‘प्रविधि प्रयोग घटाउनुस्, पुस्तक पसल चहार्नुस्’

वैशाख २०, २०८२

कान्तिपुर संवाददाता

'Reduce technology use, visit bookstores'

काठमाडौँ — अर्चना थापाको ‘कठपुतला’ कथासंग्रह पाठकमाझ लोकप्रिय छ । अक्षर क्रिएसन्सकी प्रकाशक समेत रहेकी उनी नागरिक अभियन्ता पनि हुन् । हाल उनी बृहत् नागरिक आन्दोलन सँगसँगै नयाँ उपन्यासको तयारीमा पनि व्यस्त छिन् । उनै थापासँग ई–कान्तिपुरको स्तम्भ 'पाँच प्रश्न'का लागि गरिएको कुराकानीको सम्पादित अंश :

तपाईंले पछिल्लो समय पढ्नुभएको पुस्तक ?

मैले दुई पुस्तक सँगसँगै पढिरहेको छु । एउटाचाहिँ रमेश भुसालको ‘छालबाटो’ । अर्कोचाहिँ रूखहरूको बारेमा ‘द हिडन लाइफ अफ ट्रिज’ । त्यो पुस्तकले रूख बिरुवालाई हेर्ने नयाँ दृष्टिकोण दिन्छ । रूखलाई हामी प्रकृतिको रुपमा मात्र सीमित राख्छौँ । तर लेखक पिटर ह्वेलवेनका तर्क रोचक छन् । रूखका जराहरू एक आपसमा कुरा गर्छन् । रूख पनि एउटा समूहमा बस्ने मान्छे जस्तै सामाजिक प्रजाति हो । रूखले पनि आफ्नो बालबच्चाहरूलाई हेरविचार गर्छ । खाना पुगेन भने आफ्नो खाना दिन्छन् । संवाद गर्छन् उनीहरू । एउटा मानवीय दृष्टिकोणबाट रूख बिरुवा हेर्ने प्रयास रोचक लाग्यो । यो फरक खालको लेखनी लाग्यो मलाई ।

तपाईंलाई मनपर्ने फिक्सन ?

यो प्रश्नको जवाफ दिँदा प्रत्येक पटक फरक फरक फिक्सनको नाम आउँदो रहेछ । किनकि मन परेको फिक्सनलाई एउटामा सीमित गर्न नसकिँदो रहेछ । अहिले मलाई मदनमणि दिक्षितको ‘माधवी’को नाम आयो । केही पुस्तकहरू एक पटक पढेर पुग्दैन । त्यसलाई घरीघरी पढिराख्नुपर्छ । आफ्नो किताबको र्‍याकमा राखिन्छ । अर्कोचाहिँ म सञ्जीव उप्रेतीको ‘हंस’ भन्न चाहन्छु । ‘हंस’लाई पनि एक पटक पढेर पुग्दैन । बेला बेलामा म पाना पाना पल्टाएर पढिरहेको हुन्छु । 

तपाईंलाई मनपर्ने ननफिक्सन ?

ननफिक्सन थुप्रै छन् । अंग्रेजीमा पनि, नेपालीमा पनि । मैले जब जेन्डरको बारेमा पिएचडी गर्दै थिएँ, त्यतिबेला जेन्डरसम्बन्बन्धी ननफिक्सन पढेको थिएँ । अहिलेचाहिँ मेरो उपन्यासको लागि ननफिक्सन हेरिरहेको छु । एउटाचाहिँ ‘अ इडिबल हिस्ट्री अफ ह्युमानिटी’ भन्ने पुस्तक हो । जसले खानाको इतिहासबारे भन्छ । हामीले खानालाई त्यति ध्यान दिँदैनौँ । खाना खायो र पुग्यो सोच्छौँ । तर त्यो खानाको उत्पत्ति कसरी भयो ? समयक्रममा हामी जसरी आधुनिक हुँदै गयौँ त्यो खानाको प्रकार कसरी फेरिँदै गयो, फुडको राजनीति कस्तो हुन्छ, युद्धको बेला खानाले कस्तो खालको स्वरुप लिन्छन् ? त्यसमा राजनीतिक कसरी गरिन्छ? अहिले विश्वव्यापीकरणले बजारमा छिटो खाना बनायो र त्यसले स्वास्थ्यमा के कस्ता असर पर्छन् ? फाइदा लिने प्रकारमा खानालाई कसरी प्रयोग गरिन्छ  र कसरी म्यानिपुलेट गरिन्छ भन्ने विषयको पुस्तक म पढ्दैछु । जसका लेखक टम स्यान्डिज् हुनुहुन्छ । मलाई लाग्छ, त्यो सबैले पढ्न उपयुक्त हुन्छ ।

हालै निस्केको, तपाईंले पढ्न नपाउनुभएको पुस्तक ?

मसँग बसन्त बस्नेतको ‘सिमसारा’ छ । म ‘छालबाटो’ सकिनासाथ ‘सिमसारा’ पढ्छु । मैले गएका केही दिनमा ३ जना महिला लेखकको पुस्तक पढेँ । कुमारी लामाको ‘दर्ज्यु संलाप’,  डा. रेणुका सोलुको ‘तुइन जिन्दगी’ र राधिका कल्पितको कथासंग्रह ‘सम्मोहन’ पनि पढेँ । हालसालै पढेकामध्ये तीन पुस्तक राम्रो पनि लागे । 

नयाँ पुस्तालाई पुस्तक सिफारिस ?

मलाई लाग्छ, प्राविधिक प्रयोग– ल्यापटप, मोबाइलमा समय कम गरेर पुस्तकको पसलहरूमा चहार्नुस् । तपाईंका रुचि पठनमा के छन् ती पुस्तकहरू खोज्नुस् । मूलधारमा नाम नआएका प्रसिद्ध नभएका किताबहरू र्‍याकमा कहीँ भेट्नुहुन्छ कि । तपाईंलाई इतिहास पढ्न मन लाग्छ कि उपन्यास ? वा कविता ? यति अथाह संसार छ किताबको । एउटा दुईवटाको नाम लिएर मात्र पुग्दैन । तपाईंले खोजेर पढ्नुभयो भने आफ्नो रुचि पाउनुहुन्छ । तपाईंले छान्ने बेलामा केही महिलाका कृतिहरू छान्न नबिर्सनुस् । पढ्नुस् र लेख्नुस् । 

धेरै विषयमा कथा, उपन्यास, कविता लेखिएको छैन । बल्लबल्ल विभिन्न परिवेश र विभिन्न भौगोलिक क्षेत्रहरूका बारेमा कथाहरू आउँदैछन् । विभिन्न भाषामा अझै पनि आउन बाँकी नै छन् । बिना थिङको कथासंग्रह ‘याम्बुनेर’ तामाङ संस्कृति झल्काउने खालको कथाहरूको सँगालो हो ।

त्यस्तै, अरु भाषामा पनि पुस्तक आइरहेका होलान् । मलाई लाग्छ तपाईंहरू गएर खोजेर त्यस्ता किताब पढ्नुस् । अनुसन्धान गरिएका विषयवस्तुहरू तपाईंलाई रुचि लाग्छ भने त्यो पढ्नुस् । इतिहासका किताबहरू रुचि लाग्छ भने त्यो पढ्नुस् । तपाईंले इन्टरनेटबाट पनि कथा पढ्न सक्नुहुन्छ । फिल्महरु हेर्न सक्नुहुन्छ । तपाईंलाई जस्तो सजिलो हुन्छ त्यस्तो किताबहरू पढ्नुस् ।

पाँच प्रश्न

कान्तिपुर

Link copied successfully