काठमाडौँ — सन् २०२३ को अप्रिलमा जिम्मेवारी सम्हाल्न काठमाडौं आएकी थिइन्, संयुक्त राष्ट्रसंघ (यूएन) की नेपालका लागि आवासीय संयोजक हाना सिंगर–हम्डी । उनीसँग यसअघि पनि नेपालमा बसेर काम गरेको अनुभव छ । सन् २०११ मा युनिसेफ प्रमुखका रूपमा उनले नेपालमा काम गरेकी थिइन् । यूएनकी नेपालका लागि आवासीय संयोजक इजिप्टकी सिंगर–हम्डीसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :
यहाँले नेपाली भूगोलका बारेमा कस्तो धारणा बनाउनुभएको छ ?
म सन् २०११ मा युनिसेफको प्रतिनिधिका रूपमा नेपाल आएकी थिएँ । र, अहिले संयुक्त राष्ट्रसंघको आवासीय संयोजकको जिम्मेवारी सम्हाल्न यो सुन्दर देशमा छु । म पहिलोचोटि नेपाल अवतरण गर्ने क्रममा देखेको दृश्य भनेको हिमाल र पहाडको हो । यहाँ रहँदा सुन्दर भौगोलिक विविधतामा ध्यान जान्छ नै । नेपालको भूगोल ‘भर्टिकल’ तरिकाको छ र छोटो समयमै तराईदेखि पहाड र हिमालयसम्म पुग्न सकिन्छ । नेपालको भूगोल जति अद्भुत छ, त्यति नै चुनौतीपूर्ण पनि छ । यहाँका जातजाति, संस्कृति, रीतिरिवाज, भाषा, परिकार, पहिरन आदिमा विविधता देख्न सकिन्छ ।
दैनिक कामकाजका सिलसिलामा यहाँका धेरै मानिससँग भेटवार्ता गर्नुभयो । कस्ता पाउनुभयो त ?
युनिसेफको प्रमुख रहँदाका तीन वर्षमा मैले नेपालका हिमाली क्षेत्र र तराईतिर घुम्ने अवसर पाएँ । ग्रामीण महिला, केटाकेटी र पुरुषका कुराहरू सुन्न पाएँ । साथै, उनीहरूका चुनौती र जीवन दृष्टिकोणबाट परिचित भएँ । म उनीहरूको न्यानोपन र शालीनताले आकर्षित पनि भएँ । अनि, गाउँघरमा टीका, फूल र माला लगाएर गरिने आतिथ्यताले म अन्त्यतै खुसी हुन्छु । मैले भेटेका व्यक्तिमध्ये स्वास्थ्य स्वयंसेविकाहरूबाट ज्यादै प्रभावित छु । म उनीहरूलाई नेपालको ‘अनसङ हिरो’ भन्छु । उनीहरूको कामप्रतिको समर्पण भाव, अप्ठ्यारो भूभाग पार गर्दै आ–आफ्नो क्षेत्रका हरेक घर–घरमा पुग्ने र आमा, श्रीमती वा बुहारीका रूपमा आफ्ना काम सम्हाल्ने उनीहरूमा अद्भुत क्षमता पाएँ । त्यो देखेर मलाई उनीहरूप्रति सधैं सम्मान भइरह्यो । हामी हिमालय क्षेत्रलाई कहिलेकाहीँ धेरै रोमान्टिक तरिकामा सोच्छौं । तर तिनीहरूलाई भव्य देखाउने कुराले यसको फेदमा बसोबास गर्ने मानिसका लागि जीवन कष्टकर र कठिन बनाउँछ, जसमा महिला पनि पर्छन् । जब म साना केटाकेटीहरू आफ्नो वजन बराबर दाउरा, खाद्यान्न वा पानीका भाँडा बोकेर ग्रामीण क्षेत्रमा उकाली–ओराली गरेको देख्छु, मेरो मन साह्रै दुख्छ ।
नेपाली मौसमबारे यहाँको धारणा ?
सुरुमा त मलाई नेपालमा चार सिजन नभएर ६ सिजन भएको थाहा पाउँदा आश्चर्य लाग्यो । देशको विविध भूगोलका कारणले हामीले यहाँको फरक मौसमको अवस्थालाई अनुभव गर्न पायौं । तराईको अत्यधिक गर्मीदेखि हिमालय क्षेत्रको चिसो तापक्रम र अविरल मनसुनी वर्षादेखि उत्तरी हिमालय क्षेत्रको सुक्खा हावापानीसम्म यहाँ पाइन्छ । हिमालका कारणले यहाँको मौसम अप्रत्याशित छ । नेपालले पक्कै पनि जलवायु परिवर्तनका कारण मौसमी ढाँचामा तीव्र परिवर्तनको सामना गरिरहेको छ । यो ती मानिसहरूका लागि चिन्ताजनक कुरा हो, जसले किसानका रूपमा आफ्नो जीवन निर्बाह गरिरहेका छन् र उनीहरू मौसमको प्रकृतिअनुसार बाली लगाउँछन् ।
तपाईंलाई मन पर्ने नेपाली खाना ?
म आफूलाई ‘एड्भेन्चर’ व्यक्ति भन्छु । खानाका विभिन्न स्वाद चाख्न पाउनु पनि एउटा ‘एड्भेन्चर’ नै हो जस्तो लाग्छ । म काठमाडौंमा बस्छु र सौभाग्यवश यहाँ बहुसांस्कृतिक परिकारका साथै भुइँमा बसेर ‘नेवारी भोए’ को पनि स्वाद लिन सकिन्छ । काठमाडौंबाट बाहिर जाँदा हिमाल आरोहणका बेलामा चौतारीमा थकाइ मार्दै तात्तातो चिया खानुको मज्जालाई अन्य के कुराले जित्न सक्ला र, मेरो पहिलो ट्रेकिङ जुम्लादेखि रारा तालसम्मको थियो । जुन २५ किलोमिटर दूरीको छ । त्यो कठिन यात्राका दौरान सबैभन्दा लोभलाग्दो दृश्य भनेकै स्वादिलो ढिँडो र दाल–भात थियो । नेपाली खानालाई सम्झिँदा मेरो स्मरणमा आउने भनेकै त्यही स्वादिलो दाल–भात हो । त्यो तातो खानाको सुगन्ध र स्वाद मेरो मनमा सधैं बसिरहेको छ ।
नेपाल घुम्ने क्रममा यहाँको परिवेश कस्तो पाउनुभयो ?
यहाँका मानिसहरू फरक–फरक प्रकृतिका देखिन्छन् । विभिन्न भाषिका बोल्छन् । म जहाँ जहाँ गएकी छु, मानिसहरूको न्यानोपन र अपनत्व पाएकी छु । उनीहरूको जीवन जतिसुकै कठिन किन नहोस्, हरदम मुहारमा मुस्कान भेटेकी छु । धार्मिक आस्थाप्रति यहाँका मानिसहरूको गहिरो श्रद्धा देख्दा म मोहित हुन्छु । काठमाडौं उपत्यकामा मन्दिर र चैत्यहरू प्रशस्त छन् । दैनिक पैदल हिँड्दा मानिसहरू देवताको दर्शन गर्छन् । एक पटक डोल्पोबाट तल हिँड्दाको परिवेश सम्झन्छु । हामीले बीच बाटोमा सांस्कृतिक जुलुस देख्यौं । मैले ‘बोन कल्चर’ (प्रकृतिलाई पूजा गर्ने संस्कृति र संस्कार) का बारेमा पहिले कहिल्यै सुनेकी थिइनँ । उक्त दृश्य देख्दा साँच्चै लोभलाग्दो थियो ।
तपाईंले पनि नेपालका चार्डपर्व मनाउनुहुन्छ ? सबैभन्दा बढी मन पर्ने नेपाली चाड ?
विदेशीका रूपमा मैले नेपालका चाडपर्व स्थानीयले जस्तै गरी मनाउँदिनँ । तर, काठमाडौंमा होस् वा दुर्गम जिल्लामा, मैले नेपाली चाडपर्व र सांस्कृतिक कार्यक्रममा भाग लिएकी छु । नेपालीले चाडपर्वलाई दिएको महत्त्व मलाई असाध्यै मन पर्छ । दसैंमा परिवारका सदस्यहरूसँग भेटघाट हुन्छ । तिहारमा आफू र सबै जीवित प्राणीको महत्त्वलाई सम्मान गरिन्छ । वर्षा वा मौसमको महत्त्वलाई मच्छिन्द्रनाथको जात्राले दर्शाउँछ । मलाई जात्रापर्व असाध्यै मन पर्छ, तिनले ममा उत्साह भर्छन् ।
तपाईं नेपाली भाषा बोल्नुहुन्छ ?
म अन्य केही भाषामा राम्रै दक्खल राख्छु । तर नेपाली भाषा प्रयोगमा कमजोर छु । केही सम्बोधन र एकाध पंक्तिमै मेरो नेपाली भाषा सीमित छ । मलाई थाहा छ– मैले अझ धेरै प्रयास गर्नुपर्छ । किनकि, संयुक्त राष्ट्रसंघको प्रतिनिधिका रूपमा मैले काम गरिरहेका मानिससँग सम्बद्ध हुनका लागि त्यो उत्तम तरिका हो । र, भाषाले मलाई उनीहरूसँग जोडिन मद्दत गर्छ । नेपाल भाषिक विविधता भएको देश हो । मलाई थाहा छ– सांस्कृतिक विविधता भएको यो देशमा १०२ वटाभन्दा बढी भाषिकाहरू बोलिन्छन् । म यहाँको भाषिक विविधताको सम्मान नै गर्छु । र, संयुक्त राष्ट्रसंघको पहलमा संस्कृतिलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छु ।
नेपाली गीत–संगीत कत्तिको सुन्नुहुन्छ ? तपाईंलाई मन पर्ने कुनै गीत ?
मलाई नेपाली संगीतका बारेमा धेरै थाहा छैन । मादलको जीवन्त ताल वा सारंगीको धुनले मेरो आत्मालाई चलायमान बनाउँछ । साथमा मलाई एकाग्र पनि तुल्याउँछ । मैले कार्यक्रमहरूमा ‘यो मन त मेरो नेपाली हो...’ भन्ने लाइन गाएकी छु । मलाई आनी छोइङ डोल्माका गीत र आनन्दायी भजनहरू सुन्न मन पर्छ । उनले आफ्नो उपस्थिति जनाउँदै महिला र बालबालिकाका लागि आवाजमार्फत योगदान दिएकी छन् । उनको सुमधुर स्वरले भीडभाड र होहल्लालाई पनि शान्त बनाउँछ । बालबालिकाको संरक्षण र पालनपोषणका बारेमा उनले अन्य कलाकारसँग गाएका गीत ‘हातेमालो गरौं, आवाज उठाऔं...’ म धेरै सम्झन्छु, जुन युनिसेफ नेपालको गान पनि बन्यो ।
तपाईंलाई मन पर्ने साहित्यिक कृति ?
दुर्भाग्य नै भनौं, यसबारे म जानकार छैन ।
नेपाली चलचित्र हेर्नुभएको छ ?
मैले नेपाली चलचित्र हेरेकी छैन । तर, नेपालका बारेमा बनेका चलचित्र भने हेरेकी छु । मलाई भित्रैदेखि छोएको चलचित्र हो– क्याराभान । यो चलचित्र ओस्कारका लागि पनि मनोनीत भएको थियो । माथिल्लो डोल्पोको आकर्षक दृश्य र सांग्रिला (गाउँको शान्त र आनन्ददायी क्षेत्र) ले देखाएका चुनौती मनमोहक छ । त्यो चलचित्रप्रति अन्तर्राष्ट्रिय दर्शक आकर्षित भएको मलाई विश्वास छ । डोल्पोको यात्राका क्रममा मैले क्याराभानका पाइला फेरि महसुस गर्न पाएँ । जसले यात्रालाई अझ अविस्मरणीय बनायो । यहाँका फिल्म फेस्टिभलहरूमा स्थानीय चलचित्रकर्मीले बनाएका धेरै डकुमेन्ट्रीहरू हेरेकी छु । जसले मलाई नेपाली समाज र देशलाई अझ बढी बुझ्न मद्दत गरेको छ ।
नेपाल कत्तिको घुम्नु भएको छ ? यहाँलाई मन पर्ने गन्तव्य ?
सन् २०१४ मा नेपाल छाड्नुअघि पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको हुम्लासम्मका ५४ जिल्लाको भ्रमण गरेकी थिएँ । यस पटक म यहाँ हुँदा बाँकी जिल्ला पुग्न चाहन्छु । त्यसबेला मेरो यात्रा पहाड र हिमालय क्षेत्रमा बढी केन्द्रित थियो । मैले भ्रमण गरेका स्थानमध्ये मन पर्ने एउटा गन्तव्य पत्ता लगाउन गाह्रो छ । तर, निश्चित रूपमा यतिचाहिँ भन्न सक्छु कि मलाई सबैभन्दा मन पर्ने ठाउँ ती हुन्, जहाँ म प्रकृतिको नजिक हुन्छु । फोक्सुन्डो र रारा ताललाई मैले मेरो जीवनमा देखेको सबैभन्दा मनमोहक ठाउँमध्येको सूचीमा राखेकी छु । त्यसैगरी, पुरातन पौराणिक कथा, पुरातन कला र १५ औं शताब्दीका गुफाहरूको खजानाका साथमा ठूला परिदृश्यले लोमान्थाङलाई अविश्वसनीय गन्तव्य बनाएको छ । १२ वर्ष पहिले उनीहरूले सडक बनाउनुअघि म त्यहाँ गएकी थिएँ । म ती ठाउँहरूमा फेरि भ्रमण गर्न चाहन्छु ।
कला र संस्कृतिमा नेपाल धनी मानिन्छ । यहाँको कला–संस्कृतिप्रति तपाईंको धारणा ?
कला र वास्तुकलाको केन्द्रका रूपमा रहेको काठमाडौं उपत्यकामा बस्न पाउँदा म आफूलाई भाग्यमानी ठान्छु । यहाँका तीन मुख्य सहर (काठमाडौं, ललितपुर र भक्तपुर) जीवित संग्रहालयजस्तै हुन् । यी साँच्चै उल्लेखनीय छन् । मैले काठमाडौं उपत्यकालाई ‘देवताहरूको भूमि’ भन्दा कुनै बढाइचढाइ गरेको हुनेछैन । मलाई पाटन दरबार स्क्वायरको वास्तुकला मन पर्छ । जसमा शताब्दीयौंदेखि हिन्दु र बौद्ध धार्मिक अभ्यासले प्रभाव पारेको शिल्पकला जीवित छ । मलाई दुःख लाग्छ– यस प्रकारको वास्तुकला बढ्दो सहरीकरणसँगै हराउँदै छ । यहाँका वास्तुकला एवं चित्रकलाले काठमाडौं उपत्यकाको कथा र संस्कृतिलाई दर्शाउँछन् । यसका साथै चित्रकला र जात्राले छिमेकी सम्बन्धलाई समेत जीवन्त तुल्याएका छन् । यहाँको सभ्यता, रमाइलो जीवन, उत्साहपूर्ण माहोल लगायत कुरा नेपाली संस्कृतिमै छ । यो मानिसहरूको जीवनको एउटा पाटो हो, जसले पर्यटक र मजस्ता बाहिरको मान्छेलाई आकर्षित गरेको छ ।
