‘नेपाली समाजको हाइरार्की बुझ्न मुलुकी ऐन पढ्नुपर्छ’

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

”To understand the hierarchy of Nepali society, one should read the civil law”

काठमाडौँ — गुरुङ सुशान्त समीक्षा, समालोचना तथा निबन्ध लेखनमा सक्रिय छन् । आख्यान र गैरआख्यानलाई गहिरो अध्ययन गरी मिहिन चिरफार गर्ने सामर्थ्य राख्छन् उनी । गुरुङ सुशान्तको नयाँ पुस्तक ‘इतर समीक्षा’ छिट्टै बजारमा आउँदैछ ।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन समेत गरिरहेका उनीसँग ईकान्तिपुरको स्तम्भ ‘पाँच प्रश्न’का लागि गरिएको कुराकानीको सम्पादित अंश :

पछिल्लो पटक तपाईंले पढ्नुभएको पुस्तक ?

मैले पछिल्लो पटक पाँच वटा पुस्तक सँगसँगै पढेँ । सुदर्शनराज तिवारीको ‘एस्सेज् अन कल्चर एन्ड हिस्ट्री अफ भक्तपुर’ पढेँ । उनैले लेखको ‘द ब्रिक एन्ड द बुल’ पढेको थिएँ । उनको अध्ययनको क्षितिज र अनुसन्धानको जुन दायरा छ, त्यसकारण म उहाँबाट एकदम प्रभावित भएँ । पछि उहाँको अनुवाद ‘हाँडी गाउँ’को समीक्षा मैले कान्तिपुरमा लेखेको थिएँ । वास्तुविद् भए पनि उहाँको संस्कृतिमा ठूलो अध्ययन छ । खासगरी काठमाडौं उपत्यकाको संस्कृतिको बारेमा उहाँको राम्रो अध्ययन भएकाले मैले दोस्रो कृति पनि पढेँ । त्यसमा जयस्थिति मल्लदेखि लिएर भक्तपुरको दरबारहरू कसरी बनिरहेका थिए भन्ने कुरा छ । गहिरो अनुसन्धान गरेर लेखिएको अनि म आफैं पनि भक्तपुरमा बसेको हुँदा मैले त्यो पुस्तक पढ्दा मजा आयो । 

सँगै अर्को गौतमबज्र बज्राचार्यको ‘नेप्लिज सिजन रेन एन्ड रिचुअल्स’ भन्ने पुस्तक हो । त्यसअघि उनै लेखकको ‘फ्रग हिम्न्स एन्ड रेन बेबिज : मनसुन कल्चर’ भन्ने पुस्तक पढेको थिएँ । गौतमबज्रलाई धेरै विद्‌वानहरूले दक्षिण एसियाको कला र संस्कृतिका अथेन्टिक रिसर्चर मान्दा रहेछन् । सुरुमा उहाँले इतिहास संशोधन मण्डलको स्कुलिङबाटै लेख्नुभएको  थियो । उहाँले ‘हनुमानढोका राजदरबार’ भन्ने पुस्तक नेपालीमा लेख्नुभएको थियो । यसमा वर्षाको बारेमा छ । हामी पानी परेन भने भ्यागुताको पूजा गर्छौँ । भ्यागुताको बिहे गराइदिन्छौँ । हाम्रा मिथ र कला कसरी जोडिएको छ भन्ने कुरा उक्त पुस्तकले राम्रोसँग बताएको छ । बौद्ध ग्रन्थ र प्राक हिन्दुग्रन्थभन्दा अगाडि गएर हाम्रो कला र संस्कृतिको अध्ययन गर्नुपर्छ भन्ने कुरा छ । हामीसँग भएका लिखित इतिहासबाट भन्दा पनि मौखिक इतिहासबाट जाने हो । हामीसँग भएको वास्तुकलाका इतिहासबाट जाने हो भने हाम्रो संस्कृतिको इतिहासबाट जान सक्छौँ । मनसुनको विषयलाई लिएर हाम्रो संस्कृति कस्तो छ भन्ने कुरा पुस्तकमा लेखिएको छ ।

अर्को राजतरङ्गिनी । यो दुई भोल्युममा छ । नेपालमा त्यत्ति उपलब्ध छैन । यो पुस्तक संस्कृत र हिन्दी दुवै भाषामा समेटिएको छ । ९ औं शताब्दीदेखि १२औं शताब्दीसम्म काश्मिरको इतिहास हो यो । काश्मिरको इतिहास हामीलाई सान्दर्भिक भए पनि नभए पनि नेपालको एउटा प्रसंग महत्त्वपूर्ण छ । त्यो महाकाव्य हुँदा हुँदै पनि चार भागको तीन भाग इतिहास हो भन्छन् । यसलाई आधिकारिक इतिहासका रुपमा पनि अध्ययन गरिरहेको पाइन्छ । हामीसँग युद्ध कौशल भएको शासकहरू थिए । अर्मुडीलाई मगर राजा पनि भनिन्छ । त्यो प्रसँग मलाई एकदम रोचक लागेको थियो । 

सँगसँगै मैले पढेको सुरेश ढकालको ‘इतिहास अघिको इतिहास’ हो । मानवशास्त्र, प्राग इतिहास र हाम्रो संस्कृतिको जरालाई मानवशास्त्रीय ढंगले हेर्न यो पुस्तक उपयोगी हो जस्तो लाग्छ । मानव संस्कृति कसरी विकास भएको हुन्छ । यसलाई पुरातात्त्विक हिसाबले कसरी हेर्न सक्छौँ भन्ने कुरा छ । अक्षरको विकास, पाङ्ग्राको विकास कसरी भयो ? आगोको विकास कसरी भयो ? जस्ता कुराहरू हामी यो पुस्तकबाट थाहा पाउन सक्छौँ ।

सबैभन्दा हालसालै पढेकोचाहिँ तीर्थ गुरुङको ‘हिउँको गीत’ हो । यो साढे सात सय वर्षभन्दा अगाडि अथवा त्यो वरपर गुरुङहरूको संयुक्त राज्य घोला सोथार राज्यको उदय र त्यहाँभित्र बाह्य संस्कृतिको हस्तक्षेप, त्यहाँका मिथहरू, त्यहाँका सांस्कृतिक कुरा र गुरुङको इतिहास के थियो भन्ने कुरालाई सांकेतिक रुपमा उपन्यासबाट बुझ्न सक्छौँ । यो मलाई पछिल्लो समय पढ्नै पर्ने उपन्यास हो भन्ने पनि लाग्यो ।  

तपाईँलाई मन परेको फिक्सन ?

थुप्रै छन् । तीमध्ये चिनुवा अचिवेको ‘थिङ्स फल अपार्ट’ हो । यसमा अफ्रिकाको अचिवेको समुदायमा कसरी क्रिस्तानीहरूको दबदबा भयो, सांस्कृतिक रुपमा कसरी आक्रमण भयो भन्ने कुरा राम्रोसँग लेखिएको छ । यो उपन्यासबाट अफ्रिकालाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्न सकिन्छ । हामीजस्तो बहुसांस्कृतिक मुलुकका पाठकहरूले समाजलाई कसरी प्रस्तुत गर्न सकिन्छ भनेर नयाँ लेख्नका लागि पनि यो पढ्न जरुरी छ । अर्कोचाहिँ गाब्रियल गार्सिया मार्खेजको ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’ । मार्खेजको म्याजिकल रियालिजमको माध्यमद्वारा त्यहाँ भएका शक्ति संघर्ष प्रस्तुत गरिएको छ । इतिहासमा यतिधेरै पात्र छन् । यसो हेर्दा एउटा सहरको इतिवृतान्तजस्तो लाग्छ । त्यसको जन्म, उत्थान र पतनको कथा जस्तो लाग्छ । अथवा कुनै समुदायको सात पुस्ते कथाजस्तो लाग्छ । तर त्यतिमात्र नभएर यो सभ्यताहरूबीचको घर्षण, संघर्षहरूको कथा हो । उपन्यास राष्ट्रिय रुपकको रुपमा स्थापित हुनुपर्छ भनिन्छ । यो पुस्तक इतिहासको पुस्तक त हैन । तर इतिहासभन्दा सबल ढंगले लेखिएको छ । क्राफ्टको हिसाबले पनि यो बेजोड उपन्यास हो । पाठक र लेखकले पढ्नुपर्ने पुस्तक यो हो जस्तो लाग्छ । 

नेपालीमा नारायण ढकालको उपन्यास ‘प्रेतकल्प’ मलाई औधि मन परेको हो । राणाकालीन समयमा शिक्षाको अवस्था कस्तो थियो ? महिलाको अवस्था कस्तो थियो ? छुवाछुत कस्तो थियो ? समाजसुधार गर्छु भन्ने मान्छेहरूले कस्तो खालको समस्या भोग्नुपर्थ्यो ? सांगोपांगो समाज चित्रण गर्ने खालको बलियो उपन्यासको रुपमा ‘प्रेतकल्प’लाई लिन्छु । 

‘प्रेतकल्प’पछि ‘हिउँको गीत’ मलाई मनपर्छ । यसले गुरुङहरूको संस्कृति इतिहासलाई राम्रोसँग बहसमा ल्याउँछ । यसमा पनि जादुयी यथार्थको कुरा छ । यसले हाम्रो विश्वास पद्धतिहरूलाई विभिन्न टेक्निक प्रयोग गरेर -श्वैर कल्पना, म्याजिक रियालिजम  प्रयोग गरेर तयार पारिएको छ । यो पुस्तक अंग्रेजीमा अनुवाद गर्ने हो भने नेपाली समाजले गर्व गर्न लायकको उपन्यास हो भन्ने लाग्छ । 

अर्कोचाहिँ कुमार नगरकोटीको ‘मोक्षान्त काठमाडौँ फिभर’ । यो पुस्तक नेपालीमा अद्भुत प्रयोग हो जस्तो लाग्छ । कुनै पनि लेखक रातारात बन्ने भन्ने हुँदैन । लामो अध्ययन हुन्छ । नगरकोटीले पनि विश्वसाहित्यदेखि नेपाली साहित्यसम्ममा विभिन्न प्रयोगहरू पढेर आफ्नो साहित्यमा प्रयोग गर्नुभएको होला । ‘मोक्षान्त काठमाडौँ फिभर’मा अस्तित्ववाद, विसंगतीवाद नै केन्द्रमा छ । उहाँले प्रयोग गर्नुभएको भाषा अद्भुत छ । 

मन परेको नन फिक्सन ?

सुदर्शनराज तिवारीको ‘द ब्रिक एण्ड द बुल’ । त्यो पछि नेपालीमा ‘हाँडीगाउँ’को नाममा अनुवाद पनि भयो । हामीसँग सांस्कृतिक इतिहास लेखनका विभिन्न ढर्राहरू छन् । विभिन्न प्रयोग छन् । त्यसमध्येमा किंवदन्तीलाई पनि लिन सक्छौँ । मौखिक इतिहासबाट पनि लिन सक्छौँ । हामीसँग जीवन्त दस्तावेज भनेको जात्राहरू हो । हाँडीगाउँ यस्तो राजधानी थियो । त्यो राजधानी कसरी पतन भयो भन्ने कुरा वृहत् छलफल गरिएको हुनाले यो पुस्तक मलाई  एकदम मन परेको । उहाँको अध्ययनको दायरा पनि एकदम बलियो भएकाले पनि मनपरेको । अर्को मलाई मन परेको आन्द्रे हुफरको ‘द कास्ट हाइरार्की एन्ड द स्टेट इन नेपाल’हो । यसले मुलुकी ऐनको चिरफार गर्छ । त्यतिखेर मुलुकी ऐनमा एउटै अपराधमा पनि जातअनुसार फरक फरक सजाय हुन्थे । नेपाली समाज कस्तो थियो ? आजको नेपाली समाज कस्तो छ भनेर थाहा पाउन पनि हामीले १९१० को मुलुकी ऐन पढ्नुपर्ने हुन्छ । त्यो मुलुकी ऐनको भाषा अफ्ठ्यारो लाग्यो भने त्यहाँ भएको कुरा आन्द्रे हुफरले यति राम्ररी विश्लेषण गरेका छन् कि त्यो पुस्तक मेरो लागि प्रिय नन्–फिक्सन हो ।

अर्कोचाहिँ हर्क गुरुङको ‘विषय विविध’ । यसमा उनले आफ्ना यात्रा संस्मरण लेख्नुभएको छ । भूगोलको बारेमा, पर्वतारोहणको बारेमा, जनसंख्याको बारेमा, राजनीतिको बारेमा, राष्ट्रियताको बारेमा, कतिपय सन्दर्भमा जनजातिको बारेमा उहाँले यति गहिरो अध्ययन गर्नुभएको छ । गुरुङहरूको बारेमा पनि उहाँको राम्रो अध्ययन छ । 

अर्कोचाहिँ डोरबहादुर विष्टको ‘भाग्यवाद र विकास’ हो । नेपाली समाज कसरी भाग्यवादमा विश्वास गर्छ ? यो पुस्तकले पनि नेपाली समाज बुझ्न सिकाउँछ । अर्कोचाहिँ गोविन्द वर्तमानको ‘हरियो साइकल’ हो । यसमा यात्रा छन्, व्यक्तिचित्र छन्, कतिपय पुस्तक सिनेमाको समीक्षा छ । उनको भाषा मलाई निकै मनपर्छ । बलियो भाषा, त्यसमाथि बलियो वैचारिकी । उहाँ इमान्दार भएर लेख्ने । गद्य, सामान्य संस्मरणलाई पनि फिक्सनको जस्तो मीठो स्वाद पस्कन सक्ने क्षमता गोविन्द वर्तमानको लाग्छ मलाई । अर्को मन परेको नन् फिक्सन कुमार नगरकोटीको अक्षरगन्ज । यो संस्मरण हो । यो पुस्तकमा आफैंलाई नढाँटिकन आत्मसमीक्षा गर्न सक्ने गद्य कुमार नगरकोटीको छ ।  

हालै निस्केको तर पढ्न नपाउनुभएको पुस्तक ?

स्माइल कादरेको उपन्यास ‘द डिक्टेटर कल्स’ । यो पुस्तक मैले पुस्तक पसलमा फेला पारेको छैन । यो उपन्यास फोन कलमा आधारित छ भन्ने सुनेको छु । यो उपन्यास लेख्ने टेक्निक पनि मीठो छ भन्ने सुनेको छु ।  

नयाँ पुस्तालाई पुस्तक सिफारिस ?

नयाँ पुस्तालाई पहिलो नम्बरमा सिफारिस गर्ने ‘द मुलुकी ऐन अफ १८५४’ हो । योचाहिँ १९१० सालको मुलुकी ऐनलाई नै अंग्रेजीमा अनुवाद गरिएको रहेछ । त्यो बेलाको भाषा हामालाई अफ्ठ्यारो लागे पनि अंग्रेजीमा आउँदा यो भाषामा दखल भएको पछिल्लो पुस्तालाई पढ्न सहज हुन्छ । यो पुस्तकको परिचय खण्डमा मुलुकी ऐनमाथि टिप्पणी छ । हिजो हाम्रो समाज र कानुन व्यवस्था कस्तो थियो ?, अर्थतन्त्र कस्तो थियो ? नेपाली समाजको हाइरार्की कस्तो थियो भनेर बुझ्न पनि मुलुकी ऐन पढ्नुपर्छ । यसले हामीलाई आजको समाजको ऐना देखाइदिन्छ । 

नयाँ पुस्ताले पढ्नैपर्ने पुस्तक आहुतिको ‘जातवार्ता’ हो । यो सरल भाषामा नेपाली समाजमा हुने छुवाछुत के हो, जात व्यवस्था के हो भन्ने कुरा बुझ्न सकिन्छ । आहुतिले लामो समयदेखि यही क्षेत्रमा काम गर्नुभएको हुँदा गरेको हुँदा उहाँको अध्ययन एकदमै वस्तुवादी लाग्छ । विश्लेषण पनि एकदम वैज्ञानिक लाग्छ ।

दक्षिण एसियामाको हो जात व्यवस्था । जात व्यवस्थामाथि सबैभन्दा धेरै काम गरेको विद्‌वान भनेर हामी भीमराव आम्बेडकरलाई चिन्छौँ । तर जात व्यवस्थामाथि अम्बेडेकरको दृष्टिकोण, उनले लिएका कदमहरूमाथि यो पुस्तकमा बलियोसँग आलोचना गरिएको छ । जात व्यवस्था वा दलितको समस्यामाथि आधिकारिक ढंगले बोल्न सक्नेमा विश्वमै आहुतिलाई एक नम्बर हो भनेर दाबी गर्दा पनि फरक पर्दैन । 

‘जात वार्ता’ सरल भाषामा, नयाँ पुस्तालाई बुझाउने गरी प्रश्नोत्तरको शैलीमा लेखिएको राम्रो पुस्तक छ । यो पुस्तक म नयाँ पुस्तालाई पढ्न सिफारिस गर्छु । अर्कोचाहिँ सीताराम तामाङको ‘नेपाल समाज विकासको ऐतिहासिक भौतिकवादी निरुपण’ । योचाहिँ इतिहासमा हिजो राजा महाराजको स्तुतिगानमा लेखिएका कुरा धेरै पढ्यौँ । तर त्यो इतिहासलाई उल्ट्याएर पढ्नुपर्छ भनेर नयाँ ढंगले व्याख्या गर्ने काम उनको यो पुस्तकले गरेको छ । यो पुस्तक हामीले पढ्नुपर्छ । आदिवासी जनजातीले त यो पुस्तकलाई  पढ्नुपर्छ भन्ने लाग्छ । 

अर्कोचाहिँ सुधीर शर्माको पछिल्लो समय आएको पुस्तक ‘भिक्षु : व्यापार र विद्रोह’ हो । यो पुस्तकले नेपालको हिजोको अवस्था भोट चीनसँग कस्तो थियो, धार्मिक सम्बन्ध कस्तो थियो ?, आर्थिक र राजनीतिक सम्बन्ध कस्तो थियो भन्ने कुरालाई एकदमै नेपालको घटना र घटना घटिरहेको समयमा वरपर के के राजनैतिक घटनाक्रमहरू चलिरहेका थिए भन्ने कुरालाई एकदम राम्रो अनुसन्धान गरेर लेखिएको हुँदा पढ्न सिफारिस गर्छु । यो पुस्तकचाहिँ पढ्दा एकदम सजिलो पनि छ । 

अर्कोचाहिँ हर्क गुरुङका पुस्तक, बीपी कोइरालाका आत्मवृत्तान्त, डायरी पढ्नैपर्छ । महेशचन्द्र रेग्मीका जुनसुकै पुस्तकहरू पनि पढ्दा उपयुक्त हुन्छ । कमलप्रकाश मल्लका पुस्तक, बाबुराम आचार्यका इतिहासका पुस्तक पढ्न सुझाउँछु । पारिजातका संस्मरणहरू र केही उपन्यासहरू खोजेर पढ्ने हो भने एकदमै गजब पुस्तक छन् । अर्कोचाहिँ गोविन्द वर्तमान, नारायण ढकाल, कुमार नगरकोटी, नयनराज पाण्डे, उपेन्द्र सुब्बा, स्वप्निल स्मृति, विनोदविक्रम केशी, आहुति, श्रवण मुकारुङ, गोपालप्रसाद रिमाल, राजन मुकारुङ लगायतका लेखकहरूका पुस्तक खोजेर पढ्ने हो भने नयाँ पुस्ताले केही न केही ज्ञान हासिल गर्न सक्छन् । 

कान्तिपुर

Link copied successfully