'नयाँ पुस्तालाई ‘संस्कृति चिन्तन’ पढ्न सिफारिस गर्छु'

पुस २०, २०८१

कान्तिपुर संवाददाता

”I recommend the new generation to read 'Sanskriti Chintan'”

काठमाडौँ — कुमारी लामा मूलतः लेखक हुन् । उनका दुई निबन्धसङ्ग्रह ‘उज्यालो अन्धकार’ र ‘दर्ज्यु संलाप’प्रकाशित छन् । समीक्षक तथा समालोचकको पनि बलियो परिचय बनाएकी उनी त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी विषय प्राध्यापनसमेत गर्छिन् ।

प्रस्तुत छ, उनै लेखक लामासँग कान्तिपुरका लागि गरिएका ‘पाँच प्रश्न’को सम्पादित अंश :  

पछिल्लो पटक तपाईंले पढ्नुभएको पुस्तक ?

मोहन मैनालीको ‘मुकाम रणमैदन’। युद्धको विषयमा हाम्रा विभिन्न किसिमका धारणा छन् । युद्धलाई हामीले ग्लोरिफाई गर्छौं । त्यसको वीरता र साहसका कुरा हुन्छन् । तथापि युद्धमा सामेल भएका व्यक्तिहरूको पीडा उक्त पुस्तकमा उजार भएको छ । यो पुस्तक मेरा लागि इतिहासलाई चियाउने एउटा दस्ताबेज भएको छ ।

साथै मैले जोनाथन लियरको ‘र्‍याडिकल होप’ हालसालै पढेको हुँ । यो चाहिँ नेटिभ अमेरिकनसँग सम्बन्धित छ । हामीले गरिरहेका जीवनयापन, हाम्रा मूल्य प्रणालीका विविध पक्षहरू, हाम्रा जीवनदृष्टिहरू एकाएक अतिक्रमणमा पर्छन् । त्यस्तो बेलामा हाम्रो कस्तो खालको मनस्थिति हुन्छ ? हामीले त्यसलाई कसरी ‘ट्र्याकल’ गर्छौं भन्ने दार्शनिक चिन्तन गरिएको पुस्तक हो यो । 

तपाईंलाई मन परेको फिक्सन ?

मलाई क्लासिक फिक्सनमा फ्योदोर दोस्तोभस्कीको ְ‘क्राइम एन्ड पनिसमेन्ट’, ‘नोट्स फ्रम अन्डरग्राउन्ड’ मनपर्ने उपन्यास हुन् । तिनीहरू डार्क रियालिटी हुन् । यी पुस्तकले हामीभित्रका अँध्यारा पक्ष उजागर गर्छन् । दोस्तोभस्कीले तत्कालीन रसियन समाजको सामाजिक, राजनीतिक पृष्ठभूमिमा रहेर काम गर्छन् । त्यसकारण पनि मलाई उनका ती उपन्यास मनपर्छन् । साथै नेपालको सन्दर्भमा पारिजातका उपन्यास ‘पर्खालभित्र र बाहिर’ मन परेको उपन्यास हो  ।

त्यसका पात्रहरू अत्यन्तै जीवन्त छन् । वर्गीय हिसाबले अत्यन्त तल रहेका ती पात्रहरू जस्तो क्युरी बाटुली जस्ता पात्र पनि एकदम प्रतिरोधी स्वरसहित अगाडि आएका छन् । आजको सन्दर्भमा हेर्दा ती प्रतिरोधी आवाज सधैँका लागि आवश्यक पर्छन् । सरुभक्तको  ‘पागल बस्ती’वा नारायण ढकालका उपन्यास पनि मेरा प्रिय उपन्यासभित्र पर्छन् ।

मन परेको ननफिक्सन ?

ननफिक्सन थुप्रै छन् । त्यसमा पनि मलाई समाज संस्कृति र इतिहासँग जोडिएका कुरा भएका पुस्तक अत्यन्त प्रिय लाग्छन् । जस्तो कि, म आदिवासी समुदायभित्रको भएका कारण मलाई त्यतातिर झुकाव छ । पशुराम तामाङको ‘तामाङ जाति’ , कुमार यात्रुका आदिवासी सौन्दर्यको कुरा, चिन्तन, ज्ञानका प्रणालीका कुरा समेटिएका पुस्तक मनपर्छन् । यद्यपि, ननफिक्सनमा अरु पनि थुप्रै छन् । 

पढ्न चाहेको तर पढ्न नपाएको पुस्तक ?

मलाई पढ्न मन लागिरहेको पुस्तक आन्द्रेस होफरको ‘तामाङ रिचुअल टेक्स्ट‘ हो । मैले खोजिरहेको छु तर पाइरहेको छैन । यो चाहिँ तमाङ समुदायभित्रको सांस्कृतिक अभ्यास, रिचुअल अभ्यासबारे गहन अध्ययन गरेर लेखिएको पुस्तक भएका कारण मलाई बुझ्न मन छ । यो धेरैअघि लेखिएको पुस्तक हो । यो नेपालमा अभाव छ । बाहिरबाट मगाउनुपर्नेछ । महँगो पनि छ ।  

नयाँ पुस्तालाई पुस्तक सिफारिस ?

नयाँ पुस्ताका आफ्नै रुचि छन् । अहिले धेरै नयाँ विषय पनि आएका छन् । तथापि हामीले समाज र संस्कृतिसँग जोडिएका पुस्तकहरू पढ्दा ज्ञानको दायरा फराकिलो हुन्छ । जस्तो कि अरुण गुप्तोको ‘संस्कृति चिन्तन’ । जहाँ सँस्कृतिका विभिन्न पाटा, मिथकका कुरा छन् । हाम्रो समाजसँग जोडिएका विभिन्न कुरा त्यहाँ उजागर भएका छन् । मिथकसँग जोडिएका अथवा देवीहरूको विरोधाभास बिम्बका कुरा छन् । यसले कुनै न कुनै रूपमा सिर्जनात्मकतातिर पनि डोहोर्‍याउँछ । धरातलमा रहरहन पनि यसले सहयोग गर्छ ।

हामी कथा सुन्न र भन्न मन पराउने प्राणी हौं । यस्ता किसिमका कथाले समाजका पात्रहरूको बारेमा बोल्छन् । त्यसका माध्यमबाट सामान्य लाग्ने पात्रबाट पनि हामीले विभिन्न इतिहासका कुरा थाहा पाउन सक्छौँ । नारायण ढकालका गैरआख्यान, भुवन ढुंगानाका उपन्यासहरू जसले हामीलाई ती पात्रका माध्यमबाट समाजका फरक परिदृश्य दिन सक्छन् ।   

 

कान्तिपुर

Link copied successfully