‘आत्मप्रशंसाले भरिएका किताब नयाँ पुस्ताले नपढून् भन्ने लाग्छ’

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

”I think the new generation should not read books full of self-praise”

काठमाडौँ — लेखक आन्विका गिरी कथा, उपन्यास र बाल साहित्य लेखनमा स्थापित नाम हो । उनको ‘कम्युनिष्ट कथा संग्रह’, ‘मान्छेको रङ’ उपन्यास लगायत दुई दर्जनभन्दा बढी बाल साहित्यका पुस्तक प्रकाशित छन् ।

पछिल्लो समय ‘आमाले सक्नुहुन्छ’ र ‘सानीका ज्ञानी कुरा’ निकै रुचाइका पुस्तक हुन् । ईकान्तिपुरको स्तम्भ 'पाँच प्रश्न'मा लेखक गिरीसँगको कुराकानी : 

तपाईंले हालसालै पढ्नुभएको पुस्तक कुन हो ?

मैले भर्खरै पढेको पुस्तक फणीश्वरनाथ रेणुको ‘सात सालको कथा’ हो । जसलाई तुलसी भट्टराईले नेपालीमा अनुवाद गर्नुभएको छ । हामी नेपाली विभिन्न आन्दोलनको बेलामा विभिन्न षड्यन्त्रको सिकार भएका छौँ । रेणुले सात सालको क्रान्तिलाई आफ्नो नजरबाट नियाल्नुभएको छ । 

क्रान्ति र आन्दोलनमा न्यूनतम मानव अधिकारको रक्षा, लोकतन्त्रको कुराहरू कुनै देशको सीमाभन्दा फराकिलो हुँदो रहेछ भनेर बुझ्नका लागि पनि यो पुस्तक पढ्न रोचक हुन्छ । 

तपाईंलाई मन पर्ने फिक्सन कुन हो ?

म धेरै फिक्सन पढ्ने मान्छे हुँ । म अहिले विशेष पुस्तकको नाम लिन चाहन्छु । विचित्र किसिमको मानवीय संवेदना मलाई यो पुस्तकले गर्‍यो । अरु कथा पढ्दा कि त तिनले मलाई वैचारिक रुपमा जागृत गरेका हुन्थे कि त मभित्र नयाँ सूचना ज्ञान दिएका हुन्थे । वा लेखकको क्राफ्टले छक्क परेको हुन्थेँ । यो पुस्तकले मभित्र मानवीय संवेदना जागृत गर्‍यो । यो हो, भारतीय अभिनेता मानव कौरको उपन्यास ‘तित्ली’ ।

यो पुस्तक मैले ८ महिनाअगाडि मात्र पढेँ । यो पुस्तकले मलाई बेचैन गरायो । सरल तरिकाले मृत्युका बारेमा लेखिएको पुस्तक हो । एउटी आमाले आफ्नो छोरा बितेपछि ऊ मरेको दिन के भएको थियो ? सानासाना घटनाको कुरालाई अर्को देशमा बसेको मान्छेले ती आमाले लेखेको पुस्तक पढेर फेरि उसले ती आमाले के महसुस गरिन् होला भनेर पुस्तक तयार पारेका छन् । मैले पनि जीवनमा गुमाएका मेरा प्रियजनहरूबारे सम्झेँ । उहाँहरू गुमाएको दिन के भएको थियो भनेर मैले कहिल्यै फर्केर हेरिनँ । यो पुस्तकले मलाई त्यहाँसम्म पुर्‍यायो।

तपाईंलाई मन पर्ने ननफिक्सन कुन हो ?

मेरो पहिलो रोजाइ ननफिक्सन होइन । तर ननफिक्सन आफूमा भएको क्षमता परिस्कृत गर्न वा ज्ञानको दायरा फराकिलो बनाउन मद्दत गर्ने भएकाले ननफिक्सन पढ्ने भइहालियो । मलाई मीना आचार्यको 'स्वतन्त्रता र समानताको निरन्तर यात्रा' मन पर्छ । यो उहाँको आत्मकथा हो ।

नेपालमा पछिल्लो समय धेरै आत्मकथाको बाढी आएको छ । एकदम इमानदारीपूर्वक देखिएको र आफूलाई पनि आत्मालोचना गरिएको छ । यसले २००७ सालदेखि अहिले लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा हुँदासम्मको महिलाहरूको अवस्थाबारे बुझ्न पुस्तकले मद्दत गर्छ । एकदमै सरल भाषामा इमानदारीपूर्वक लेख्नुभएको छ।

हालै निस्किएको तर पढ्न नपाउनुभएको पुस्तक ?

पछिल्लो समय पढ्न धेरै पुस्तक छुटिरहेको छ । एउटा पढ्दापढ्दै राखेको छु हेमन्त मिश्रको ‘श्रीपाँचको सेवा’मा । अनि सुधीर शर्माको पछिल्ला दुई किताब पढ्न चाहेको तर पढ्न भ्याइरहेकी छैन । 

नयाँ पुस्तालाई कस्ता पुस्तक सिफारिस गर्नुहुन्छ ?

देशमा भएको विभिन्न परिवर्तनलाई बुझ्न सघाउ पुर्‍याउने पुस्तक पढुन् भन्ने लाग्छ । विविधता बुझ्ने, समाज बुझ्ने, एकले अर्कालाई सम्मान गर्ने खालका पुस्तकहरू पढून् भन्ने लाग्छ । कसरी हामी प्रश्न गर्न सक्छौँ र त्यसको जवाफ कसरी खोज्ने भन्ने खालको कुरा बुझाउने पुस्तक पढून् भन्ने लाग्छ ।

हाम्रो नेपालमा प्रकाशित केही आत्मप्रशंसाले भरिएका आत्मकथा नयाँ पुस्ताले अहिले नपढून् भन्ने लाग्छ । धेरै किताब पढेपछि मात्र पढून् । नत्र त ती पुस्तकले अहिलेको पुस्तालाई दिग्भ्रमित गर्छन् कि भन्ने लाग्छ ।

मलाई स्टेफन हकिङको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’चाहिँ  पटकपटक पढ्यो भने भोलि ग्लोबल सिटिजनमा जाँदा सोचाइको दायरालाई फराकिलो बनाउन मद्दत गर्छ ।  

कान्तिपुर

Link copied successfully