‘सहरी जीवनका पात्रहरू नाटकमा आउनुपर्छ’

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

”Characters of urban life should come in the play”

घिमिरे युवराज मूलत: रंगकर्मी हुन्। शिल्पी थिएटरका सञ्चालकमध्येका एक उनी नाटक लेखन, निर्देशन तथा मञ्चनमा सक्रिय छन् । थुप्रै नाटक निर्देशन गरिसकेका घिमिरे युवराजका ‘आँधीको मनोरम दृश्य’ र ‘विमोक्ष’ नाटक प्रकाशित समेत छन् ।

हालै उनले लेखेको नयाँ नाटक ‘लस्ट एण्ड फाउन्ड’ आगामी २० वैशाखमा सार्वजनिक हुनेछ । सोही नाटकलाई निर्देशन समेत गरिरहेका छन् उनी । उक्त नाटकको नियमित मञ्चन भने २ जेठबाट शिल्पी थिएटरमा हुनेछ ।

‘मेरो रुचि चाँहि शहरी जीवनका पात्रहरू नाटकमा आउनुपर्छ भन्ने हो । मैले पछिल्लो पटक लेखेका नाटकमा पनि सहरी जीवनमा बाँचेका मानिसको एक आपससँगको सम्बन्ध र सम्बन्धले ल्याउने संकटका कुरा छन्,’ घिमिरे भन्छन् ।

उनै रंगकर्मी घिमिरेसँग ई–कान्तिपुरको नियमित स्तम्भ ‘पाँच प्रश्न’का लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

तपाईंको जीवनमा धेरै प्रभाव पारेका नाटक ?

हेनरिक  इब्सनको ‘द डल्स हाउस’ले मेरो जीवनमा धेरै प्रभाव पार्‍यो। यसले महिलालाई हेर्ने दृष्टिकोण र श्रीमान् श्रीमतीको सम्बन्धको गहिराइमा पुगेर कथा भनेको छ । यो मेरो मन छोएको नाटक हो । मैले आफैं मञ्चन गरेको नाटकमा पनि इब्सनकै ‘द पिलर्स अफ सोसाइटी’ एकदमै मन परेको नाटक हो । त्यसबाहेक आफूले गरेको नाटक ‘बाथटब’ । अभि सुवेदीका ‘चिरिएका साँझहरू’,  रमेश रञ्जनको‘ ‘सखी’ नाटकले मलाई एकदमै छोयो । किनकि नेपाली समाज र यहाँको राजनीतिलाई यसले गहिरोसँग प्रभाव पारेको छ । 

तपाईंलाई मनपर्ने विदेशी नाटक ? 

मलाई पुराना नाटककाहरूमा विलियम सेक्सपियर एकदमै मन पर्छन् । आन्तोन चेखब, इब्सन । पछिल्लो समय नर्वेजियन नाटककार जोन फोसे मन पर्छन् । अहिले फ्रेन्च नाटककार फ्लोरियन जेलर मन पर्छ । उनका तीन नाटक एकदमै प्रसिद्ध छन्– ‘द फादर’, ‘द मदर’ र ’द सन’। शक्तिशाली नाटककार हुन् उनी । ‘द फादर’को त फिल्म पनि बनेको छ । अर्को मलाई एकदमै मन परेको नाटक एडवर्ड एलबी हुन् । उनका दुई नाटक मलाई एकदम मन पर्छन्– ‘हु अफ्रेड अफ भर्जिना उल्फ’ र ‘थ्री टल ओमन’ ।

तपाईंलाई मनपर्ने नेपाली नाटक ? 

नेपाली नाटककारहरूमा मलाई विजय मल्ल, बालकृष्ण सम मन पर्छन् । समको नाटक मञ्चन गर्नचाहिँ गाह्रो लाग्छ ।  गोविन्द मल्ल गोठालेका नाटकहरू मन पर्छन् । त्यसमा पनि जिउँदो लास मनोवैज्ञानिक रुपमा निकै राम्रो नाटक लाग्छ । अनुप बरालले मञ्चन गर्नुभएको नाटक ‘खुमा’ अहिले पनि मेरो स्मृतिमा छ । अनुप बरालको ‘थर्टी डेज् इन सेप्टेम्बर’ नाटकले एकदमै छोयो । धेरै नाटक छन्, जुन नेपाली युवापुस्ताले मञ्चन गरेका छन् । 

तपाईंलाई आफूले काम गरेका मध्ये मन परेका नाटक ?

मैले मञ्चन गरेका नाटकमा कुमार नगरकोटीको कोम ‘अ पोलिटिकल सेक्स’, ‘बाथटब’ र ’ट्रान्जिट’ तिन वटै नाटक मलाई मन परेका हुन् । पछिल्लो पटक मलाई काम गर्न पनि मजा आएको, धेरै दर्शकहरूलाई देखाउन पाएको, यात्रा पनि गरेको नाटक ‘हिउँको पृथ्वी यात्रा’ नाटक भिजुअल्ली पनि काम गर्न मजा आएको थियो । नदीको कथा हामीले स्टेजमा देखाएका थियौँ । यसको स्मृति मेरो इमेजमा एकदमै बलयोसँग बसेको छ ।

नयाँ पुस्तालाई नाटकका पुस्तक सिफारिस गर्नुपर्‍यो भने कुन-कुन गर्नुहुन्छ ?

पछिल्लो चरणमा नेपाली नाटक कम लेखिएको छ । जति लेखिएका छन्, ती राम्रा छन् । अभि सुवेदीले लेख्नुभएका नाटक पढ्दा राम्रो हुन्छ । कुमार नगरकोटीको नाटक, खगेन्द्र लामिछानेका नाटक र अरु अहिले कमै लेखिए पनि सबै नाटक पढ्दा हुन्छ जस्तो लाग्छ । तर सन् २०००पछि नेपालबाहिर खासगरी युरोपमा धेरै राम्रा नाटक लेखिएका छन् । ती नाटकहरूले हामीलाई बाहिरका समाज बुझ्न सिकाउँछन् । ती नाटकहरूको भाष्य, शैली, शिल्प पनि एकदमै बलियो छ । 

कान्तिपुर

Link copied successfully