रंगकर्मी केदार श्रेष्ठ नाटक तथा साहित्यको क्षेत्रमा परिचित नाम हो। पछिल्लो समय मात्र उनले ‘ढुकढुकी ७२ मेगाहर्ज’ नाटक लेखन तथा निर्देशन गरे । बालसाहित्य लेखनमा पनि उनको गहिरो लगाव छ ।
चलचित्र क्षेत्रमा पनि कलात्मक काम गरिरहेका केदारको सर्ट फिल्म ‘जुनुको जुत्ता’ले विभिन्न अन्तर्राष्ट्रिय यात्राहरू पनि गर्यो । उनै केदारसँग ई-कान्तिपुरका लागि गरिएका पाँच प्रश्नको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।
तपाईंले पछिल्लो समय पढ्नुभएको पुस्तक कुन हो ?
पुस्तक म नियमित पढिराख्ने स्वभावको हुँ । तर तुलनात्मक रुपमा पछिल्लो समय अध्ययन कमी भइरहेको छ । सिनेमा धेरै हेर्न थालेपछि पो हो कि ! हालै मैले साहित्यकार इन्द्र बहादुर राईको ‘आज रमिता छ’ तेहेर्याएर पढेँ । जति पटक पढ्दा पनि त्यसलाई फरक डाइमेन्सनबाट बुझ्न सकिने रहेछ । आख्यान पढिरहँदा त्यहाँभित्रका पात्रलाई थप बुझ्ने मौका पाइरहेको छु ।
यो आख्यानलाई रगमञ्चको दृष्टिकोणबाट पनि हेरिरहेको छु । पछिल्लो समय पहिलाका कथा, आख्यान पढिरहँदा यी त गजबका सिर्जना रहेछन् भन्ने महसुस भइरहेको छ । कुनै बेला स्कुल कलेज पढ्दा कथा बुझ्न मात्र अध्ययन गरियो होला । तर अहिले त्यसको समाजशास्त्रीय दृष्टिकोण र सौन्दर्यका दृष्टिकोणबाट पनि पढिरहेको छु ।
तपाईंलाई मन परेको फिक्सन कुन सम्झनुहुन्छ ?
पुस्तक मनपर्ने नपर्ने भन्ने कुरा पनि समयाअनुसार हुँदो रहेछ । सुरु सुरुमा पढिएका पुस्तकले बढी प्रभाव पार्दा रहेछन् । मैले रसियन साहित्य धेर पढेँ । त्यतिबेला पढेको म्याक्सिम गोर्कीको ‘आमा’ अहिले पनि सम्झिराख्ने पुस्तक हो । यो अहिले पनि विश्व चर्चित आख्यानमा पर्छ । यसलाई राजनीतिक दर्शनसँग जोडेर पनि हेर्ने गरिन्छ ।
मलाई उपन्यासका पावेल जसता पात्रहरू सम्झना आइरहन्छन् । समाजको सामान्य मान्छे पनि कसरी हिरो बन्न सक्छन् भन्ने ज्वलन्त पात्र हो पावेल । किशोर समयमा पढ्दा यी कथा र पात्रले आङ जिरिङ्ग गराउँछन् । म पनि यो समाजको हिस्सा हुँ र यो समाजप्रति मेरो पनि केही दायित्व छ भन्ने कुरा यो पुस्तकले दिन्छ । त्यसकारण मलाई अहिले पनि सुरुमै आउने पुस्तकको नाम ‘आमा’ हो ।
तपाईंलाई मन परेको नन फिक्सन ?
म नन फिक्सन कम पढ्छु । तर पछिल्लो समय पढ्ने प्रयत्न गरिरहेको छु । अहिले ननफिक्नस धेरै पढ्नुपर्ने रहेछ भनेर महसुस गरिरहेको छु । मैले अगाडि नै पढेकोपाउलो फ्रेरेको पेडागोजी अफ अप्रेस्ड’ पढेका मध्ये मन परेको पुस्तक हो । किनकि यो पुस्तकले मैले गर्ने काम र सोचाइलाई सघायो । जागरुक गरायो । हाम्रा काम कस्ता खालका राजनीतिक दर्शकबाट प्रेरित भएका हुन्छन् भन्ने कुरा पनि यो पुस्तकले सिकायो ।
हालै निस्कको तर पढ्न नपाएको पुस्तक ?
पुस्तक त थुप्रै निस्किएका छन् । म नेपाली पुस्तकहरू पढिरहेको छु भ्याएसम्म । हालै म भारत रंग महोत्सवमा गएर आउँदा एउटा पुस्तक लिएर आएको छु । म नाटकमा कर्म गरिरहेको भएकाले बर्तोल ब्रेख्तको ‘ब्रेख्त अन थिएटर’ भन्ने पुस्तकको नयाँ एडिसन लिएँ । धेरै अघि निस्किएको भए पनि मेरो लागि यो नयाँ पुस्तक हो । किनकि पुस्तकहरू नपढुन्जेल नयाँ नै हुन्छन् । आज भन्दा सय वर्षअगाडि निस्किएको पुस्तक मैले पढेको छैन भने त्यो मेरो लागि नयाँ नै हो ।
नयाँ पुस्तालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
यही पुस्तक भनेर सिफारिस गर्नचाहिँ कठिन छ । किनकि मेरो रुचि, लगाव एउटा हुन सक्छ । तपाईंहरूको एउटा । तर पछिल्लो समय ०४० सालभन्दा अगाडि लेखिएका नेपाली आख्यान बढी खोतलिरहेको छु । त्यो पढिरहँदा पात्रले समाजमा कसरी बोलिरहेको छ, त्यसको दृष्टिकोण कस्तो छ र त्यसले आम मानिसमा कस्तो प्रभाव पार्छ ? यसले आम मानिसमा प्रतिनिधित्व गरिरहेको छ कि छैन भन्ने कुरा म हेरिरहेको हुन्छु ।
०४० भन्दा अगाडिका आख्यानहरू मेरा लागि विशेष लागिरहेका छन् । हाम्रोमा फिक्सनमा पनि एक खालको डिजाइन गरिएको छ । पुस्तक त जति भेटिन्छ पढ्नुस् । तर मैले पढिरहेको हुँदा तीबेलाका पुस्तकले मलाई बढी प्रभाव पारिरहेका छन् । म त्यो समयमा लेखिएका पुस्तक सिफारिस गर्न चाहन्छु ।
