शताब्दीदेखि घुमिरहेछ तुलसीमेहरको चर्खा

उचित व्यवस्थापन र आर्थिक अभावमा घरेलु उद्योगको जिउँदो इतिहास धर्मराउँदै

पुस ८, २०८०

ऋषिराम पौड्याल

काठमाडौँ — केही युवा आर्य समाजमा संगठित भएर समाजका विकृतिविरुद्ध लागेको राणाहरूलाई मन परेको थिएन । तिनै युवामध्येका एक थिए, तुलसीमेहर श्रेष्ठ । राणाहरूले उनलाई मृत्युदण्ड कि निर्वासन रोज्ने विकल्प दिए । उनले सीप सिक्ने चाहनाले भारत जाने विकल्प रोजे ।

१९७७ सालमा उनले बिन्ती चढाए, ‘मलाई जेल होइन, परदेशमा सीप सिक्न पठाइयोस् ।’ राणा प्रधानमन्त्री चन्द्रशमशेरले तुलसीमेहरको प्रस्ताव स्विकारे । खर्चसमेत दिँदै चन्द्रशमशेरले भनेका थिए, ‘कपडा बुन्ने काम गर्नू, राजनीति नगर्नू ।

भारत गएपछि उनी सवारमती आश्रम, सेवाग्राम लगायतका स्थानमा रहेर महात्मा गान्धीसँग निकट रहे । गान्धीकै सल्लाहमा आफैंले बुनेको खद्दर (खादी) को लुगा लगाए उनले । ५ वर्षपछि १९८२ सालमा नेपाल आउँदा ल्याएको कपास र रकमबाट चर्खा प्रचारको काम गर्ने निधो गरेका थिए । तर, राणाहरूले त्यस्तो प्रचार गर्न र कपडा बनाउने घरेलु उद्योग खोल्ने अनुमति दिएनन् । राणाहरूलाई नैतिक दबाब दिन चर्खा चलाएर बसे, भद्रकालीस्थित मन्दिरअगाडि । उनी आफूले गरेको काम देखाउने चाहन्थे । किनकि सिंहदरबार जाँदा राणाहरू यही बाटो प्रयोग गर्थे । चर्खा चलाएर सत्याग्रहमा बसेपछि भने प्रधानमन्त्री चन्द्रशमशेर उनीसँग प्रभावित भए । त्यसपछि शंखमूलमा बसेर चर्खा र घरेलु उद्योगको काम गर्न अनुमति दिए । चर्खाको माध्यमबाट धागो कात्ने, रंग लगाउने र कपडा उत्पादन गर्ने उद्देश्य लिएर फर्किएका उनलाई राहत मिल्यो । उनकै नेतृत्वमा १९८३ मा श्री चन्द्रकामधेनु चर्खा प्रचारक महागुठी स्थापना भयो । जसमार्फत कपडा उत्पादन हुन थाल्यो । यसलाई नै नेपालको पहिलो संस्थागत घरेलु उद्योग मानिन्छ ।

राणाहरूले नचाहँदा नचाहँदै पनि सत्याग्रह बसेर झन्डै सय वर्षअघि भारतबाट ल्याएको कपास र भारु ८ सयबाट चर्खा प्रचारकको नाम दिएर सुरु भएको घरेलु उद्योगको इतिहास गर्विलो छ । लोभलाग्दो र प्रेरणादायी इतिहास जोडिएको उक्त संस्था भने अहिले नेपाल चर्खा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीको नाममा आफ्नो अस्तित्व कायम राख्न संघर्ष गरिरहेको छ । तथापि सीमित संख्यामा भए पनि घरेलु कपडा उत्पादन गर्ने र स्वदेशकै सीप सिकाउने अभियानको चर्खा भने घुमिरहेकै छ ।

उद्योगलाई प्रोत्साहन गर्ने र उत्पादित सामग्री बिक्री गर्ने उद्देश्यले विसं १९९७ मा पाटनको मंगल बजारमा चर्खा प्रचारक महागुठीको शाखा स्थापना गरिएको थियो । त्यहाँ सुधारिएको प्रविधिबाट कपडा बुनेको देखाउने र घरमा बुनेको खादीका कपडा बिक्री गर्ने उद्देश्यले बिक्री कक्ष पनि खोलिएको २०३५ सालमा प्रकाशित तुलसीमेहर स्मृति ग्रन्थमा उल्लेख छ । प्रजातन्त्र प्राप्तिपछि २००८ सालमा तुलसीमेहरले गान्धी स्मारक निधि नामक संस्था स्थापना गरे । संस्थाको उद्देश्य मुलुकमा पिछडिएका वर्गको सामाजिक र आर्थिक उत्थानका लागि कपास खेतीका कार्यक्रम सञ्चालन गर्नु थियो । संस्थालाई २००९ सालमा राजा त्रिभुवनबाट दानस्वरूप काठमाडौंको मनोहरामा ५५ रोपनी र धनुषामा ५५ बिघा जमिनसहित एउटा भवन प्राप्त भयो । गान्धी आदर्श महिला विद्यालय स्थापना गरिएको मनोहरामा अहिले गान्धी आदर्श माध्यमिक विद्यालय छ । 


चन्द्रकामधेनु चर्खा प्रचारक महागुठीबाट कपडा र हस्तकलाका सामान उत्पादन गर्ने र गान्धी स्मारक निधिबाट निम्न आय भएका व्यक्ति र असक्षम महिलालाई तालिम प्रदान गर्ने उद्देश्य थियो । २०२९ सालमा दुवै संस्थालाई एकीकृत गरी नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठी नामकरण गरियो भने २०५७ सालपछि नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको नामबाट क्रियाशील छ । भारत सरकारले २०३५ सालमा तुलसीमेहरलाई अन्तर्राष्ट्रिय नेहरू पुरस्कारबाट विभूषित गरेको थियो । पुरस्कारस्वरूप प्राप्त भारु १ लाख ४५ हजार उनले गुठीलाई नै दान गरेका थिए ।

महिलालाई सीप काठमाडौं, ललितपुर, जनकपुर, मोरङ अमरदह र काभ्रेमा रहेको जमिन र भवनमा महिला उद्यमी उत्पादन गर्ने उद्देश्यले सीपमूलक तालिम सञ्चालन गरिँदै आएको छ । यहाँ चर्खाको माध्यमबाट धागो कात्ने, खेलौना बनाउने, कपडा बुन्ने, सिलाउने र ब्युटिपार्लरको सीपसमेत सिकाइन्छ । २०३५ सालमा मनोहरामा स्थापित तुलसीमेहर महिला आश्रममा महिलाहरूले आवासीय तालिम लिने गरेका छन् । तालिमका लागि काँचो धागो र कपडा बजारबाट खरिद गरिँदै आएको छ । 

यहाँबाट बर्सेनि मुलुकभरका झन्डै ४ सय महिलाले सीप हासिल गर्छन् । भारतले बनाइदिएको छात्रावासमा बसेर तालिम लिने नै ६० जना छन् । खानेबस्ने सबै खर्च गुठीले बेहोर्छ भने उपत्यकाबाहिरबाट आएकालाई एक वर्ष तालिम दिने गरिन्छ । अहिले सिलाइबुनाइमा ७० जनाले तालिम लिइरहेका छन् । स्थानीय तहको सम्बन्धित वडाले गरिब, असहाय र विपन्नका रूपमा सिफारिस गरेका आधारमा तालिमका सहभागी छनोट हुने गरेको महागुठीका कार्यकारी अधिकृत प्रेमप्रसाद लामिछानेले बताए । ब्युटिपार्लरको तालिमका लागि हालै भूकम्प गएको जाजरकोट र रुकुमका महिलालाई प्राथमिकता दिइएको उनको भनाइ छ । ‘तीन–तीन महिनाको तालिम वर्षमा तीन पटक सञ्चालन हुन्छ,’ उनले भने, ‘अहिले दुई समूहमा २५ जनाले तालिम लिइरहेका छन् ।’ पार्लर तालिम लिएकाहरूले स्वदेश मात्र होइन, विदेशमा पनि रोजगारी पाउने गरेको महागुठीले जनाएको छ । चार दशकयता तालिम दिइरहेको महागुठीले उत्पादित जनशक्तिको भने यकिन तथ्यांक राखेको छैन । जनकपुर र काठमाडौंमा सय थान चर्खा सञ्चालनमा रहे पनि सीप सिकाउनेबाहेक बजारीकरणको काम हुन सकेको छैन ।


मनोहरास्थित महागुठी प्रांगणमा रहेको उद्योग भवनको शिलान्यास २०१६ जेठमा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले गरेका थिए । भवनको उद्घाटन भने २०२३ असोजमा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले गरिन् । भारतका तत्कालीन राष्ट्रपति राधाकृष्णन्ले २०२० कात्तिकमा छात्रावास भवनको शिलान्यास गरे । उद्योग र छात्रावासका रूपमा परिचित यी ऐतिहासिक भवन अहिले जीर्ण छन् । मनोहरास्थित गुठीको मुख्य कार्यालय बसेको १० वटा भवनमध्ये ६ वटा पुरानो र चारवटा नयाँ छन् । कपडा बुन्ने ह्यान्डलुम १० वटा, इलेक्ट्रिक मेसिन ५ वटा छन् । सिलाइका लागि २५ वटा मेसिनको खाँचो रहेको कार्यकारी प्रमुख लामिछानेले बताए । ५ वटा हातेलुम मर्मत नगरे सञ्चालन गर्नै नसक्ने अवस्थाका छन् । बनेपास्थित भवन पनि निकै जीर्ण भएकाले प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ ।

घरजग्गा भाडा र बैंकमा राखेको रकमको ब्याजसमेत वार्षिक करिब १ करोड २० लाख आम्दानी रहेको गुठीले तालिमका लागि पुराना मेसिन मर्मत र नयाँ खरिद गर्न सकेको छैन । आम्दानी भएको रकम कर्मचारीलाई तलब र आवासीय तालिममा खर्च हुने गरेको छ । 

गुठीमा स्वार्थ प्रवेश

२०२९ देखि २०५५ सालसम्म गुठीको अध्यक्ष मातृकाप्रसाद कोइराला थिए । २०५५ सालमा महेन्द्रनारायण निधि अध्यक्ष भए । त्यसपछि भद्रकाली मिश्र, भद्राकुमारी घले, टीकामान वैद्य र उदयमोहन श्रेष्ठले नेतृत्व लिए । गणतन्त्रको स्थापनापछि बिस्तारै राजनीतिक र व्यापारिक स्वार्थ बढ्दै गयो । गुठीको सम्पत्तिमा आफ्नो पहुँच कायम राख्न यस्तो खिचातानी भएको पूर्वसञ्चालकहरूको भनाइ छ । २०६३ को परिवर्तनपछि मुख्य गुठियार र सञ्चालकबीच नै टकराब बढेको हो । २०७७ सालमा महागुठीको दुईवटा कार्यसमिति बन्यो । विवादको क्रममा उदयमोहन श्रेष्ठ र उर्मिला गर्ग उपाध्यायले छुट्टाछुट्टै सञ्चालक समिति बनाएपछि यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले तदर्थ समिति बनाएर अधिवेशन गराउन भने पनि सरकारले लामो समय बेवास्ता गरिरह्यो । सर्वोच्चले २०७७ मंसिरमा फैसला गरेपछि २०७९ जेठको अन्त्यमा तदर्थ समिति बन्यो ।

अध्यक्ष बन्न मुख्य गुठियार हुनुपर्छ । गुठियारको छनोट मुख्य गुठियारले गर्छ भने निर्वाचित अध्यक्षले नै पदाधिकारी मनोनीत गर्छ । २०७१ सालमा महागुठीको चल–अचल सम्पत्ति हिनामिना हुन लागेको भन्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा उजुरी परेको थियो । उजुरीका विषयमा छानबिन गर्न मन्त्रालयले समाज कल्याण परिषद्लाई निर्देशन दियो । निर्देशनअनुसार दुई सदस्यीय छानबिन समितिले ‘क्राफ्ट विथ कन्साइन्स’ परियोजनाअन्तर्गत महागुठी नेपाल नामक कम्पनी दर्ता गरेर गुठीबाहिरका व्यापारीबाट सामान किनेर उत्पादन बिक्री गरी नाफा कमाएको उल्लेख गरेको छ । 

महात्मा गान्धीबाट प्रभावित भएर खुलेको महागुठीमा आन्तरिक समस्या बढेको भन्दै मुख्य गुठियार विपुलेन्द्र चक्रवर्तीले केही समयअघि राजीनामा दिएका छन् । ‘गान्धी पथ र तुलसीमेहरको नाम जोडिएको संस्थामा किचलो हुनुहुँदैन । कसैले स्वार्थ राखेर काम गर्नु पनि हुँदैन,’ महागुठीका साधारण सदस्य रहेका चक्रवर्तीले भने, ‘मलाई कामकारबाही चित्त नबुझेकाले राजीनामा दिएको हुँ ।’ उनी गान्धीको नाम जोडिएको संस्थामा कम्तीमा थोरै भए पनि आचरणमा सुधार हुनुपर्ने तर्क गर्छन् । महागुठीको नाममा व्यापार गरेको आरोपमा क्राफ्ट कन्साइन्स नामको कम्पनीविरुद्ध महागुठीले नै उजुरी गरेको छ । विवादका कारण क्राफ्टले तीन दिनअघि गर्न लागेको साधारणसभा रोकिएको छ । 

२०४१ सालबाट सञ्चालन भएको ‘गुठीसप’ परियोजनाअन्तर्गत मुलुकका विभिन्न भागबाट उत्पादित हस्तकलाका वस्तु बिक्री गरिन्थ्यो । उक्त सपको व्यवस्थापन गर्न छुट्टै समिति थियो । तर, सपलाई कम्पनीमा परिणत गरेपछि समस्या बल्झिएको हो । सपले नाफाको ४० प्रतिशत रकम महागुठीलाई दिनुपर्ने नीति थियो । अहिले महागुठीले सपबाट कुनै पनि आर्थिक सहयोग प्राप्त गरेको छैन ।

गुठीको नाममा मुलुकभर अन्दाजी हजार रोपनी जमिन छ । मनोहरामा ५६ रोपनी, मोरङमा २३ बिघा, जनकपुरमा ५० बिघा, ललितपुरको मानभवनमा १५ तथा बनेपामा ६ रोपनी जमिन छ । भवनहरू नयाँ पुराना गरी १७ वटा रहेका छन् । महागुठीको मुलुकभर १० अर्बभन्दा बढीको चलअचल सम्पत्ति छ । जनकपुरको हरिहरपुरस्थित १० बिघा जमिनमा कपास खेती गरिएको छ । यहाँ भारतको खादी आश्रमबाट नयाँ मेसिन ल्याएर कपासलाई प्रशोधन गरेर धागो र कपडा बनाउने तयारी महागुठीका कार्यकारी प्रमुख लामिछाने बताउँछन् । ‘चर्खा र खादी ब्रान्डलाई बजारीकरण गर्ने योजना हो,’ उनले भने, ‘यसका लागि जीर्ण भवनको मर्मत, नयाँ मेसिन खरिको तयारी छ ।’ 


तुलसीमेहरले २०१७/१८ सालमा जनकपुरमा कपास खेती नै गरेका थिए । कपास खेती गर्नकै लागि जमिन खरिद गरेका थिए । टेक्सटाइल इन्जिनियर विवेकानन्द मिश्र महागुठीले तयार गर्ने घरेलु उत्पादनलाई सरकारी संरक्षण आवश्यक रहेको बताउँछन् । खादी, पस्मिनालगायतका उत्पादनको बजार युरोप र अमेरिकासम्म रहे पनि लागत उच्च भएकाले बिक्रीमा समस्या हुने उनको विश्लेषण छ । ‘भारतबाट धागो सस्तोमा आउने भएकाले नेपालले प्रतिस्पर्धा गर्न कठिन छ । नेपालमा अर्गानिक कपास उत्पादन गरेर त्यसैलाई ब्रान्डिङ गर्न सक्नुपर्छ,’ उनले भने । हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना बन्द भएको प्रसंग जोड्दै उनले नेपालले ठूला उद्योग खालेर विदेशीसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने कठिनाइ सुनाए । ज्योति स्पिनिङ र बुटवल धागो कारखानामा काम गरेको अनुभव लिएका मिश्रले भन्छन्, ‘अहिले विश्वमा ब्याक टु नेचरको अवधारणा आएकाले घरेलु उत्पादनबाट फाइदा लिन सकिन्छ ।’

घरेलु इलम र खादी कपडाको प्रचारमा उल्लेख्य काम गरेका तुलसीमेहरले उतिबेलै आत्मनिर्भरको बाटो पहिल्याएका थिए । तर, राज्य यस्ता उद्योगबाट पाठ सिकेर सीपमूलक तालिम प्रदान गरेर रोजगारी सिर्जना गराउन अग्रसर छैन । मुलुकभर हजार रोपनीभन्दा धेरै जग्गा रहेको गुठीअन्तर्गतका उद्योगको संरक्षण गर्नुको बदला अनेक दाउपेच र राजनीतिक खिचातानीले यस्ता संस्थाको अभियान बीचैमा तुहिने गरेको छ । घरेलु उद्योगको जिउँदो इतिहासका रूपमा रहेको यस्ता संस्थातिर राज्यको आँखा कहिले पुग्ला ?


गान्धीका विश्वासपात्र

ललितपुरको भेलाछोंटोलमा १९५३ साल पुसमा जन्मिएका तुलसीमेहर श्रेष्ठ माइला सन्तान हुन् । राणाकालमा उनका पिता कैलाशमेहर वन कार्यालयका सुब्बा थिए । उनको बाल्यावस्था जन्मघरमै बित्यो । सावाँ अक्षर चिन्ने भएपछि उनले गणेशमंगल जोशीको घरमा टोलका अन्य विद्यार्थीसँगै सरकारी कामकाजको विषय र हिसाबको अध्ययन गरे । सरकारी काम सिकेपछि पोताला अड्डामा लिखत लेख्ने काम गरे ।

सरकारी कामका सिलसिलामा तुलसीमेहरले भारतका विभिन्न सहर जाने अवसर पाए । उनले मदिरा र माछामासु नखाने तथा हिंसा नगर्ने अठोट गरेका थिए । उनको अठोट नेवारी परम्परा विपरीत भएकाले केही समय परिवार नै निकै अप्ठेरोमा परेको थियो । एक दिन उनले पत्रिकामा सत्यार्थ प्रकाश पुस्तकका बारेमा विज्ञापन पढे । यो पुस्तक खोजेर पढेपछि झूटो नबोल्ने, छुवाछूत र धार्मिक कुरीतिको विश्वास नगर्ने, जीवनमा सत्य मात्र बोल्ने बाटो अँगाले । उनी केही समय नवलपरासीको त्रिवेणीधाममा पनि बसे । त्यहाँबाट पाटनस्थित घरमा फर्केपछि नेवारी प्रसादका रूपमा घरमै बनाएको मासु, अन्डा, मदिरा पनि खान इन्कार गरे ।

उनी २१ वर्षको हुँदा पिताको निधन भयो । नेवारी रीतिरिवाज नमानेकाले आमासँग पनि धेरै राम्रो सम्बन्ध रहेन । उनले विवाह गरेनन् । आफूलाई एक्लो महसुस गरेपछि साथी चक्रबहादुर अमात्यसँग मिलेर कुपण्डोल (कानदेवतास्थान) मा तेल र सेन्ट बेच्ने पसल खोले । तुलसीमेहर बुबासँगै भारत गएका बेला त्यहाँ स्वतन्त्रता संग्रामको सुरुवात भएको थियो । स्वतन्त्रता संग्राममा जोडिएका भारतका सन्त दयानन्दको प्रभाव नेपालका माधवराज जोशीलगायतका युवामा परेको थियो । तिनै माधवराजका छोरालाई समेत सहभागी गराएर सत्याचरण मलामी गुठीको स्थापना गरियो । फत्यबहादुरको खिलटोलस्थित घरमा बसेर उक्त गुठी गठन गरिएको थियो । अमरराज जोशीको अध्यक्षतामा गठन भएको नौ जनाको गुठीमा तुलसीमेहर सहायक मन्त्री थिए ।

राणाहरूले आर्य समाजको नामबाट कुनै पनि गतिविधि गर्न बन्देज गरेका थिए । गुठीको नाम दिए पनि तुलसीमेहरले भित्रभित्र सत्यार्थ प्रकाशनको अध्ययन, आर्यसमाजी भावको प्रचारजस्ता गतिविधि गर्थे । विसं १९७७ चैतमा यो कुरा राणाहरूले थाहा पाए । जुद्धशमशेरको दरबारमा सूचना पुगेपछि गुठीमा समावेश भएका तुलसीमेहरसहितलाई पक्राउ गरेर भीमशमशेरको टंगाल दरबारमा लगेर ६ दिनसम्म बयान लिइयो । बयानका क्रममा आर्य समाजी मतको प्रचार गरेको ठहर गरी जनही १२ वर्ष कैद वा देशनिकालाको सजाय दिन उचित हुने राय तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको इजलासमा निर्णयार्थ प्रस्तुत गरियो । भाइभारदारसँगको छलफलपछि चन्द्रशमशेरले तुलसीमेहरसहित पक्राउ परेकालाई दुई वर्षको कठिन कराबासको सजाय वा देशनिकालाको फैसला सुनाए । यो निर्णय सुनेपछि तुलसीमेहरले आफू टुहुरो भएकाले दण्डको रकम तिर्न नसक्ने र काराबासमा पर्दा बिग्रन पनि सक्ने भएकाले सीप सिक्न भारत जान पाए देशकै सेवा गर्ने थिएँ भन्दै अनुरोध गरे । चन्द्रशमशेरले उनको अनुरोध स्विकारेर सीप सिक्न भारत जाने अनुमति दिए ।

भारतमा उनले गान्धीसँग भेट्ने अवसर पाए । मिहिनेती र इमानदार भएकाले गान्धीका विश्वासपात्र बने । गान्धी आश्रममा उनी चार वर्षभन्दा बढी समय बसे । त्यहाँ बस्दा उनले कपास धुने, कात्ने र कपडा बुन्ने काम सिके । हस्तकला र घरेलुको कामसमेत सिके । उनी स्वतन्त्र भारतका प्रथम गृहमन्त्री बल्लभभाइ पटेलको नेतृत्वमा भएको ‘बारदोली सत्याग्रह’ मा पनि सक्रिय रूपमा सहभागी भए ।

नेपालमा सोझा सिधा र पिछडिएका जनतालाई जनचेतना जगाउने र घरेलु सीप सिकाएर आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले गान्धीले तुलसीमेहरलाई घर फर्कने क्रममा दुई बण्डल कपास, केही चर्खा, तान र ८ सय रुपैयाँ दिएको बताइन्छ । तुलसीमेहरले गान्धीसँग एक जोर खराउ पनि मागेर ल्याएका थिए । तुलसीमेहरलाई रक्सौल भन्सारबाट नेपाल आउन दिइएन । उनले चन्द्रशमशेरलाई आफूले गान्धी आश्रमबाट सीप सिकेर आएको र केही सामान पनि ल्याएकाले नेपाल भित्रिने अनुमति दिन आग्रह गरेको पत्र पठाए । चन्द्रशमशेरले भन्सारमा तुलसीले ल्याएको सामानको कर नलिनु र नेपाल आउन दिनू भन्ने आदेश पठाए । नेपाल फर्किएपछि उनले श्री चन्द्रकामधेनु चर्खा प्रचारक महागुठी स्थापना गरेर काठमाडौं, पाटन, भक्तपुर र काभ्रेका पिछडिएका महिलालाई घरेलु सीप सिकाउन थाले ।

म्यागेजिन

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully