लेखक श्याम सिंघकका हालसम्म तीन उपन्यास प्रकाशित छन्– दलित (२०६५), रेमिटल्यान्ड (२०७३) र कोइलाखाद (२०८२)। ‘कोइलाखाद’ गत वैशाखमा मात्र प्रकाशित भएको थियो। यो अनुसन्धानमूलक उपन्यास हो। भारतको मेघालयमा पुगेर पूर्वी पहाडका नेपालीहरू कोइला खन्दै जीविकोपार्जन गर्छन्। कोइलाखाद यही कथामा आधारित छ।
यसरी काम गर्ने सिलसिलामा थुप्रै नेपालीहरू कोइलाखानीभित्र हराए । कति जना अंगभंग भए। शिंघक यो उपन्यासका लागि पटक-पटक त्यहाँ पुगेका पनि छन्। ‘उहाँहरूले त्यहाँ बिताउनुभएको समय, पीडा, संघर्ष र प्रेमको यथार्थ वर्णन पुस्तकमा गरेको छु,’ उनी भन्छन् । आख्यानकार श्याम सिंघकसँग ईकान्तिपुरको नियमित स्तम्भ पाँच प्रश्नका लागि समर्पण श्रीले गरेको कुराकानीको सम्पादित अंश :
तपाईँले पछिल्लो पटक पढ्नुभएको पुस्तक ?
मैले हालसालै रोशन शेरचनको निबन्ध ‘धोबीघाट एक्सप्रेस’ पढेँ । यो पुस्तक मलाई धेरै मनपर्यो। यसमा विशेषगरी यात्रा वृत्तान्त र निबन्धकारको साहित्यिक संघर्षको प्रसङ्ग थियो । अनुभूतिपरक निबन्ध भएकाले मलाई साह्रै मन परेको थियो । त्यसअघि मैले ‘पानीपत्तीया’ भन्ने पुस्तक पढेँ । त्यहाँ नेपालीहरूको ब्रिटिस सेना सम्बन्धी इतिहास छ ।
तपाईँलाई मन परेको फिक्सन ?
मलाई सरुभक्तको ‘पागल बस्ती’ सबैभन्दा धेरै मनपर्छ । यसमा दार्शनिक र बौद्धिक किसिमका विषयवस्तु उठान गरिएको छ। त्यसको कथावस्तु र कथा वाचन मलाई धेरै मनपर्यो। अर्कोचाहिँ मलाई पारिजातको ‘शिरीषको फूल’ र इन्द्रबहादुर राईको ‘आज रमिता छ’ धेरै मनपर्छ। त्यसैगरी दौलतविक्रम विष्टको ‘चपाइएका अनुहारहरू’ मनपर्छ। त्योचाहिँ अफ्रिकाको भूमिमा लेखिएको एक मात्र नेपाली उपन्यास हो । उपन्यासभित्र मानिसका भावनात्मक कारहरू सघन रूपमा पाएँ ।
तपाईँलाई मन परेका ननफिक्सन ?
ननफिक्सन लेखनमा मलाई मोहन मैनाली मन पर्छन्। उनका उपल्लो थलो, मान्ठा हराएको जुग धेरै मन परेका हुन्। मैले कोइलाखाद लेख्दा बीचमा धेरै पढ्न पाइनँ । कोइलासँग सम्बन्धित अध्ययन अनुसन्धानै लागेकाले अरूमा समय दिन पाइनँ । मैनालीका पुस्तकहरू मानवी पक्षबाट लेखिएको हुन्छ। जुनयुद्धकालीन समयमा कसरी निर्दोष मानिसहरू द्वद्नको सिकार भए भन्ने कुराहरू गहन रूपमा उनका पुस्तकमा पाइन्छन्।
तपाईँलाई मन पर्ने आख्यानको पात्र ?
‘शिरीषको फूल’को सकम्बरी। त्यसैगरी ‘चपाइएका अनुहार’मा अनन्त भन्ने पात्र। यी पात्रहरू म सम्झिरहन्छु । किनकि नेपालीहरूको ठेट चरित्र अनन्तमा देख्छु। नेपालीहरूको बहादुरी र मानवीय पक्ष देख्छु। शिरीषको फूलको सकम्बरी त एकदम शक्तिशाली लाग्छ मलाई।
नयाँ पुस्तालाई पुस्तक सिफारिस ?
थुप्रै छन् पढ्नुपर्ने पुस्तक। राजन मुकारुङको ‘दमिनी भीर’ पनि पढ्नुपर्ने पुस्तक हो। भूमिनको ‘मैदारो’ र सरस्वती प्रतीक्षाको ‘नथिया’ पनि राम्रा पुस्तक हुन्। पछिल्लो समयका राम्रा यी पुस्तक म नयाँ पुस्ताका साथीलाई सिफारिस गर्न चाहन्छु।
