‘हाम्रो सिनेमाको रोडम्याप बुझ्न पनि विश्व सिनेमा हेरौँ’

असार ७, २०८२

कान्तिपुर संवाददाता

”To understand the roadmap of our cinema, let's watch world cinema”

काठमाडौँ — अभिनेता महेश त्रिपाठीका सङ्ख्यात्मक हिसाबमा फिचर फिल्म कम छन् । तर जति सिनेमामा उनले अभिनय गरेका छन्, त्यहाँ उनको चरित्रले पृथक् छाप भने जरुर छाडेका छन् । जस्तो कि पछिल्लो समय उनको महत्त्वपूर्ण भूमिका रहेका दुई फिल्म ‘फेरी रेशम फिलिली’ र ‘लाज् शरणम्’ ।

फिल्मले समीक्षात्मक हिसाबमा मिश्रित प्रतिक्रिया पाए पनि महेशको अभिनयको तारिफ भने प्रशस्तै भए । महेशको मुख्य भूमिका रहेको फिल्म ‘हल्कारा’बाट त उनले अमेरिकाको प्रतिष्ठित ‘ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेताको अवार्ड नै जिते । उनै महेशसँग ईकान्तिपुरको नियमित स्तम्भ पाँच प्रश्नका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

 तपाईँलाई लामो समयसम्म प्रभाव पारेको फिल्म ?

मलाई लामो समयसम्म प्रभाव पारेको इरानी फिल्म ‘द फादर’ हो । यो माजिद माजिदीले निर्देशन गर्नुभएको हो । यो फिल्म हेरिरहँदा सिनेमाले यस्तो कथा पनि भन्छ भन्ने लागिरह्यो । जुन दिन मैले यो फिल्म हेरेँ । त्यसपछि अन्य देशका फिल्महरू हेर्न  पनि बाटो खुल्यो । मलाई यो सिनेमाले सिनेमालाई हेर्ने दृष्टिकोण फराकिलो पारिदियो ।

तपाईँलाई मन परेका नेपाली फिल्म ?

मलाई मन परेका नेपाली फिल्महरूमा नुमाफुङ, डाइङ क्यान्डल, साँघुरो, बुलबुल, ह्वाइट सन लगायत थुप्रै छन् । यसरी नाम लिइरहँदा कति राम्रा फिल्महरू छुट्छन् र अन्याय हुन्छ । नेपालमा उसै त राम्रा फिल्म थोरै छन् । तिनै राम्रा फिल्महरूको नाम छुट्यो भने नरमाइलो हुन्छ । त्यस कारण नेपालमा गन्न मिल्ने जति फिल्म छन् ती सबै प्रिय लाग्छन् ।

मलाई मन पर्नेमध्ये सबैभन्दा फर्स्टमा पर्ने नुमाफुङ हो । किनकि यो फिल्म ५०को दशकमा सुटिङ भएको फिल्म हो । त्यति बेला नेपाली सिनेमाहरू एक किसिमका हुन्थे । तर यसले यति पृथक् कथा नेपाली फिल्म क्षेत्रमा पस्कियो । यो फिल्मले नेपाली फिल्मको परिभाषा बदल्यो । त्यस कारण सिनेमाको कथा यस्तो पनि हुनसक्छ भनेर मेरो मानसपटलमा गहिरो छाप छाडेको थियो ।

क्रमशः नाम लिएका सिनेमाहरूले पनि नेपाली फिल्म क्षेत्रमा पृथक् इमेज बनाएका छन् । कथा भन्ने शैली, मेकरको अप्रोचले गर्दा पनि सिनेमाहरू मेरो मानसपटलमा अजम्बरी रहिरहेका छन् ।

तपाईँलाई मन परेका विदेशी फिल्म ? 

मैले पहिलो विदेशी फिल्म हेरेको भनेको हलिउड फिल्म हो । अंग्रेजी फिल्महरूमा मलाई प्रभाव पार्ने सिनेमा भन्दा पनि कलाकार टम ह्याङ्क्स हो । त्यसपछि मैले जब बल्ल एक्स्प्लोर गर्न थालेँ त्यसपछि मार्लोन ब्रान्डो, अल पाचिनो लगायतका कलाकार हुन् । त्यसपछि मलाई इरानी फिल्महरू हो ।

नेपाली फिल्मको सकारात्मक र सुधार गर्नुपर्ने पक्ष ?

नेपाली सिनेमाले अहिले राम्रो गरिरहेको छ । यसरी हेर्ने हो भने सकारात्मक तरिकाले गइरहेको छ । हामीले हाम्रो सिनेमामा आफ्नै पहिचान बनाउनुपर्छ जस्तो लाग्छ । हाम्रो युनिक पहिचान सिनेमाको माध्यमबाट बनायौँ भने हाम्रो सिनेमा प्राविधिक रूपमा जति कमजोर भए पनि विश्वस्तरमा बलियो हुनसक्छ । जस्तो कि इरानी सिनेमाहरू नै हेरौँ । प्राविधिक रूपमा धेरै एक्स्प्लोर गरिएको हुन्न । तर त्यहाँका सिनेमालाई विश्वमै अप्रिसियट गरिएका हुन्छन् । हामी कोरियन ड्रामा धेरै हेर्छौँ । त्यो आफैँमा बलियो भएकाले हो । साउथ सिनेमा हेर्छौ । त्यसको आफ्नै पहिचान भएका कारण हो । हाम्रो सिनेमाको पनि आफ्नो पहिचान भइदिएदेखि गज्जब हुन्थ्यो ।

नयाँ पुस्तालाई फिल्म र पुस्तक सिफारिस ?

यो संसारलाई अवलोकन गर्न सहज बनाइदिने माध्यम भनेको पुस्तक हो । पुस्तकले हामीलाई विभिन्न ठाउँको जीवनसँग साक्षात्कार गराउँछ । एकदमै शक्तिशाली हतियार हो जस्तो लाग्छ पुस्तक । जस्तो पढ्नुस् तर पुस्तकचाहिँ पढ्नुस् भन्न चाहन्छु । मलाई पनि पढ्न रहन लाग्छ । अपकमिङ एक्टरहरूलाई पुस्तक पढ्न एकदम सिफारिस गर्छु । सिनेमाको कुरामा चाहिँ हामीले ग्लोबल सिनेमाहरू हेर्नुपर्छ । सिनेमा हेर्ने मात्र हैन त्यसको इतिहास पनि बुझ्नुपर्छ । सिनेमा कुन बाटोमा छ, जहाँका सिनेमाको पनि आफ्नो इतिहास छ । ती सिनेमाहरू कुन अवस्थाबाट यो अवस्थामा आएका रहेछन् त ? हाम्रो नेपाली सिनेमा पनि कुन बाटोबाट जाँदा कहाँ पुग्ला त भनेर रोडम्याप क्लियर हुनका लागि पनि ग्लोबल सिनेमा हेर्नुपर्छ ।

कान्तिपुर

Link copied successfully