्थिति छ । उनै कविसँग ई–कान्तिपुरका लागि गरिएको पाँच प्रश्नको सम्पादित अश : 

तपाईंले हालै पढ्नुभएको पुस्तक कुन हो ?

एमन बट्लरको विश्वप्रसिद्ध पुस्तक ‘एन इन्टरडक्सन टु इकोनमिक इक्वालिटी’को हालै मैले अनुवाद गर्ने मौका पाएँ । यो पुस्तकले मेरो सोचलाई व्यापक परिवर्तन गर्यो । पुस्तकले संसारमा कोही पनि समान छैननन्, समानताको सपना देखाउनु भनेको जनतालाई झुक्याउनु हो भन्छ ।  आवश्कयता पुग्नुपर्छ र गरिबीको खाडल पुर्नुपर्छ भन्छ । समानताको वकालत गर्नुको साटो कसरी मानिसहरूको आवश्यकतालाई ‘मिट’ गराउने भन्नेतिर सोच्न अभिप्रेरित गर्छ । 

तपाईंलाई मन परेको फिक्सन ?

एउटै मात्र पुस्तकको नाम लिँदा अरु पुस्तकका लागि अन्याय हुन्छ । पुस्तक भनेको ज्ञान  र मानिसमा हुने संवेदनशीलतालाई उच्च स्थानमा पुर्याउने कुरा हुन् । 

तपाईंलाई मन परेको नन्–फिक्सन ?

धेरै छन् । अहिले सम्झँदा युवल नोहा हरारीको ‘सेपिन्यस’ र बाँकी सिरिजका सबै एकदमै आनन्द लागेको थियो । यो पुस्तकले एन्थ्रोपोलोजीको बारेमा डिटेलमा भन्छ । म मानिसहरूलाई एकदमै प्रेम गर्ने मान्छे । विभेद नरुचाउने मान्छे । त्यो किताबले भन्छ कि हामी जुनसुकै जाती र देशका हौँ, हाम्रो रुढ अफ्रिकाबाट आएको हो । हामी सबैजनाको आमा बुबा सुरुमा एउटै हुनुहुन्थ्यो । त्यसले मलाई प्रभाव निकै प्रभाव पार्यो । 

हालै निस्केको तर तपाईंले पढ्न नपाउनुभएको पुस्तक ?

म अनुवादेखि सिर्जनशील लेखनहरूमा व्यस्त हुने कारण नयाँ पुस्तक पढ्न पाएको छैन । मलाई हरारीकै ‘नेक्सस’ पढ्न मन छ । कसैको प्रशंसक भइसकेपछि उसले लेखेको पुस्तकहरू नपढी बस्न सकिँदैन । मैले कसैले सिफारिस गरेको किताब विरलै पढेको छु । मेरो आफ्नो रोजाइ हुन्छ । सर्टेन राइटर, जस्तो कि विश्वेश्वर प्रसाद कोइरालाका कुनै पुस्तक पाएँ भने सिधै किनेर पढ्छु ।

नयाँ पुस्तालाई पुस्तक सिफारिस ?

नयाँ पुस्तलाई राम्रो पुस्तकको खोजीमा रहनुस् भन्छु । एउटा पुस्तक पढेपछि आफैंलाई थाहा हुन्छ कि सोच्ने कुरामा आनका तान फरक आएको कुरा । लेखकले कल्पना गरेको संसार कस्तो छ, त्यो बुझ्दा एउटा मान्छे निश्चित रुपमा ज्ञानी हुन्छ । त्यसकारण पढ्नुचाहिँ पर्छ । फिक्सन, ननफिक्सन, विश्वका इतिहास वा आफ्नो परिवेशको बारेमा आर्थिक सामाजिक राजनीतिक सबै चिजको सामान्य ज्ञान राख्नुपर्छ । तपाईं पछि गएर लेखक बन्नुस् वा उद्यमी ।  वा त कुनै अभियन्ता । पुस्तकले तपाईंलाई जहिल्यै सघाउनेछ ।

किशोरअवस्थामा पढेका कुराहरू मलाई अहिले याद आउँछन् । त्यतिबेला मैले निकोलाई अस्त्रोभस्कीको अग्निदीक्षा पढेको थिएँ । त्यतिबेला म १६ वर्षको थिएँ ।  त्यो किताब पढिसकेपछि जीवन भनेको कुनै पनि दुMख आउँदा विचलित हुनुहुन्न, त्यो कस्ट फेरि दोहोरिएर आउँदैन भनेर दुखलाई सेलिब्रेट गर्न सिक्नुपर्छ, त्यसको लागि साधना चाहिन्छ भन्ने बुझेँ । जीवनको डोरी कुनबेला चुँडिन्छ कसैलाई थाहा छैन । त्यो पुस्तक सम्झिँदा पनि म भाव विह्वल हुन्छु । 

त्यो पुस्तक र संसारका असल पुस्तक म सिफारिस गर्छु । एउटै नराम्रो पुस्तकबाट बच्नुहोला । नराम्रो पुस्तक कुन हो भनेर म सजेस्ट गर्न त त सक्दिनँ । तपाईंको इन्ट्युसनले भन्ने हो । कुनै कुरा हेर्ने बित्तिकै तपाईंको इन्ट्युसन जाग्छ । साहित्य कसले कसरी लिन्छन्, त्यसको बारेमा हरेकका आ–आफ्ना धारणा हुन्छन् । मलाई चाहिँ एउटा असल साहित्यमा एन्थ्रोपोलोजी, सोसल साइन्स, साइकोलोजी तीन वटै चिजको सम्मीश्रण हुन्छ भन्ने लाग्छ । चाहे त्यो कबिता होस् वा गद्य  । वा कुनै संस्मरण । 

मलाई लाग्छ, एन्थ्रोपोलोजीले सोसल साइन्सलाई गन्दैन । सोसल साइन्सलाई म समाजको अध्ययन हामीले मात्र गर्छौँ जस्तो लाग्छ । साइकोलोजीले व्यक्ति विशेषको बारेमा अध्ययन गर्छ । साहित्यकारले सबै चिज मैसँग छ भन्ने ठान्छ । मचाहिँ यी चारै चिज एकअर्कलाई सघाउने चिज हुन् भन्छु । जुन दिन यी सबै चिजले एकअर्कालाई सघाउन थाल्छन् समाजमा नयाँ किसिमको न्यारेटिभ सुरु हुन्छ होला ।

कान्तिपुर

Link copied successfully