‘नपढुन्जेल पुस्तकहरू नयाँ नै हुन्छन्’

फाल्गुन १०, २०८१

कान्तिपुर संवाददाता

”Books are new until they are read”

रंगकर्मी केदार श्रेष्ठ नाटक तथा साहित्यको क्षेत्रमा परिचित नाम हो। पछिल्लो समय मात्र उनले ‘ढुकढुकी ७२ मेगाहर्ज’ नाटक लेखन तथा निर्देशन गरे । बालसाहित्य लेखनमा पनि उनको गहिरो लगाव छ ।

चलचित्र क्षेत्रमा पनि कलात्मक काम गरिरहेका केदारको सर्ट फिल्म ‘जुनुको जुत्ता’ले विभिन्न अन्तर्राष्ट्रिय यात्राहरू पनि गर्‍यो । उनै केदारसँग ई-कान्तिपुरका लागि गरिएका पाँच प्रश्नको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।

तपाईंले पछिल्लो समय पढ्नुभएको पुस्तक कुन हो ?

पुस्तक म नियमित पढिराख्ने स्वभावको हुँ । तर तुलनात्मक रुपमा पछिल्लो समय अध्ययन कमी भइरहेको छ । सिनेमा धेरै हेर्न थालेपछि पो हो कि ! हालै मैले साहित्यकार इन्द्र बहादुर राईको ‘आज रमिता छ’ तेहेर्‍याएर पढेँ । जति पटक पढ्दा पनि त्यसलाई फरक डाइमेन्सनबाट बुझ्न सकिने रहेछ । आख्यान पढिरहँदा त्यहाँभित्रका पात्रलाई थप बुझ्ने मौका पाइरहेको छु ।

यो आख्यानलाई रगमञ्चको दृष्टिकोणबाट पनि हेरिरहेको छु । पछिल्लो समय पहिलाका कथा, आख्यान पढिरहँदा यी त गजबका सिर्जना रहेछन् भन्ने महसुस भइरहेको छ । कुनै बेला स्कुल कलेज पढ्दा कथा बुझ्न मात्र अध्ययन गरियो होला । तर अहिले त्यसको समाजशास्त्रीय दृष्टिकोण र सौन्दर्यका दृष्टिकोणबाट पनि पढिरहेको छु । 

तपाईंलाई मन परेको फिक्सन कुन सम्झनुहुन्छ ?

पुस्तक मनपर्ने नपर्ने भन्ने कुरा पनि समयाअनुसार हुँदो रहेछ ।  सुरु सुरुमा पढिएका पुस्तकले बढी प्रभाव पार्दा रहेछन् । मैले रसियन साहित्य धेर पढेँ । त्यतिबेला पढेको म्याक्सिम गोर्कीको ‘आमा’ अहिले पनि सम्झिराख्ने पुस्तक हो  । यो अहिले पनि विश्व चर्चित आख्यानमा पर्छ । यसलाई राजनीतिक दर्शनसँग जोडेर पनि हेर्ने गरिन्छ ।

 मलाई उपन्यासका पावेल जसता पात्रहरू सम्झना आइरहन्छन् । समाजको सामान्य मान्छे पनि कसरी हिरो बन्न सक्छन् भन्ने ज्वलन्त पात्र हो पावेल । किशोर समयमा पढ्दा यी कथा र पात्रले आङ जिरिङ्ग गराउँछन् । म पनि यो समाजको हिस्सा हुँ र यो समाजप्रति मेरो पनि केही दायित्व छ भन्ने कुरा यो पुस्तकले दिन्छ । त्यसकारण मलाई अहिले पनि सुरुमै आउने पुस्तकको नाम ‘आमा’ हो । 

तपाईंलाई मन परेको नन फिक्सन ?

म नन फिक्सन कम पढ्छु । तर पछिल्लो समय पढ्ने प्रयत्न गरिरहेको छु । अहिले ननफिक्नस धेरै पढ्नुपर्ने रहेछ भनेर महसुस गरिरहेको छु । मैले अगाडि नै पढेकोपाउलो फ्रेरेको पेडागोजी अफ अप्रेस्ड’ पढेका मध्ये मन परेको पुस्तक हो । किनकि यो पुस्तकले मैले गर्ने काम र सोचाइलाई सघायो । जागरुक गरायो । हाम्रा काम कस्ता खालका राजनीतिक दर्शकबाट प्रेरित भएका हुन्छन् भन्ने कुरा पनि यो पुस्तकले सिकायो ।

हालै निस्कको तर पढ्न नपाएको पुस्तक ?

पुस्तक त थुप्रै निस्किएका छन् । म नेपाली पुस्तकहरू पढिरहेको छु भ्याएसम्म । हालै म भारत रंग महोत्सवमा गएर आउँदा एउटा पुस्तक लिएर आएको छु । म नाटकमा कर्म गरिरहेको भएकाले बर्तोल ब्रेख्तको ‘ब्रेख्त अन थिएटर’ भन्ने पुस्तकको नयाँ एडिसन लिएँ । धेरै अघि निस्किएको भए पनि मेरो लागि यो नयाँ पुस्तक हो । किनकि पुस्तकहरू नपढुन्जेल नयाँ नै हुन्छन् । आज भन्दा सय वर्षअगाडि निस्किएको पुस्तक मैले पढेको छैन भने त्यो मेरो लागि नयाँ नै हो ।

नयाँ पुस्तालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?

यही पुस्तक भनेर सिफारिस गर्नचाहिँ कठिन छ । किनकि मेरो रुचि, लगाव एउटा हुन सक्छ । तपाईंहरूको एउटा । तर पछिल्लो समय ०४० सालभन्दा अगाडि लेखिएका नेपाली आख्यान बढी खोतलिरहेको छु । त्यो पढिरहँदा पात्रले समाजमा कसरी बोलिरहेको छ,  त्यसको दृष्टिकोण कस्तो छ र त्यसले आम मानिसमा कस्तो प्रभाव पार्छ ? यसले आम मानिसमा प्रतिनिधित्व गरिरहेको छ कि छैन भन्ने कुरा म हेरिरहेको हुन्छु ।

०४० भन्दा अगाडिका आख्यानहरू मेरा लागि विशेष लागिरहेका छन् । हाम्रोमा फिक्सनमा पनि एक खालको डिजाइन गरिएको छ । पुस्तक त जति भेटिन्छ पढ्नुस् । तर मैले पढिरहेको हुँदा तीबेलाका पुस्तकले मलाई बढी प्रभाव पारिरहेका छन् । म त्यो समयमा लेखिएका पुस्तक सिफारिस गर्न चाहन्छु ।   

पाँच प्रश्न

कान्तिपुर

Link copied successfully