पाँच प्रश्न : 'विदेशी फिल्ममात्र हेर्ने दर्शक अहिले नेपाली फिल्ममा रमाउँछन्'

जेष्ठ १७, २०८२

कान्तिपुर संवाददाता

Five questions: 'Audiences who only watch foreign films now enjoy Nepali films'

काठमाडौँ — फिल्म निर्देशक दिनेश राउतको पछिल्लो फिल्म ‘महाभोज’ रिलिज नजिक छ । राउतले ‘क्लासिक’, आई एम सरी, प्रसाद, प्रकाश, पुजार सार्कीलगायत ८ वटा फिल्म निर्देशन गरिसकेका छन् । पछिल्लो समय रिलिज हुन लागेको फिल्म ‘महाभोज’ सहकारी पीडितहरूको कथामा आधारित फिल्म हो ।

‘मैले पछिल्लो समय समाजसँग जोडिएर काम गर्ने कोसिस गरेँ । यो कोसिसमध्येको अर्को कोसिस हो । यो फिल्म पीडा भोगिरहेका मान्छेहरूको आवाज हो,’ उनी भन्छन् । राउतसँग यसपटक इकान्तिपुरको नियमित स्तम्भ पाँच प्रश्नका लागि गरिएका कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

आफूले निर्देशन गरेमध्ये सबैभन्दा मन परेको फिल्म ?

हुन त मेकरहरूले सिनेमा भनेको आफ्नो बच्चा हो भन्छन् । तर म आफूले निर्माण गरेको सबै सिनेमामा पूर्ण सन्तुष्ट छैन । जहिले आफूले काम गरेको सिनेमा पूर्ण हुन्छ त्यसपछि गर्ने के भन्ने लाग्छ होला । फिल्म कलाको माध्यम भएकाले यसको पूर्णता हुन्छ भन्ने लाग्दैन । आफूले गरेको काममध्येको फिल्म छनोट गर्ने हो भने विषयको हिसाबमा पनि, देशको परिस्थितिअनुसार पनि, विषयको गहिराइमा गएर काम गरेको, अलि समाज र पात्र र जीवनशैलीलाई नजिकबाट काम गरेको फिल्म ‘प्रकाश’ हो । आफू सन्तुष्ट भएको फिल्म ‘प्रकाश’ नै हो ।

मन परेको नेपाली फिल्म ?

फिल्म हेर्ने र बनाउनेका लागि पनि इन्ड्युभिजल कुरा रहेछ । कसलाई कस्तो फिल्म हेर्न मनपर्छ, कसलाई कस्तो फिल्म बनाउन मन लाग्छ भन्ने कुराले मन पर्ने र नपर्ने कुराको निर्धारण गर्दोरहेछ । मेरो स्वादभन्दा फरक विधाका फिल्महरू पनि व्यावसायिक हिसाबमा सफल भएका छन् । समीक्षाको हिसाबमा पनि राम्रो फिल्महरू थुप्रै छन् । पछिल्लो समयमा त अझै धेरै छन् । मेरो टेस्ट र व्यक्तित्व देखिएको फिल्म, मसँग अलि नजिक आइपुगेको फिल्मचाहिँ पछिल्लो समय ‘ऊनको स्वीटर’ हो । यो चाहिँ ठ्याक्कै मलाई नपपर्ने फिल्म हो ।   

मन परेको विदेशी फिल्म ?

मलाई पछिसम्म पनि फर्केर हेर्न र जान्न मन लागेको चाहिँ इरानी फिल्म ‘टेस्ट अफ चेरी’ हो । यो असाध्यै मन परेको फिल्म हो । यो फिल्मले गहिरो रुपमा जीवन र मृत्युको मौन प्रश्न गर्छ । मैले पटक पटक हेरिसकेपछि यो फिल्म बुझ्न सकेको हो । जीवनलाई आफैंले बुझ्ने  कि समाजले बुझाइदिने ? अहिले सम्झिँदा पनि भित्रैबाट फरक खालको महसुस हुन्छ । यो फिल्म मलाई एकदमै मन परेको फिल्ममध्येमा पर्छ ।

नेपाली फिल्मको सकारात्मक र सिक्नुपर्ने पाटो ?

नेपाली फिल्म अहिले हरेक ढंगबाट ग्रोथको फेजमा छ । प्राविधिक हिसाबमा, फिल्ममेकरको आफ्नो बुझाइ र दर्शकको बुझाइको हिसाबमा पनि । दर्शकले कस्तो फिल्महरूलाई स्वीकार गरिरहनुभएको छ र कस्तो फिल्मलाई स्वीकार गरिरहनुभएको छैन । बजारको हिसाबमा पनि नेपाली फिल्म ग्रोथको फेजम छ जस्तो लाग्छ । त्यसकारण म फिल्ममेकर भएको हिसाबले यो कुरालाई सकारात्मक तरिकाले हेर्छु । पहिला फिल्म क्षेत्रलाई एउटाच वर्गको मान्छेले स्वीकार गरेको देखिन्न थियो । हलमा पनि त्यो वर्गको मान्छे देखिन्न थिए । त्यो वर्गका मान्छे विदेशी फिल्म हेर्न थिएटरमा देखिन्थे । 

अहिले नेपाली फिल्म हेर्ने देखिन्छन् । योचाहिँ हामी फिल्म मेकरका लागि एकदम ठूलो कुरा हो । त्यो फेज अहिले देखिएकाले नेपाली फिल्मको अवस्था सुन्दर छ । तर हामी फिल्ममेकरले ध्यान दिनुपर्ने कुरा, आफूलाई परिमार्जित गर्नुपर्ने कुरा थुप्रै छन् । थोरै मात्र राम्रो गर्दा पनि दर्शकले स्वीकार गर्नुभएको छ । यो कुरालाई पनि सम्मान गर्नुपर्छल जस्तो लाग्छ । हामी फिल्म बनाउँदा कतिको इमान्दार भइरहेका छौँ त ? फिल्ममेकरले ध्यान दिनुपर्छ जस्तो लाग्छ । धेरै विधामा हामीले गम्भीर भएर काम गर्नुपर्छ जस्तो लाग्छ । हाम्रो फिल्मको पटकथामा कमजोरी छ भन्ने कुरा आउँछ । म आफैंलाई पनि रियलाइज हुन्छ । हामीले यो कुरालाई स्वीकार गरेर लेखनमा सुधार गर्नुपर्छ जस्तो लाग्छ । 

नयाँ पुस्तालाई फिल्म सिफारिस ?

फिल्म रुचि आफ्नो टेस्टअनुसारको मनपर्ने हो । सबैको आ आफ्नो टेस्ट हुन्छ । आफ्नो टेस्टअनुसारको फिल्म हेरौँ । जस्तोसुकै व्यस्तता भए पनि समय मिलाएर आफ्नो रुचिअनुसारको फिल्म हेरियो भने राम्रो हुन्छ । 

कान्तिपुर संवाददाता

Link copied successfully