काठमाडौँ — छुदेन काविमो नेपाली भाषाका सशक्त आख्यानकार हुन् । हालैमात्र उनको नयाँ उपन्यास ‘उरमाल’ सार्वजनिक भएको छ । भारतको कालिम्पोङवासी छुदेनको यसअघि कथासंग्रह ‘१९८६’ र उपन्यास ‘फातसुङ’ प्रकाशित छन् । छुदेनको हालै प्रकाशित उपन्यासले श्रमिकको कथा उनेको छ । ‘जुन चिया पिएर अधिकांश मान्छेले दिनको सुरुवात गर्छन्, त्यही चिया उमार्नेको कथा हो उरमाल,’ छुदेन भन्छन् । उनै छुदेनसँग ई–कान्तिपुरका लागि गरिएका ‘पाँच प्रश्न’ :
तपाईंले पछिल्लो पटक पढ्नुभएको पुस्तक ?
फिक्सनमा काम गर्न सबैभन्दा बढी नन–फिक्सन पढ्नुपर्दो रहेछ । मैले पछिल्लो पटक पढेको पुस्तक डीएचई सुन्दरको ‘सर्भे एण्ड सेटल्मेन्ट अफ द वेस्टर्न डुअर्स इन द डिस्ट्रिक जलपाइगुडी, १८८९–१८९५’ हो । उक्त पुस्तकमा डुअर्समा ब्रिटिस कसरी आयो र आवादी कसरी सुरु भयो भन्ने इतिहास छ । भुटानसँगको संघर्ष र इतिहास राम्रोसँग आएको छ । यो पुरानो पुस्तक हो । यसलाई डा. डिसी रोयले सम्पादन गर्नुभएको छ ।
तपाईंलाई मन परेको फिक्सन ?
मलाई सबैभन्दा धेरै मन परेको उपन्यास पर्ल एस. बकको ‘द गुड अर्थ’ हो । यो निकै पुरानो उपन्यास हो । यो आख्यानमा एउटा गाउँको भोकमरीको कथा देखाइएको छ । त्यो आममान्छेको संघर्षको कथा सबैभन्दा धेरै मन परेको हो । त्यसमा पनि वागलुङ भन्ने जुन पात्र देखाइएको छ । त्यो विशेष छ । त्यो पात्रको पहिला केही नहुँदा ठिकठाक जिन्दगी चलिरहेको थियो । दु:ख धेरै भए पनि संघर्षसँग जीवन अघि बढिरहेको थियो । अचानक जीवनमा परिवर्तन आएपछि ऊ आर्थिक रुपमा सम्पन्न भयो । त्यसपछिको जीवन कसरी परिवर्तन हुन्छ, उसको स्वभाव कसरी बद्लिएर जान्छ भन्ने कुरा कुशल तरिकाले देखाएजस्तो लाग्छ । फराकिलो फाँटमा लेखिएको त्यो उपन्यास पढेपछि जिन्दगीमा यतिको उपन्यास लेख्नुपर्छ भनेर जहिल्यै लागिरह्यो ।
दोस्रोचाहिँ पाकिस्तानी लेखक तहमिना दुर्रानीको ‘ब्लेसफेमी’ धेरै मन परेको हो । त्यो किताबको नाम म अहिले पनि लिइरहेको हुन्छु । मुस्लिम समाजभित्र धर्मगुरुले महिलामाथि गरेको शोषणको कथा छ यसमा । कसरी त्यहाँ शोषण हुन्छ भन्ने कुरा उधिनेको छ । सामान्य महिलालाई विहे गरेर लगेपछि कति प्रकारले शोषण गरिएको छ भन्ने कुरा एकदमै मिहिन ढँगले देखाइएको छ ।
तपाईंलाई मन परेको नन–फिक्सन ?
म कालिम्पोङकै भएका कारण मलाई मन परेको नन– फिक्सन सर फ्रान्सिस इवार्ड योङ हजबेन्डको ‘इन्डियन तिब्बत’ भन्ने पुस्तक हो । त्यो पुस्तकमा कालिम्पोङको इतिहास र ब्रिटिस तिब्बतको विषयमा गहिरो खुराक पाइन्छ । लेखकले आफ्नो अनुभवसहित लेखेको त्यो पुस्तक धेरै मन पर्यो ।
हालै निस्केको तर पढन नपाउनुभएको पुस्तक ?
भारतमा निस्केका पुस्तक त पाइन्छन् । नेपालमा प्रकाशित सुधीर शर्माका पछिल्ला दुईवटा पुस्तक बजारमा आएका छन्– ‘हिमालपारीको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ । यी दुईवटा पुस्तक पढ्ने इच्छा हो । मलाई उहाँको पहिलो किताब ‘प्रयोगशाला’ पढ्दा निकै मज्जा आएको थियो । नयाँ पुस्तक तिब्बतसँग जोडेर लेखेका कारण पनि पढ्ने रुचि थियो । म यसपटक पढ्छु ।
नयाँ पुस्तालाई कुन–कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
समाजसँगै जोडिएको पुस्तकको कुरा गरौँ । सहादत हसन मन्टोका कथाहरू एकदमै राम्रा छन् । जसले कथा लेख्न चाहिरहेको छ, उसले मन्टोलाई पढ्यो भने कथा कसरी लेख्ने भन्ने तरिका सबैभन्दा राम्रोसँग सिक्न सक्छ ।
उनका सिमानाका कथाहरूमा महिला यौनकर्मीका कथा छन् । यी कथा उनले त्यो समयमा लेख्दा धेरैबाट गाली खाए होला । अश्लील लेखकको रुपमा बदनाम गराइए होला । बाँचुन्जेल पनि गाली खाए होला । तर अहिले पढ्दा त्यो समयमा उनले कसरी लेखे होला भन्ने प्रश्न आउँछ । हामीलाई अश्लील लाग्ने कुरा उनको जीवनसँग कसरी जोडिएको छ भन्ने कुरा सबैभन्दा सुन्दर पक्ष हो जस्तो लाग्छ । उनको पुस्तक ‘माई नेम इज राधा’ छ । यो पुस्तक मलाई सबैभन्दा मन परेको हो । अर्को पुस्तक बेन्यामिनको ‘खबुज’ धेरै मन परेको हो । यसमा बसाइँसराइको कथा छ । खाडी देशमा गएको व्यक्तिको चरम संघर्षको कथा । यो पनि पढ्ने सिफारिस गर्छु । माथि नाम लिएका पुस्तक पनि पढ्न सिफारिस गर्छु ।
