काठमाडौँ — डा. राजेन्द्र कोजू मुटुरोग विशेषज्ञ हुन् । कोजूको हालै कथासंग्रह ‘मुटुको कथा’ सार्वजनिक भएको छ । आफ्ना कथाबारे उनी भन्छन्, ‘डाक्टरले लेखेको भन्नासाथ मेरो आत्मवृत्तान्तजस्तो लाग्ला । तर हैन ।’ उनका अनुसार आफूले मुटुको उपचार गरेका मानिसहरूको कथा संग्रहमा समावेश छन् ।
कथासंग्रहमा मुटुको रोगबाट बच्न अपनाइने उपाय पनि आख्यानको माध्यमबाट उनले भन्न खोजेका छन् । उनै कोजूसँग ई–कान्तिपुरका लागि गरिएका पाँच प्रश्नको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।
तपाईंले पछिल्लो पटक पढ्नुभएको पुस्तक कुन हो ?
म अहिले सुधीर शर्माको ‘भिक्षु : व्यापार र विद्रोह’ पढ्दैछु । त्यो पुस्तक मलाई एकदम मन परेको हो । पुस्तकमा समावेश ऐतिहासिक पृष्ठभूमि पनि पढ्दा रमाइलो लाग्दो रहेछ । सँगै त्यसमा आधिकारिक तथ्यांक पनि दिइएको हुनाले मजा आइरहेको छ । यसको प्रस्तुति पनि रमाइलो छ । यो पुस्तक पढ्दा एकैपटक १० वटा पुस्तक पढिरहेको अनुभव हुँदो रहेछ ।
तपाईंलाई मन परेको फिक्सन कुन हो ?
स्कुल पढ्दाका केही उपन्यासहरू याद आउँछन् । ‘बसाइँ’, र नाटक ‘कोही किन बर्बाद होस्’ । ‘मन’ पनि एकदम मनपर्ने पुस्तकमा पर्छ । ‘मन’ अहिले नयाँ स्वरुपमा बजारमा आएको रहेछ । मैले पढ्ने बेलामा अगाडिको पन्ना पनि नभएको, पछाडिको पन्ना पनि । बीचको पन्नाबाट सुरु गरेको थिएँ । त्यो एकदम मन परेको उपन्यास हो मलाई । यसमा समाजको चित्रण साह्रै राम्रोसँग गरिएको छ ।
तपाईंलाई मन परेको नन–फिक्सन ?
कहिलेकाहीँ जीवनयापनका कुराहरू पढिरहेको हुन्छु । जापानी लेखकले लेखेको ‘इकिगाइ’ होस् वा अरु कुनै अन्तर्राष्ट्रिय बेस्ट सेलर पुस्तक । यिनीहरू पढिरहेको हुन्छु । हालै ९२ वर्षका भारतीय रिटायर्ड आर्मी अफिसरले लेख्नुभएको पुस्तक पढेँ . उहाँ ९२ वर्षमा पनि दौडिनुहुन्छ । जगिङ गर्नुहुन्छ । हामीले आफूलाई ठीक पार्न के गर्न सकिन्छ भन्ने खालको पुस्तक पढ्छु भने कहिलेकाहीँ देशकै राजनीतिका कुरा अथवा राजनीतिकै कुरा पढ्छु । जस्तो कि ‘ह्वाइ नेसन्स फेल’ । नेपाली गैर–आख्यान पनि मलाई मन पर्छन् ।
हालै निस्केको तर पढ्न नपाएको पुस्तक ?
उपन्यास पनि मनपर्ने भएका कारण म पुस्तकहरू किनेर राख्छु । त्यसमा ‘उरमाल’ भर्खर किनेको छु । पढ्न पाएको छैन । अरु पनि थन्किएका पुस्तक छन् ।
नयाँ पुस्तालाई कस्ता पुस्तक पढ्न सुझाउनुहुन्छ ?
म त जुनसुकै पुस्तक पढ्दा पनि हुन्छ भन्छु । एउटा पुस्तक रचना गर्न लेखकले धेरै मेहेनत गरेको हुन्छ । आफ्नो रुचि केमा छ ? फिक्सन वा ननफिक्सन ? कथा, कविता, वास्तविकताको आधारमा लेखिएको मनपर्छ अथवा कुनै टेक्स्ट बुक । तर पढ्नुचाहिँ पर्छ । पुस्तक पढ्ने बानी पार्नुपर्छ । कोही मान्छेले पुस्तक पढ्छ भने उसको आयु पनि बढ्छ र उसको पिसफुल माइन्ड हुने भएकाले शारीरिक स्वास्थ्य पनि स्फूर्त हुन्छ ।
