काठमाडौँ — लेखक गोपी सापकोटा बेलायत बस्छन् । कथा, कविता, उपन्यास र गैरआख्यान लगायत साहित्यका विभिन्न विधामा उनका कलम सशक्त चल्छन् ।
श्वेरकाल्पनिक शैलीमार्फत पृथक् स्वाद पस्कने सापकोटाका पछिल्लो समय ‘लण्डन अनप्लग्ड’ गैरआख्यान, ‘काँचो कागज’ र ‘चिसो बाफ’ उपन्यास प्रकाशित छन् । त्यसैगरी ‘एक अन्त्य एक सुरुवात’ कविता संग्रह, ‘पूर्णविराम’ नाटकसंग्रह, ‘कमिलाको सपना’ बालकथासंग्रह, ‘खरानी' नाटकसंग्रह, 'गुलाफको एस्ट्रेमा मृत्यु' कवितासंग्रह, 'कालो आकृति' नाटकसंग्रह, 'अ सुसाइड नोट' कवितासंग्रह र 'प्रेम कतिपय' नाटक लगायतका कृति प्रकाशित छन् । उनै सापकोटासँग ई–कान्तिपुरको नियमित स्तम्भ ‘पाँच प्रश्न’का लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
तपाईंले पछिल्लो समय पढ्नुभएको पुस्तक ?
मैले पछिल्लो समय समान्था हारबेको ‘अरबिटल’ उपन्यास पढेको थिएँ । यो पुस्तकले सन् २०२४ को बुकर पुरस्कार पाएको पुस्तक हो । पुरस्कार पाउने पुस्तकमध्येमा सबैभन्दा दोस्रो सानो पुस्तक मानिन्छ यो उपन्यास ।
यसमा ६ जना मुख्य पात्र छन् । उनीहरु अन्तरिक्षमा घुमिरहेका हुन्छन् । कथा २४ घण्टाभित्रको छ । ६ पात्रले तल बसेर पृथ्वीलाई हेरिरहेका हुन्छन् । यो पढिरहँदा निकै रोचक र आकर्षक लाग्छ ।
तपाईंलाई मन परेको फिक्सन ?
मलाई पाउलो कोएलोको ‘अल्केमिस्ट’ निकै मन परेको आख्यान हो । यसमा मानिसको जीवनको संघर्ष देखाइएको छ । एउटा पात्रले एउटा सपना देख्छ । सपनामा खजाना देख्छ । त्यो खजाना वास्तवमै खजाना पाउँछु भन्ने मोहले संघर्ष गर्छ । जस्तोसुकै परिस्थितिमा पनि ऊ सोचेको कुरा प्राप्तिमा नडगमगाई लाग्छ । त्यो पात्रको संघर्ष र अठोटको कारण मलाई यो उपन्यास मन परेको हो ।
तपाईंलाई मन परेको ननफिक्सन ?
‘ट्युस्डेज् विथ मोरी’ हो । यो पुस्तक मिच अल्बमले लेख्नुभएको हो । मिच अल्बम पहिला प्राध्यापक हुनुहुन्थ्यो । यो संवादको आधारमा लेखिएको छ । मोरी एकदम बिरामी हुन्छन् । उनी मृत्युको नजिक पुगेका हुन्छन् । त्यो अवस्थामा पनि उनी जीवनलाईः सेलिब्रेट गर्छन् । त्यो अवस्थामा उनले जीवनभर सिकेको विभिन्न दृष्टिकोण आफ्नो विद्यार्थी मिचलाई बताउँछन् । यो एक प्रेरणादायी पुस्तक हो ।
तपाईंलाई धेरै प्रभाव पारेको आख्यानको पात्र ?
मलाई ‘अल्केमिस्ट’को पात्र सान्टियागो एकदम मन परेको पात्र हो । उसले जे कुरा प्राप्त गर्न चाहेको छ, त्यसको लागि ऊ जसरी पनि निरन्तर लागिरहन्छ । उसले खजाना पाउने जुन ठाउँको सपना देखेको हुन्छ, त्यो पाउनका निम्ति यात्रा गर्छ । तर वास्तविक खजाना त्यहीँ ठाउँमा हुन्छ, जहाँ सुतेर उसले सपना देखेको हुन्छ । मान्छेको जीवनमा पनि उसले जे कुरा प्राप्त गर्न चाहिरहेको हुन्छ, ती कुरा हाम्रै नजिक हुन्छ । हामी टाढा टाढा भौँतारिरहेका मात्र हुन्छौँ भन्ने सन्देश दिन्छ ।
नयाँ पुस्तालाई पुस्तक सिफारिस ?
हामी किन पढ्छौँ त ? गहिरिएर सोच्ने हो भने हाम्रो शरीर विकासका लागि कार्बोहाइड्रेड चाहिन्छ । प्रोटिन चाहिन्छ । त्यस्तैगरी हाम्रो मस्तिष्कलाई पनि बौद्धिक विकासका लागि एक प्रकारको खाना चाहिन्छ । बौद्धिक भोक मेट्नका लागि हामीले पढ्नुपर्छ ।
हाम्रो दिमागमा धेरै कुरा खेलिरहेका हुन्छन् । हामीले हात धुँदा हातबाट अलिकति मैलो निस्केर जान्छ । त्यस्तैगरी हाम्रो दिमागमा पनि विभिन्न कुरा हुन्छन् । यदि हामीले पढ्यौँ भने दिमाग पनि सफा हुन्छ । त्यसकारण पढ्न जरुरी छ ।
म नयाँ पुस्तालाई ‘अल्केमिस्ट’ सुरुमा सिफारिस गर्छु । हर्मन हेस्सेको ‘सिद्धार्थ’ सिफारिस गर्छु । यी पुस्तकबाट पढ्न सुरु गर्यो भने अरु पुस्तक पढ्न रुचि पनि लाग्छ । अर्कोचाहिँ अमर न्यौपानेको ‘सेतो धरती’ । सरुभक्तको ‘पागल बस्ती’ पनि एकदमै राम्रो पुस्तक छ ।
पारिजातको ‘शिरीषको फूल’ पनि पढ्न सिफारिस गर्छु । काजिवा इसिगुरोको ‘क्लारा एन्ड द सन’, यसमा मानिसले मानिस साथी पाउन नसकेकर रोबोट साथी बनाउँछ । त्यो अवस्था आउने छ भन्ने सोचेर लेखकले यो पुस्तक लेखेका छन् । म यिनै पुस्तकहरू पठनका सुरुवाती समयमा पढ्न सिफारिस गर्छु ।
