अध्ययनले समाज हेर्ने दृष्टिकोण फरक बनाउँछ : मीना पौडेल

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — मीना पौडेल लेखक तथा अनुसन्धानकर्ता हुन् । आप्रवासनको विषयमा लामो समयदेखि अध्ययन तथा अनुसन्धान गरेकी उनको हालै बजारमा पुस्तक ‘साहस : महिला बेचबिखन, बहिष्कार र प्रतिकार’ सार्वजनिक भएको छ ।

पुस्तकले नेपालमा मानव बेचबिखनका विभिन्न आयामको बारेमा गहिरो विमर्श गर्छ । उनै लेखक तथा अनुसन्धानकर्ता पौडेलसँग ई–कान्तिपुरको 'पाँच प्रश्न’ स्तम्भका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

तपाईंलाई पुस्तक पढ्ने बानी कसरी लाग्यो ? यो किन जरुरी छ ?
ज्ञानको कुनै सीमा हुँदैन । म स्कुलमा ५/६ कक्षा पढ्दादेखि नै कविता लेख्थेँ । विभिन्न साहित्यिक कार्यक्रममा संलग्न हुँदादेखि नै कविता, निबन्ध लेख्नका निम्ति पढ्नुपर्थ्यो । म त्यतिबेलादेखि नै पढ्थेँ । अहिले म धेरै यात्रा गर्छु । यात्रा गर्दा समय काट्ने नै पुस्तक पढेर हो । 

पुस्तक ज्ञानका लागि पढ्न जरुरी छ । पुस्तक भनेको ज्ञानको भण्डार हो । तपाईं जति पढ्दै जानुभयो उति गहिराइमा पुग्नुहुन्छ । मेरो अनुभवमा एउटा पुस्तक तपाईंले पढ्नुभयो भने दर्जनौँ पुस्तकको सुझाव आउँछ । अनि दर्जनौँ पुस्तक खोज्नुहुन्छ । एउटा पुस्तकले तपाईंलाई गहिराइमा जान मद्दत गर्छ ।

पढ्ने बानीले व्यक्तिगत र सामाजिक जीवनमा कस्तो प्रभाव पार्छ ?
पुस्तकले मानिसलाई चिन्तनशील बनाउँछ । समाजलाई हेर्ने दृष्टिकोण फरक गराउँछ । मानिसको सोचाइको गहिराइ र आयतन पनि बढाउँछ । मानिसलाई ध्यानमग्न बनाउँछ । कुनै पनि कुरामा गहिरिएर सोच्ने बानी बनाउँछ । दर्शनशास्त्र र निबन्धहरू मैले धेरै पढेँ । आख्यानचाहिँ कम पढ्छु । निबन्ध र जीवनसँग जोडिएका, जीवन र समाजको बारेमा लेखिएका समास्याबारे लेखिएका पुस्तक पढ्छु । बाहिर बस्दा मैले धेरै अंग्रेजी पुस्तक पढेँ । केही केही रसियन र अरबिक पनि पढेँ । भाषामा दख्खल नभएको भएर अंग्रेजी नै पढेँ । नेपाल फर्किएपछि विभिन्न समयमा प्रकाशित भएका वास्तविक घटनामा आधारित पुस्तकहरू म प्रशस्त पढ्छु ।

तपाईंको जीवनमा सबैभन्दा धेरै प्रभाव पारेको पुस्तक कुन हो ?
बेचिएका महिलाहरू र आप्रवासनमा गएका आप्रवासी तथा युवापुस्ताका सपनाबारे लेखिएका पुस्तकले मलाई बढी ऊर्जा दिन्छन् । मैले असाध्यै मनपराउने ज्येष्ठ नागरिकबारे लेखिएका पुस्तक र संस्कृति तथा इतिहासका पुस्तक हुन् । अमृता लम्सालले लेखेको ‘हजुरआमाका कथाहरू’ मैले पढेँ । पारिजातका बजारमा आएजति सबै पुस्तक पढेँ । नारायण ढकालका पुस्तक पढ्छु । आप्रवासन सम्बन्धमा लेखिएका करिब सबै पुस्तक मैले पढेको छु । 

डिजिटल युगमा किताब पढ्ने बानी कसरी कायम राख्न सकिन्छ ?
म धेरै यात्रा गरिरहने भएकाले म डिजिटल माध्यमबाट नै पुस्तक पढिरहेको हुन्छु । अनलाइन जर्नल, आर्टिकल डाउनलोड गरेर पढ्छु । अन्तर्राष्ट्रिय स्तरमा छापिएका पुस्तक नेपाली बजारमा उपलब्ध हुन्न । बजारमा उपलब्ध भएका त किनेरै पढ्छु । अंग्रेजी साहित्यका पुस्तकचाहिँ म डिजिटलमै पढ्छु । पढ्ने बानी भइसकेपछि आफूले चाहेको सामग्री खोज्दाखोज्दै डिजिटलका अरु पाटोतिर ध्यान जाँदैन । म सामाजिक सञ्जालमा पनि सक्रिय त हुन्छु । तर त्यसैमा झुन्डिएर बस्दिनँ । 

नयाँ पुस्तालाई कुनकुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?

थुप्रै छन् । पारिजातको ‘शिरीषको फूल’ले चेतनाका हिसाबमा मलाई धेरै नै प्रभाव पार्‍यो । उनका अरू सबै पुस्तकले प्रभाव पारेका छन् । सकारात्मक ऊर्जा दिने खालका साहित्यकारका पुस्तक म धेरै पढ्छु । संसार जुन रफ्तारमा दौडिरहेको छ, नयाँ पुस्तालाई धेरै अवसर छ । उनीहरूले अहिलेको राजनीति पढ्नुपर्छ । अर्थनीति पढ्नुपर्छ । सामाजिक मुद्दा र अहिलेको आप्रवासन पढ्नुपर्छ । विभिन्न किसिमका जातीय हिंसाका विषयमा अध्ययन गरेर चिन्तन गर्नुपर्छ । 

जात व्यवस्था बुझ्न आहुतिका पुस्तक पढ्नुपर्छ । आलोचनात्मक चेतका लागि पारिजात नै सिफारिस गर्छु । नेपालमा आलोचनात्मक चेत भएका लेखकले लेखेका कृति कम छन् । महिला हस्ताक्षरका पुस्तक कम छन् ।

अर्थ राजनीति र सामाजिक चेतनाका निम्ति पुस्तक पढ्न सुझाउँछु । सबाल्टर्नका विषयमा लेखिएका पुस्तक पढ्न सुझाव दिन्छु । जसले गर्दा आलोचनात्मक चेत बढ्छ । समाजका विभेद के हुन्, समाज कता गइरहेको छ, राजनीति कता गइरहेको छ भनेर बुझ्नुपर्छ । एउटै पक्षको भन्दा पनि विभिन्न आयाममाथि पढ्नुपर्छ । 

पाँच प्रश्न

कान्तिपुर

Link copied successfully